|

नुवाकोट : महाभूकम्पले क्षति पुर्‍याएको करिब दुई वर्षपछि त्रिशूली थ्री ‘ए’ जलविद्युत् आयोजनाको बाँध क्षेत्रमा निर्माण ठेकेदार कम्पनीले प्रारम्भिक जाँच र अध्ययनको कार्य थालनी गरेको छ।  

आयोजना प्रमुख फणिन्द्रराज जोशीका अनुसार सिभिलतर्फको निर्माण ठेकेदार कम्पनीले धेरै पटक विज्ञ समूहमार्फत भूकम्पपछि पुगेको क्षतिबारे अध्ययन गराएको छ।  उनीहरूले दिएको प्रतिवेदनमा अध्ययन गरी प्रतिवेदनमा औंल्याइएका कुरालाई सच्याउने, पुनः अध्ययन गर्न लगाउने कार्य पनि भइरहेको छ।  

अहिले बाँध क्षेत्रमा भरिएको पानीलाई तर्काइ प्राविधिकले प्रारम्भिक सरसफाइ गर्ने कामहरू गरिरहेका छन्।  बाँध क्षेत्रको मर्मत सम्भार तथा पुनर्निर्माण गरी पुरानै अवस्थामा फर्काउनका लागि ठेकेदार कम्पनीले सन् २०१७ र २०१८ को सुख्खा यामलाई सदुपयोग गर्ने कार्ययोजना प्राधिकरणमा पेस गरेको छ ।  बाँध क्षेत्रमा पानी निकासका लागि चारवटा ढोका निर्माण गरिसकिएका छन् ।  बाँध क्षेत्रका जग (फाउण्डेसन) मा गम्भीर रूपमा क्षति पुगेको हुनसक्ने अनुमान प्राधिकरणले गरिरहेको छ।

'ठेकेदार कम्पनीका तर्फबाट विज्ञ टोलीले अध्ययन गरिसकेका तर बाहिर सर्सर्ती हेर्दा ठीकै देखिए पनि प्राविधिक रूपमा बिग्रेका, भत्केका संरचनाको हामी पनि पुनः अध्ययन गर्छौं, उनीहरूको प्रतिवेदनलाई केलाउँछौं', जोशीले भने, 'प्रतिवेदनमा नसमेटिएका कुरालाई समेटेर काम गर्न हामीले निर्देशन दिने गरेका छौं। ”

भूकम्प जानुअघि नै अधिकांश काम सम्पन्न भइसकेका आयोजना स्थलसम्म पुग्ने मुख्य सडक, भित्री बाटोघाटो, सुरुङ, पावर हाउसलगायतका संरचनामा पुगेको क्षतिको अध्ययन गरी ती क्षेत्रको सरसफाइ गर्ने काम सम्पन्न भएको छ ।  आयोजनाको सिभिलतर्फको काम झण्डै ८० प्रतिशत सम्पन्न भएको भए पनि भूकम्पले सुरुङ, पावर हाउस, ड्याम साइटमा निर्माण भएका सबै संरचना भत्काइदिएपछि आयोजनाको निर्माण गर्नसकिन्छ कि सकिँदैन भन्ने दोधार भएको थियो।  अब भने काम अगाडि बढ्ने निश्चित भएको छ ।  

महाभूकम्पले आयोजना निर्माण सम्पन्न भएका र निर्माणाधीन अधिकांश संरचनामा क्षति पुर्‍याएपछि सिभिल कार्यको ठेक्का पाएको चिनियाँ कम्पनी चाइना गेजुवा ग्रुप कर्पोरेसन (सीजीजीसी) ले लामो समयसम्म काम सुरु गर्नसकेको थिएन।  सुरुको चरणमा आफूले काम गर्न नसक्ने बताउँदै आएको ठेकेदार कम्पनीले नेपाल विद्युत् प्राधिकरणसँगको लामो छलफलपछि मात्र पुनः निर्माणको काम गर्न सहमत भएको हो।

 भूकम्पले क्षति पुर्‍याएको भागको लागत प्राधिकरणले तिर्नुपर्ने दावी गर्दै आए पनि हाल भने सीजीजीसी पुरानै सम्झौताअनुसार काम गर्न सहमत भएको छ। भूकम्पले क्षति पुर्‍याएको संरचनाको मर्मत सम्भार तथा पुनर्निर्माण गर्दा सम्झौता अनुसारको समयमा निर्माण सम्पन्न गर्न नसकिने भएकाले सन् २०१६ को नोभेम्बरमा ठेकेदार कम्पनीले नयाँ कार्यतालिका पेस गरेको छ र त्यसलाई प्राधिकरणले स्वीकृत पनि गरिसकेको जनाइएको छ।

 सन् २०१६ को जुन ३० सम्म निर्माण कार्य सम्पन्न गरिसक्ने लक्ष्य राखिएको यो आयोजनालाई भूकम्पपछि सन् २०१९ अप्रिल ३० सम्म पूरा गर्ने लक्ष्यसहितको कार्यतालिका रहेको छ।  आयोजना निर्माण गर्न लाग्ने सबै लगानी (७९४ मिलियन चिनियाँ) नेपाललाई चिनियाँ एक्जिम बैंकले दिने सम्झौता भएको छ।  

 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.