|

जनकपुर : महोत्तरीको हरिहरपुर ७ की ३५ वर्षिया शिला देवीको हत्यामा संलग्‍न तीनजनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ। यसअघि गत वैशाख १९ गते  शिलादेवीको विभत्स तरिकाले हत्या भएको थियो। 

हत्यापछि निरन्तर अनुसन्धान गरिरहेको प्रहरी यौन र सामाजिक बेइज्जतीको बदला लिने क्रममा ३ जनाले मिलेर महिलाको हत्या गरेको निष्कर्षमा पुगेको छ। 

शिला देवी हत्याको आरोपमा पक्राउ पर्नेहरुमा महोत्तरी लोहरपट्टी गाँउपालिका वडा नं. १ बस्‍ने ४६ वर्षीय वरुण कुमार यादव, धनुषा महिनाथपुर वडा नं. ४ माइत भै हाल महोत्तरी सितापुर भंगहा गाँउपालिका वडा नं. ९ वस्ने ३७ वर्षिया अमृतादेवी दास र लोहार गाउँपालिका वडा नं. १ बस्ने २८ वर्षिय जिवरुल राईन रहेको प्रहरीले जनाएको छ।

उनीहरुलाई मंगलबार विभिन्‍न स्थानबाट प्रहरीले पक्राउ गरी बलात्कार तथा हत्या अभियोगमा मुद्दा चलाएको जनाएको छ।

यसरी भएको थियो अनुसन्धान 

गत वैशाख २० गते एक बिहान महोत्तरीको हरिहरपुर वडा नं. ७ की ३५ वर्षिया शिला देवीको रहस्यमय हत्या भएको खबर प्रहरीलाई आएको थियो। लगत्तै प्रहरी घटनास्थलमा पुग्यो। 

प्रहरीले दुबै हात पछाडी बाँधेको र शरिरमा पूरै कपडा समेत नभएको अवस्थामा शव फेला पा¥यो। घर नजिकै लाश भेटाएकोले प्रहरीले पनि आफन्तसँग नै अनुसन्धान थाल्यो। 

त्यसपछि एकपछि अर्को गर्दै हत्याका रहस्य खुल्न थाले। केही दिनअघि मात्रै प्रहरी हत्या कसरी भयो भन्ने विषयमा यकिन भयो। त्यसपछि हत्यामा संलग्न ३ जना मंगलबार पक्राउ परे। महोत्तरीका प्रहरी उपरिक्षक राजकुमार लम्सालले हत्यामा संलग्न थप व्यक्तिहरुलाई समेत एक दुई दिन भित्रै समात्ने दाबी गरेका छन्।

हत्याको कारण यौन र सामाजिक अपहेलना 

पक्राउ परेका तिनजना मध्ये वरुण कुमार यादव र अमृतादेवी दासबीच विगत केही वर्ष देखि शारिरिक सम्बन्ध रहेको प्रहरीको भनाइ छ। अमृताको श्रीमान छारे रोग र आगलागीमा शरिरको अगाडीको भाग जलेका कारण गाउँ बाहिर बस्दै आएको थिए।

यता त्यही कुराको फाइदा उठाउँदै अमृता र वरुण शारिरिक सम्बन्धमा थिए।  मृतक शिलादेवी दासले अमृतालाई वरुण राम्रो मानिस नभएको भन्दै संझाउने गरेकी थिइन् । तर अमृता त्यो कुरा मान्‍न तयार थिइनन्।

मृतक शिलादेवी दासले अमृताको श्रीमान् र गाउँ समाजलाई वरुणसँगको सम्बन्धका विषयमा बताएपछि वरुणमाथि कुटपीट भएको थियो। त्यसपछि गाउँ समाजका भद्रभलादमीले अमृता र वरुणलाई सामाजिक तिरस्कार गरेका थिए। 

मृतक शिलाकै कारण आफ्नो वर्षौदेखि चलिआएको शारिरिक सम्बन्धको रहस्य खुलेको र सामाजिक बेइज्जती समेत भएको निहुँमा दुबैले सिलाको हत्या गर्ने षडयन्त्र रचेको प्रहरी अनुसन्धानबाट खुलेको छ। 

उनीहरुसँगै पक्राउ परेका एक अकोए जिवरुल राईन कवारीलाई १० हजार दिने प्रलोभन दिई र थप अन्य फरार अभियुक्तहरुलाई समेत पैसा दिएर हत्यामा संलग्न गराएको प्रहरीको अनुसन्धानबाट खुल्न आएको छ।

यसरी भएको थियो  हत्या

प्रहरीले अभियुक्तसँगको लिएको बयानका आधारमा हत्या यसरी भएको थियो। वैशाख १९ गते साँझ छिमेकीको घरमा बिहेको गित गाउन गएको र पछि घर आएर खाना खाई सुतेकी शिलालाई राती अमृताले घरको ढोका ढ्कढ्क्याई ढोका खोल्न लगाएकी थिइन्। 

वरुण, जिवरुल लगायतका अभियुक्तहरुले उनको मुख हातले बन्द गरी उनलाई त्यहाँबाट उठाएर पर लगेका थिए। घरभन्दा निकै पर लगेर मदिरा समेत सेवन गरेका अभियुक्तहरुले अमृताको सामुन्ने नै शिलाको सामुहिक बलात्कार गरे।

त्यसपछि हत्याको आरोप आफन्तको शिरमै हाल्न भनी बलात्कार पश्चात टाउकोमा ढुंगा हानेर विभत्स तरिकाले हत्या गरी घर नजिकैको फोहोर फाल्ने ठाउँमा लास फालेका थिए।

घटना पछि प्रहरीले सुरु गरेको अनुसन्धानको वृतान्त सुनाउदै प्रहरी उपरीक्षक राजकुमार लम्सालले भने,'घटनालाई हेर्दा यौन र सामाजिक बेइज्जतीको घटनाले हाम्रो समाज कतिसम्म आपराधिक भइसकेको छ भन्‍ने आभास गराएको छ।'

मृतक शिलाका श्रीमान् १५ वर्षदेखि वैदेशिक रोजगारीमा छन्। शिलाको परिवारमा १ छोरा, १ छोरी र बुहारी छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.