|
तस्बीर : सौजन्य सागर गिरी

चितवन : नंग्रे नाम गरेको एउटा पोथी बाघ पश्चिम चितवनको विभिन्न क्षेत्रमा डुल्दै आएको छ। बस्ती भित्रै छिरेर उसले ठूलो आतंक नमच्याए पनि सामुदायिक वन तथा कोरिडोर क्षेत्रमा उसले २० जना मानिसमाथि आक्रमण गरिसकेको छ। अहिलेसम्म नियन्त्रणमा आउन नसकेको उक्त बाघबाट मानवीय जोखिम कायमै छ। मान्छे खान पल्केकाले पनि उसले यसरी धेरै मान्छेलाई आक्रमण गरेको अनुसन्धानकर्मीहरु बताउँछन्।

४ वर्षअघि अर्को एउटा बाघले नवलपरासीको त्रिवेणी क्षेत्रमा  फुटबल हेरिरहेका एकजना दर्शकलाई तानेर लग्यो। त्यसपछि राष्ट्रिय निकुञ्जका खोरमा ल्याएर राखिएको उक्त बाघले खोर नाघेर निकुञ्जका कर्मचारी हरि बोटलाई समेत मार्‍यो। यो बाघ भारतमा समेत पुग्ने गरेको अध्ययनले देखाएको राष्ट्रिय प्रकृति संरक्षण, कोष जैविक विविधता संरक्षण केन्द्रका अनुसन्धान अधिकृत बाबुराम लामिछाने बताउँछन्।

यी दुई घटना एउटा उदाहरण हुन्। मुख्यगरी आफ्नो क्षेत्र बनाउन नसकेका र अरु बाघले विस्थापित गरेका बाघहरुबाट बढी मानविय जोखिम देखिएको हालै गरिएको एक अध्ययनले देखाएको छ। यस्ता बाघ २२ वटा पाइएका छन्।

‘अरुचाँहि घाईते, अशक्त, मान्छे खान बानी परेको र जम्काभेट हुँदा बाघले मान्छेमाथि आक्रमण गर्ने गरेको पाइएको छ,’ अनुसन्धान अधिकृत लामिछाने भने। चितवन राष्ट्रिय निकुञ्जमा लामिछानेलगायत निकुञ्जका वरिष्ठ पशुचिकित्सक कमल गैंरे, राष्ट्रिय प्रकृति संरक्षण कोषका प्रमुख डा चिरञ्जीवी पोखरेल, अर्का विज्ञ डा. नरेश सुवेदी लगायतको टोलीले सन् २००७ देखि २०१६ सम्म अनुसन्धान गरेको थियो।

सो अनुसन्धानको हालै सार्वजनिक प्रतिवेदन अनुसार चितवनमा भएका बाघमध्ये २२ वटा बाघ यस्तो समस्याग्रस्त देखिएको पाइएको छ। यो कुल संख्याको करिब ५ प्रतिशत हो। चितवनमा हाल १ सय २० बाघ छन्।

बाघको फोटो र पाइलालाई क्यामेराट्रयापमा परेका बाघसँग दाँजेर अध्ययन गरिएको थियो। ‘तिनीहरुको मुभमेन्ट, पाइला,उद्धार गर्ने क्रममा हेरेर तथा विभिन्न विधि अपनाई अनुसन्धान गरिएको हो,’ लामिछाने भन्छन्। आनीबानी कस्तो छ,उमेर समुह, कुन समयमा आक्रमण गर्छ, क्षेत्र कस्तो छ लगायत अध्ययन गरिएको थियो।

सार्वजनिक तथ्यंकअनुसार २२ वटा बाघमध्ये १७ वटा बाघले भने क्षेत्र बनाउन नसक्दा आफ्नो ठाउँ खोज्ने क्रमममा आक्रमण गरेको पाइएको छ। अरू पाँचमध्ये आफ्नो क्षेत्र भएर पनि समस्याग्रस्त बाघ ३ वटा मात्रै छ भने समस्याग्रस्त रहेका २ वटाको अवस्था पत्ता लाग्न सकेको छैन। बाघले आफ्नो क्षेत्र २० देखि ४० किलोमिटर क्षेत्रलाई बनाउँछ।

यसमा ३ देखि ५ बर्षका बाघ ९ वटा छन् भने १४,१५ वर्षका बाघ ४ वटा छ। अरु बाँकी बाघ ६ बर्षदेखि १३ वर्ष बीचका रहेको जनाइएको छ। सामान्यत बाघको आयु १५,१६ वर्ष हुन्छ। बढी मानवीय चापले नै समस्यामा छन्। उनीहरु सानो खुम्चिएको स्थानमा बस्नुपरेको छ। आफ्नो क्षेत्र (टेरीटोरी) खोज्ने जाने क्रममा बस्तीमा आइपुग्दा यस्ता घटना हुने गरेका छन्। नियतवश बस्तीमा भने नआएको राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका प्रमुख तथा बाघ विज्ञ डा. चिरञ्जीवी पोखरेल बताउँछन्।

उनका अनुसार लजालु स्वभाव हुने गरेकाले बाघ हम्मेसी मानवीय बस्तीमा आउँदैन। ‘उसको संरक्षणका लागि जैविकमार्गहरुमा संरक्षण गर्नुपर्ने, आहाराप्रजाति बढाउनुपर्छ, अनि बासस्थान विस्तार गर्नुपर्छ,’ डा पोखरेल बताउँछन्।

चितवन निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेल बस्तीमा निस्किएका र मान्छेमाथि आक्रमण गर्ने बाघलगायत जनावरहरुलाई नियन्त्रणमा लिने गरिएको र घाइते भए उपचारपछि निकुञ्जमै छाड्ने गरिएको बताउँछन्। मान्छे खानेलाई भने छाड्ने गरिएको छैन। यसरी बस्तीमा परेका जनावरहरु पुन जंगलमै पुनःर्सथापन गर्ने कामसमेत सफल भएका उदाहरणसमेत रहेको अनुसन्धानकर्मीहरु बताउँछन्।

फोटो सौजन्य : सागर गिरी

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.