|

काठमाडौँ: समय बुधबार मध्यह्न साढे १२ बजे। बबरमहलस्थित काठमाडौँ जिल्ला प्रशासन कार्यालयबाहिर प्रहरीको एउटा भ्यान रोकिएको छ। प्रहरीले विभिन्न अभियोगमा पक्राउ गरेका व्यक्तिहरूलाई ओसारपसार गर्ने भ्यानमा छन्, मंगलबार साँझ ६ बजे पक्राउ परेका चर्चित लोकगायक एवम् राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका अध्यक्ष बद्री पंगेनीलगायत ११ जना। उनीहरूलाई जिल्ला प्रशासन कार्यालयमा उपस्थित गराउन महाराजगञ्ज प्रहरी वृत्तले ल्याएको हो।

सञ्चारकर्मीलाई छक्याए प्रहरीले

महानगरीय प्रहरी वृत्त महाराजगञ्जबाट पंगेनीलगायतलाई जिल्ला प्रशासन कार्यालयमा पेस गरिने जानकारी दिएका थिए, वृत्तका डीएसपी गोविन्द पुरीले।

हामी प्रशासन कार्यालय पुग्दा भ्यानबाट उनीहरूलाई बाहिर निकालिएको थिएन। प्रहरीहरू उनीहरूलाई भ्यानबाट बाहिर निकाल्ने प्रयत्न गरिरहेका थिए। भित्रबाट उनीहरू मानिरहेका थिएनन्। प्रहरीको नेतृत्व गरेका सादा पोसाकका प्रहरीले सञ्चारकर्मीका कारण उनीहरू आउन नमानेको भनेर सञ्चारकर्मीलाई छेउ लागिदिन आग्रह गरे। उनले फोटो खिच्ने व्यवस्था मिलाइदिने बताए। उनले फकाउँदै भने, 'बद्री पंगेनी भन्दा ठूला मान्छे छन् पक्राउ परेका, उनीहरूलाई बाहिर निकालेपछि तपाईंहरू थाहा पाउनुहुनेछ।'

सञ्चारकर्मी छेउ लागेपछि भ्यानमा रहेकालाई बाहिर निकालियो र मुद्दा फाँटमा लगियो। मुद्दा फाँटको काम सकेपछि उनै प्रहरी आएर सञ्चारकर्मीलाई प्रशासन कार्यालयभित्र लग्न लागेको भन्दै दोस्रो तलामा गएर फोटो खिच्न तयार रहन भने। फोटो खिच्ने एंगलसमेत सिकाएर उनी त्यहाँबाट निस्किए।

बद्रीको टिमलाई भित्र ल्याउला र फोटो खिचौँला भनेर ठीक्क परेका उनीहरू त्यतिबेला छक्क परे, जब बाहिर आएर हेर्दा भ्यान गइसकेको थाहा पाए। उनीहरू भन्दै थिए, 'प्रहरी त हामीभन्दा चलाक निस्कियो, छक्याए।' प्रशासन कार्यालयबाट बाहिरिँदै गरेका काठमाडौँ प्रहरी प्रमुख एसएसपी छविलाल जोशी*सँग बुझ्दा उनले पंगेनीलाई फिर्ता लगिसकिएको बताए।

मुद्दा फाँटमा बद्रीको ल्याप्चे र तासका गड्डी

मुद्दा फाँटमा बुझ्दा त्यहाँका प्रशासकीय अधिकृत वासुप्रसाद काफ्लेले बद्री पंगेनीलगायत ११ जनालाई प्रशासन कार्यालयमा उपस्थित गराएको व्योहोराको कागज देखाए। उनीहरूलाई पक्राउ गर्नुको कारण, पक्राउ गरेको ठेगाना, पक्राउ पर्नेको स्थायी ठेगाना, उमेरसहितको विवरण रहेको नेपाली कागजमा बुढी औँलाको ल्याप्चे र दस्तखत थियो।

उनीहरूले दस्तखत र ल्याप्चे लगाएको कागजमा प्रहरीले विवरणमा लेखेको थियो, 'सार्वजनिक स्थानमा बसेर लापरवाहीसाथ बोली हिँड्ने' तथा 'होहल्ला गरेर हिँडिरहेको'ले पक्राउ गरिएको हो।

