|

दमक : झापाको गौरादहका एक युवालाई जबरजस्ती चोरीको आरोप लगाउँदै प्रहरीले यातना दिएको आरोप लगाएका छन्। गौरादह ५ का २३ वर्षीय छत्रमान बराइलीले आफूलाई जबरजस्ती चोरीको आरोप लगाउँदै प्रहरीले यातना दिएको बताएका हुन्।

करिब ढेड महिनाअघि उनी भाडामा बस्दै आएको गौरादह ५ कै भागीरथा विमलीको पसलमा चोरी भएको र चोरी आफूले गरेको आरोप लगाउँदै त्यसको २० दिनपछि प्रहरीले पक्राउ गरेर यातना दिएको बताए।

‘म भगीरथा दिदीको घरको तेस्रो तलामा भाडामा बस्ने गरेको थिएँ, उहाँहरु दोस्रो तलामा बस्नुहुन्थ्यो ढेड महिना अघि दिदीले पहिलो तलामा भएको पसल चोरी भयो भन्दै राति १२ बजे उठाउन आउनुभयो’,उनले भने, ‘म पनि हेर्न गएँ, त्यसको करिब २० दिनपछि राति ११ बजे मेरो कोठामा एक्कासि प्रहरी आयो र सुतिरहेको मलाई पक्रेर लग्यो।’

उनले इलाका प्रहरी कार्यालय गौरादहभित्र आफूलाई चोरी गरेको स्वीकार नगरे जे पनि गर्ने भन्दै प्रहरी हवल्दार पूर्ण कार्कीले यातना दिएको आरोप लगाए। उनले भने, ‘प्रहरीले मलाई चोरी गर्ने तँै होस्, हामीलाई थाहा छ, स्वीकार गरिनस् भने जे पनि हुन्छ भन्दै कुटे।’ प्रहरीले आफूलाई स्थानीय चुनाव आउनुभन्दा अघि यसरी यातना दिएको बताए। आफूले चोरी नै नगरी अहिले पनि प्रहरी कार्यालय धाउनुपरेको उनी बताउँछन्। इलाका प्रहरी कार्यालय दमकमा पत्रकारसँग कुरा गर्दै उनले आफू अन्यायमा परेको बताए।

उनले भने, ‘गौरादहको प्रहरी चौकीबाट त मलाई गाउँका सबै गएर प्रहरी कार्यालय घेराउ गरेर छुटाउनुभयो तर अझै पनि प्रहरी कार्यालयमा धाउनुपरेको छ, मैले गर्दै नगरेको कामको कारबाही कसरी भोगूँ।’ उनी गौरादह ५ मा सुन पसल गर्दै आएका छन् । बराईली भन्छन्, ‘यसरी चोर्दै हिँड्ने भए दुःख गरेर किन पसल गथेँ?’ बिमलीले प्रहरी कार्यालयमा २ लाख ७० हजार चोरी भएको भन्दै उजुरी दिएकी छन्।

यता इलाका प्रहरी कार्यालय गौरादहले भने आफ्नो गल्ती स्वीकार गरेको छ। कार्यालयका प्रमुख सई नगेन्द्र कुमार भगतले छत्रमानविरुद्ध उजुरी परेकाले प्रहरी कार्यालयमा ल्याएको बताए।

उनले भने, ‘हामीले भाइलाई प्रहरी कार्यालय ल्याएका हौँ, उहाँसँगको मिसअन्डर स्ट्यान्डिङका कारण उहाँले यातना पाउनुभयो, यो चुनावको प्रेसरमा हामी भएका कारण पनि यस्तो भयो, त्यतिबेलै सबै गाउँले साथीहरुसँग बसेर हामीले मिलाइसकेका हौं। उनले पछि फेरि इलाका प्रहरी कार्यालयमा उजुरी परेको विषयमा भने अनभिज्ञता जनाए। उनले भने, ‘अब यो केसका विषयमा हामीलाई जानकारी छैन, यो केस दमकले हर्दैछ।’

उनलाई फेरि इलाका प्रहरी कार्यालय दमकले अनुसन्धानका लागि भन्दै प्रहरी हिरासतमा राखेको छ। इलाका प्रहरी कार्यालय दमकका प्रमुख डिएसपी राजन लिम्बूले भगीरथाको निवेदनका आधारमा पक्राउ गरी अनुसन्धान भइरहेको बताए। उनले भने, ‘चोरी भएको घरमा नै बस्ने भएकाले उनीहरुले अलिक बढी शंका गरेका रहेछन्, त्यसकारण हामीले राखेका हौँ, अनुसन्धानमा चोरीमा संलग्न नभएको पाइयो भने छोड्छौं।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.