|

पाल्पा : अरुले केही भन्ने हुन् कि, समाजमा घृणा गर्ने पो हुन् कि भन्ने डरले रोग लुकाउँदै आएका पाल्पाका महिलाहरुले अहिले खुलेर आफ्ना स्वास्थ्य समस्या भन्न थालेका छन्। गाउँमै डाक्टर पुगेर सल्लाह र परामर्श दिन थालेपछि उनीहरु निर्धक्क भएर आफ्ना समस्या भन्न थालेका हुन्।

गाउँमा घुम्ती स्वास्थ्य शिविरहरु सञ्चालन भएपछि उनीहरुलाई यसरी आफ्ना समस्या भन्न सहजता मिलेको हो। निजी मेडिकल, विभिन्न स्वास्थ्य संस्था तथा क्लिनिक र डाक्टरहरुसँग आफ्नो रोगबारे बताउन लजाउने र डराउने महिलाहरु हिजोआज गाउँघरमा सञ्चालन हुने घुम्ती स्वास्थ्य शिविरमा आफ्ना समस्याहरु जस्ताको तस्तै राख्न थालेका छन्।

महिलाहरुमा चेतनास्तर वृद्धि भएको र स्वास्थ्यको महत्व बुझेकोले हिजोको दिनमा लुकाउँदै आएका स्वास्थ्य समस्या अहिले भन्न थालेको कैलाश टोलविकास संस्था तानसेनकी अध्यक्ष इच्छा लिगलले बताइन्। उनीहरुले शिविरमा आएर परीक्षण गराउने र केही समस्या देखिएमा अस्पतालमा पुगेर उपचार पनि गर्न थालेका छन्। जिल्लाका अधिकांश महिलाहरुमा पाठेघरको समस्या देखिएको छ।

‘जनचेतनाको कमीले पाठेघरको समस्या लुकाएर कतिपय महिलाहरु मृत्यूको सिकार बन्न पुगे,’ पिपलडाँडा स्वास्थ्य चौकीकी अनमी शान्ति खातीले भनिन्, ‘अहिले गाउँमा शिविर सञ्चालन भएपछि उनीहरुले बेलैमा उपचार पाउन थालेका छन्।’ पछिल्लो समयमा पाठेघरको मुखको क्यान्सर छ कि छैन भनेर जान्नका लागि  परीक्षण गराउन महिलाहरु बढी उत्सुक देखिन थालेका छन्।

जिल्ला स्वास्थ्य कार्यालय पाल्पाले सदरमुकाम तानसेनसहित साविकका गाविसहरु चापपानी, छहरा, ठिमुरे र पिपलडाँडामा शिविर सञ्चालन गरेको थियो। शिविरमा महिलाको पाठेघर अर्थात आङ खस्ने समस्या र पाठेघरको मुखमा क्यान्सर भए नभएको परीक्षण गरिएको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी माधवप्रसाद ज्ञवालीले बताए। 

गत आर्थिक वर्ष २०७३/०७४ मा साविकका चारवटा गाविसमा सञ्चालन भएको शिविरमा ७ सय २१ जना महिलाको पाठेघरको मुखको परीक्षण गरिएको थियो। जसमध्ये ९ जनामा क्यान्सरको लक्षण देखा परेको छ। ११ जनाको पाठेघरको मुखमा रिङ राखिएको छ भने ७ सय १ जनाको पाठेघरमा सामान्य असर देखापरेको ज्ञवालीले बताए।

क्यान्सरको लक्षण देखिएकालाई थप उपचारको लागि भरतपुर अस्पतालमा रिफर गरिएको उनले बताए।

सानो उमेरमा बिहे गर्ने, उमेर नपुग्दै बच्चा जन्माउने, छिटो–छिटो समयमा बच्चा जन्माउने, उमेर ढल्केपछि बच्चा जन्माउने, लामो समय सम्म पनि सुत्केरी बेथा लाग्दासमेत घरमै राख्ने, सुत्केरी अवस्थामा आराम नगर्ने, गर्भावस्थादेखि नै कडा परिश्रम गर्नुपर्ने बाध्यता, स्वास्थ्य संस्थामा पुगेर समस्या भन्न लजाउने गरेको कारणले महिलाहरुमा पाठेघरको समस्या जटिल बन्दै गएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा. उमाशंकर प्रसाद चौधरीले बताए। विभिन्न शिविरमार्फत यो समस्या न्यूनिकरण गर्न स्वास्थ्य कार्यालय लागि परेको उनले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.