सोधे- 'अलिकति पनि ऊ छैन?'

|
फाइल फोटो

काठमाडौं : प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारुढ दल र राजपाबीचको बैठक सकिएलगत्तै बाहिरिएका राजपा अध्यक्ष महन्थ ठाकुर पत्रकारको प्रश्नले आक्रोशित भएका छन्। नेताहरू बैठकबाट बाहिरिएलगत्तै प्रतिक्रिया लिन पर्खिरहेका पत्रकारले महन्थसँग पनि बैठकमा के भयो? भनी प्रतिक्रिया मागेका थिए।

सत्तारुढ दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र राष्ट्रिय जनता पार्टी, नेपाल (राजपा) बीच बुधबार बिहान बालुवाटारमा बैठक भएको थियो।

बैठकस्थलबाट निस्केर आफ्नो गाडीमा छिर्न लागेका महन्थलाई पत्रकारले रोके।  

'अध्यक्ष ज्यू बोल्दिनुस् न एउटा लाइन.....', पत्रकार ऋषि धमलाको आग्रहपछि महन्थ प्रतिक्रिया दिन तयार भए।   

'संविधान संशोधन प्रक्रिया अगाडि बढाउने कि नबढाउने?' पत्रकारले महन्थलाई प्रश्न गरे।

'सबैभन्दा पहिलो कुरा, मन्त्रिपरिषदले गर्ने काम अगाडि बढाउने भन्नुभएको छ। यो कुरा पटक-पटक सुनेको हो,  आज पनि सुन्यौँ', अध्यक्ष ठाकुरले भने, 'त्योभन्दा बढी केही भएको छैन। संविधान संशोधनको बारेमा पछि कुरा गर्ने भन्नुभएको छ।'

'आज कुरा भएन संविधान संशोधनको विषयमा?', ऋषि धमलाले प्रश्न गरे।

'उहाँहरुले उठाउनुभएकै छैन', महन्थको जवाफ।  

'तपाईँहरु चुनावमा जाने कि नजाने?', पत्रकार धमलाको अर्को प्रश्न।

'यो प्रश्नै बेइमानी हो, यथास्थितिमा कसरी जाने?', महन्थले आक्रोशित हुँदै भने, 'यहाँ आन्दोलन गरेको मान्छे जेलमा छ, टर्चर सहने अनि तपाईँहरु सोध्नुहुन्छ चुनावमा जाने कि नजाने? अलिकति पनि ऊ (?) छैन?'

महन्थ आक्रोशित भएपछि ऋषि धमलाले 'हस जाउँ-जाउँ' भन्दै महन्थलाई पुनः गाडीसम्म पुर्‍याए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.