|

दाङ : दाङमा सशस्त्र द्वन्द्वका क्रममा मृत्यु र वेपत्ता भएकाको परिवार रकम लिन नआउँदा जिल्लाबाट करिब ४ करोड रकम फिर्ता भएकोछ छ। दाङका द्वन्द्व पीडितलाई राहतका लागि पछिल्लो चरणमा २६ करोड एक लाख ५० हजार रुपैयाँ जिल्लामा आएको थियो। उक्त रकम मध्ये २२ करोड २३ लाख ५० हजार वितरण गरिएको जिल्ला प्रशासन कार्यालयका लेखा प्रमुख विश्वमाया बहकरीले जानकारी दिइन्।

जिल्लामा सशस्त्र द्वन्द्वका क्रममा राज्य पक्षबाट ४ सय १४ र विद्रोही पक्षबाट ७१ जनाको मृत्यु भएको थियो भने ५७ जना बेपत्ता भएका थिए। तर ५१ जना बेपत्ता, राज्य पक्षबाट मारिएका ३ सय ७८ र विद्रोहीबाट मारिएका ५२ मृतक परिवार मात्र सम्पर्कमा आएको प्रशासन कार्यालयको तथ्याङ्क छ।

मृतक तथा बेपत्ताका परिवार रकम लिन नआउँदा तीन करोड ९९ लाख १५ हजार रुपैयाँ फिर्ता भएको लेखा प्रमुख बहकरीले बताइन्। जिल्लाका ४ सय ८१ जना द्वन्द्वपीडित परिवारले सरकारको तर्फबाट राहत रकम १० लाख रुपैयाँ पाएका छन्। जिल्ला प्रशासन कार्यालय मार्फत मृतक सर्वसाधारण, सेना, प्रहरी र बेपत्ताका परिवार गरी ४ सय ८१ परिवारले दुई चरणमा गरी १० लाख रुपैयाँ पाएका हुन्।

शान्ति तथा पुनःनिर्माण मन्त्रालय द्वन्द्व प्रभावित व्यक्ति, परिवार तथा संरचनाको लगत संकलन कार्यदलले तयार पारेको प्रतिवेदनको आधारमा राज्य पक्षबाट मारिएका ३ सय ७८, ५२ जना सेना, प्रहरी तथा ५१ बेपत्ता परिवारलाई दोस्रो किस्ता स्वरुप राहत रकम दिइएको हो।

पहिलो चरणमा मृतक र बेपत्ताका परिवारले पाँच/पाँच लाख रुपैयाँ बुझिसकेका थिए भने मृतक सेना, प्रहरीका परिवारले साढे ८ लाख रुपैयाँ बुझेका थिए।

हालै आएको राहत रकमबाट राज्य पक्षबाट मारिएका र बेपत्ताका परिवारले थप पाँच लाख र सेना प्रहरीका परिवारले साढे एक लाख रुपैयाँ पाएका छन्।  प्रशासनले असार २५ देखि ३० गतेसम्म निवेदन संकलन गरेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.