|

दमक : चोरी तथा लुटपाटका घटना नियन्त्रण गर्ने उद्देश्यले झापाको दमकमा रातिको समयमा व्यवसायीहरुले नै सुरक्षा गार्ड खटाउने भएका छन्। दमक उद्योग वाणिज्य संघले प्रहरीसँगको समन्वयमा रात्रिकालीन सुरक्षा गार्ड परिचालन गर्न लागेको हो।

व्यापारिक प्रतिष्ठानलाई लक्षित गरी दमकचोक र बजार क्षेत्रमा रातिको समयमा सुरक्षा गार्ड परिचालन गर्न लागिएको संघका अध्यक्ष राजेन्द्र ढकालले जानकारी दिए। उनका अनुसार ती गार्डले अपराध नियन्त्रणका लागि प्रहरीसंगको समन्वयमा दैनिक रातको समयमा गस्ती गर्नेछन्।

यसरी गार्ड परिचालन गर्ने खर्च व्यवसायीहरुबाटै उठाइने छ। प्रत्येक व्यवसायीले सुरक्षाका लागि मासिक १०० रुपैयाँ बुझाउनु पर्ने व्यवस्था गरिएको ढकालले जानकारी दिए। ‘व्यवसायीहरुको पहलमा संघमा यस्तो व्यवस्था गर्न लागिएको हो, यसलाई नियमितता दिन सकिए दमकमा हुने चोरी तथा लुटपाटका घटनामा नियन्त्रण आउने विश्वास छ,’ ढकालले भने।

दमकचोक र बजार क्षेत्रमा मात्र करिब १ हजारभन्दा बढी व्यवसाय सञ्चालनमा रहेको संघको अनुमान छ। 

रात्रिकालीन सुरक्षा गार्डका अलावा मुख्यमुख्य स्थानमा सिसी क्यामेरा जडान गर्नसमेत पहल थालिएको संघका प्रथम उपाध्यक्ष विमल खतिवडाले बताए। दमकमा ४ वर्षअघि जडित ८ वटा सिसीक्यामेर पूर्णरुपमा सञ्चालन हुन नसक्दा समस्या भएको दमकमा कार्यरत प्रहरी नायव उपरीक्षक राजन लिम्बू बताउँछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.