देउवाले सत्ताको चरम दुरुपयोग गरेको आरोप

|

डडेल्धुरा : प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवामाथि नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले सत्ताको चरम दुरुपयोग गरेको आरोप लगाएका छन्। दोस्रो चरणको स्थानीय तहको निर्वाचन सकिएपछि ७ नम्बर प्रदेशका जिल्लाको स्थिति बुझ्न डडेल्धुरा पुगेका सचिव ज्ञवालीले दोस्रो चरणको निर्वाचनमा प्रधानमन्त्री देउवाले सत्ताको चरम दुरुपयोग गरेको आरोप लगाएका हुन्।

प्रेस चौतारी नेपाल डडेल्धुरा साखाले बुधबार जिल्ला सदरमुकाममा आयोजना गरेको पत्रकार सम्मेलनमा प्रधानमन्त्री देउवाले निर्वाचनको समयमा निर्वाचन आचारसंहिताका न्यूनतम मर्यादाको समेत उल्लंघन गरेको भन्दै उनले प्रधानमन्त्री देउवा स्वयंले चुनावको कमान्ड समालेर हप्तौंसम्म गृह जिल्ला बसेको आरोप लगाएका छन्।

साथै उनले प्रतिकूल अवस्थामा पनि नेकपा एमालेले अमगरगढी नगरपालिकामा हासिल गरेको विजय सिंगो एमालेको लागि प्रेरणादायी भएको बताएका छन्। उनले डडेल्धुरामा कांग्रेसले उम्मेदवारी दिए मात्रै पुग्छ, प्रचार नै गर्नु पर्दैन र नेकपा एमाले त नगन्य शक्ति हो, भन्ने भ्रम तोडेको बताए।

उनले अहिलेको सरकार बाहनाबाजी गर्दै चुनावबाट भागिरहेको आरोप लगाए। ‘नेपाली कांग्रेस र माओवादीलाई चुनावको नामबाट नै एक खालको एलर्जी जस्तो भएको छ’ उनले भने ‘जान्छ जान्छ खानेसँग डराउँछ भने झै माओवादी र काग्रेंसलाई चुनाव भनेदेखि नै एलर्जी होला जस्तोे छ। तर उहाँहरु चुनावबाट भाग्न पाउनहुन्न।’ 

छिटोभन्दा छिटो चुनावको वातावरण बनाउनको निम्ति पहिलो काम निर्वाचन क्षेत्र निर्धारण आयोग गठन गरेर त्यससम्बन्धी काम अगाडि बढाउनुपर्ने उनको भनाइ छ। उनले पार्टीमा उल्लेख्य ढंगले परिवर्तन भइरहेको र आउने दिनमा डडेल्धुरामा एमाले पहिलो पार्टी हुने भरपर्दो आधार तयार भएको दाबी गरेका छन्।

साथै उनले नवनिर्वाचित जनप्रतिनिधिलाई सम्झना लायक काम गर्नसमेत निर्देशन दिएका छन्। राम्रा काम गर्न गणितीय हिसाबले आफूहरुलाई अप्ठेरो पार्ने काम भए जनताको बीचमा गएर जनताबाट दबाब सिर्जना गर्नुपर्ने धारणा व्यक्त गरेका छन्। उनले सुरक्षा निकाय, निर्वाचन आयोग तयार हुँदाहुँदै पनि निर्वानचनलाई चरण–चरणमा पुर्‍याउने काम अनावश्यक रहेको बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.