कागजको आठौँ नम्बरमा थियो बद्री पंगेनीको नामसहितको विवरण।

मंगलबार पक्राउ पर्नेहरूमा थिए, नगेन राई, विकास गुरुङ, सरोज श्रेष्ठ, विजय सिंह, खडक तामाङ, लक्ष्मी गुरुङ, बद्री पंगेनी, सुमन श्रेष्ठ, खडक गुरुङ र कुलबहादुर घले, जसमा पंगेनीको उमेर ३८ वर्ष उल्लेख गरिएको छ।

पक्राउ परेकाहरू बसेको कोठाको खानतलासी गर्दा तासका गड्डी फेला परेको महाराजगञ्ज वृत्तका डीएसपी गोविन्द पुरीले थाहाखबरलाई बताए। साथमा दुई लाख चार हजार रुपैयाँ नगद फेला परेको उनले जानकारी दिएका थिए, जसको मुचुल्कासहित पक्राउ परेकाहरूसँगै जिल्ला प्रशासन कार्यालय पुर्‍याइएको थियो।

प्रमुख जिल्ला अधिकारी बालकृष्ण पन्थीले पनि पैसा र तासका गड्डी प्रशासन कार्यालयमा पुगेको थाहा पाएको बताए। बाँकी कानुनअनुसार हुने उनले जानकारी दिए।

पक्राउ नपरेको भन्दै ढाँटे बद्रीले

बुधबार बिहानैदेखि बद्री पंगेनी पक्राउ परेको विषय चर्चामा आयो। सामाजिक सञ्जालदेखि सञ्चार माध्यम उनको पक्राउको चर्चाले भरिए। दिउँसो १२ बजेतिर पंगेनीलाई फोन गर्दा उनले आफू राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको बैठकमा रहेको बताए। उनले आफ्ना केही भाइहरूलाई पक्राउ गरेकाले आफू प्रहरीको महाराजगञ्ज वृत्तमा गएको तर पक्राउ नपरेको बताएका थिए। उनले भनेका थिए, 'मलाई केही गरिएको छैन, म अहिले प्रतिष्ठानको मिटिङमा छु।' त्यतिबेला उनी प्रहरीको नियन्त्रणमा नै थिए।

आफूलाई प्रहरीले पक्राउ नगरेको र मिटिङमा रहेको दाबी गरेको आधा घण्टापछि पंगेनीलाई प्रहरीले भ्यानमा हालेर बबरमहलस्थित जिल्ला प्रशासन कार्यालय पुर्‍याएको थियो। उता, प्रतिष्ठानको बैठकमा बद्री उपस्थित हुन नसकेपछि नियमअनुसार वरिष्ठ उपाध्यक्ष रमेश वीजीको अध्यक्षतामा बस्ने तयारी चलिरहेको थियो।

बद्रीले पक्राउ नपरेको दाबी गरे पनि प्रहरीले प्रशासन कार्यालयमा पेस गरेको कागजमा उनले नै ल्याप्चे लगाएको र हस्ताक्षर गरेको देखेपछि उनले ढाँटेको प्रमाणित भयो।

यो पनि पढ्नुस् : प्रहरी भन्छ- 'जुवाको खालबाट बद्री पंगेनी पक्राउ', पंगेनी भन्छन्- 'म पक्राउ परेको छैन'

के होला त कारवाही?

जुवा खेलेर होहल्ला गरेको अभियोगमा पक्राउ परेका लोक गायक बद्री पंगेनी रिहा भएका छन्। उनीहरूले स्थानीय प्रशासन ऐन उलंघन गरेकोले सामान्य जरिवाना गरेर रिहा गरिने काठमाडौँका प्रमुख जिल्ला अधिकारी बालकृष्ण पन्थीले बताए।

* काठमाडौं प्रहरी प्रमुख एसएसपी छविलाल जोशी हुनुपर्नेमा अन्यथा भएकोले सच्याइएको । (अपडेटः साउन ५ गते बिहान ११:४५ AM)

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

कमेन्ट

  • news true ho ki false ho hami ta alamalla ma paryo ni....

  • चर्चित कलाकार जुवाको खालबाट पक्राउ पर्नु राम्रो त अवस्य नै होइन , कारबाही त उनले पनि पाउनु नै पर्छ । सर्बोच्च अदालतले बालकृष्ण ढुंगेललाई पक्राउ गर्न प्रचण्ड सरकारलाई आदेश दियो , तर सरकारले टेरेन । जन्म कैदको सजाय पाएका ढुंगेल खुलेआम हिंडिरहँदा एक शव्द न्यायको पक्षमा नबोल्नेहरूले पंगेनीरो यो केसमा कोकोहोला मच्चाउने नैतिक अधिकार छैन ।