तालमेलदेखि सबै मिलेर जानेसम्मको छलफल

|
प्रेस युनियन र सेन्टर नेताको फोटो अजय सिवाकोटीको फेसबुकबाट

काठमाडौं : नेपाल पत्रकार महासंघको महाधिवेशन नजिकिएसँगै पत्रकारका संगठनहरूबीच चुनावी तालमेलका विषयमा छलफल सुरु भएको छ। सत्तारुढ गठबन्धन निकट नेपाल प्रेस युनियन र प्रेस सेन्टर नेपालबीच सम्भावित चुनावी तालमेलका विषयमा मंगलबार छलफल भएको हो।

नेपाल प्रेस युनियनका महासचिव अजयबाबु सिवाकोटीले प्रेस सेन्टरसँग महाधिवेशनमा चुनावी तालमेल गर्ने सैद्धान्तिक सहमति भएको जानकारी दिए। 'चुनावमा सहकार्य गर्ने विषयमा सिद्धान्नतः सहमत छौँ', सिवाकोटीले भने, 'त्यसको मोडालिटी के हुने भन्नेमा पुनः छलफलको आवश्यकता छ।' यद्यपि सबै संगठनहरू मिलेर महाधिवेशनमा जाने परिस्थिति बनाउनेबारेमा पनि आफूहरू सकारात्मक रहेको सिवाकोटीले प्रतिक्रिया दिए।

प्रेस युनियन कांग्रेसनिकट पत्रकारको संगठन हो भने प्रेस सेन्टर माओवादी केन्द्र निकट पत्रकारको संगठन हो। नेकपा एमाले निकट पत्रकारको संगठन प्रेस चौतारी नेपाल महासंघको राजनीतिमा उत्तिकै बलियो  र सभासदको संख्याका आधारमा भन्ने हो भने पहिलो संगठन नै हो।

आउँदो भदौ ४ र ५ गते काठमाडौंमा हुने महासंघको २५ औँ महाधिवेशनमा चुनावी तालमेल भएमा यिनै तीनवटा संगठनबीच नेतृत्वका लागि प्रतिस्पर्धा हुने निश्चित छ।

युनियन र सेन्टर नजिकिए

मंगलबार काठमाडौंको नयाँ बानेश्वरमा युनियन र सेन्टरको नेतृत्वबीच भएको छलफलमा युनियनका तर्फबाट अध्यक्ष बद्री सिग्देल, वरिष्ठ उपाध्यक्ष दीपक आचार्य र महासचिव अजयबाबु सिवाकोटी सहभागी थिए भने प्रेस सेन्टरका तर्फबाट अध्यक्ष महेश्वर दाहाल र महासचिव विष्णु सापकोटा सहभागी थिए।

युनियनका महासचिव सिवाकोटीले भेटघाटको फोटो फेसबुकमा राख्दै लेखेका छन्- 'शुभारम्भ नयाँ अध्यायको।' २०७१ साल बैशाखमा भएको महासंघको २४ औँ महाधिवेशनमा नेपाली कांग्रेस निकट पत्रकारको प्यानल एकातिर र एमाले, माओवादीसहितका बामपन्थी दल निकट पत्रकारको प्यानल अर्कोतिर भएर चुनाव लडेका थिए। डा. महेन्द्र विष्ट नेतृत्वको बामपन्थी प्यानलले अधिकांश पदमा चुनाव जितेको थियो। 

बैठकमा सहभागी प्रेस सेन्टर नेपालका अध्यक्ष महेश्वर दाहालले महाधिवेशनका सन्दर्भमा सबै संगठनसँग छलफल चलिरहेको थाहाखबरलाई बताए। एउटा पक्षलाई बाहिर राखेर चुनावी तालमेल गर्दा महासंघ कमजोर बनेकाले सबै मिलेर महाधिवेशन जाने विषयमा छलफल भएको उनले बताए।

'छलफल सबैसँग चलिरहेको छ। एउटा पक्षलाई बाहिर राखेर जाँदा महासंघ कमजोर भयो। साझा संस्था बनाउन मिलेर जान सकिन्छ भने त्यही ढंगले छलफल थालौँ', दाहालले भने, 'पक्ष र प्रतिपक्ष भनेको राजनीतिमा हुन्छ तर यो साझा संस्था हो। यसबीचमा तानातान भयो, यसले राम्रो सन्देश गएन।'

प्रेस चौतारी- पर्ख र हेर !

प्रेस चौतारी नेपाल पनि सबै संगठनहरू सहमतिका साथ अघि बढ्नुपर्ने पक्षमा रहेको अध्यक्ष गणेश बस्नेत बताउँछन्। 'पत्रकार महासंघको व्यवसायिक छविलाई कायम राखेर सबैको साझा संस्था बनाउँ भनेर प्रेस युनियन र प्रेस सेन्टरका साथीहरूलाई प्रस्ताव राखेका छौँ', बस्नेतले भने, 'निर्वाचन प्रजातान्त्रिक अभ्यास हो तर सहमति त्यसभित्रको उत्कृष्ट पक्ष हो।'

सबैले जित्ने परिस्थिति बनाउने कि नबनाउने भन्ने यूनियन र प्रेस सेन्टरको हातमा रहेको बस्नेतले प्रतिक्रिया दिए। 'प्रेस युनियन वा प्रेस सेन्टरमध्ये एउटासँग तालमेल गरेर अर्कोलाई बाहिर राखेर चुनाव जित्ने छलफलमा हामी लागेका छैनौँ तर उहाँहरूले मान्नुभएन भने जित्ने अवस्थामा हामी पनि त्यो ठाउँमा पुग्नैपर्छ। सबै मिलेर जान सम्भव छैन भन्यो भने उसलाई सडकमा पुर्‍याउनु त हाम्रो दायित्व हो। त्यो स्पष्ट छ।'

प्रेस सेन्टरका अध्यक्ष दाहाल र प्रेस चौतारीका अध्यक्ष बस्नेतजस्तै युनियनका महासचिव पनि सबै संगठन चुनावमा मिलेर जाने सम्भावना रहेको बताउँछन्। 'साझा संस्थालाई साझा रुपमा नै लिएर जान पनि सकिन्छ। त्यो अवस्था बन्न सक्छ', सिवाकोटी भन्छन्, 'एकथरीलाई बाहिर राखेर किन जाने भन्ने विषयमा पनि छलफल भएको छ। '

केन्द्रीय सभासदहरूले गोप्य मतदानबाट ४७ सदस्यीय केन्द्रीय समिति निर्वाचित गर्ने महासंघको विधानमा व्यवस्था छ। महासंघमा एक अध्यक्ष, दुई उपाध्यक्ष, एक महासचिव, ६ जना सचिव र एक कोषाध्यक्ष गरी ११ जना पदाधिकारी हुन्छन्। महासंघमा ३६ जना सदस्य हुन्छन्।

चुनावी तालमेल वा सबै संगठन मिलेर जाने भन्ने छलफलका बीच संगठनहरूले उम्मेदवार छनोटको छलफल पनि थालेका छन्। युनियन र सेन्टरले उम्मेदवार चयन प्रक्रिया थालिसकेका छन् भने चौतारीले उम्मेदवार चयन लगायतका विषयमा छलफल गर्न बिहीबार सचिवालय बैठक बोलाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.