|

काठमाडौं : यू-१९ विश्वकप क्रिकेट छनोट प्रतियोगिताअन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले लज्जास्पद् हार बेहोरेको छ। सिंगापुरमा बिहीबार भएको खेलमा नेपाल अफगानिस्तानसँग १ सय ४१ रनको फराकिलो अन्तरले पराजित भयो।

१९१ रनको विजयी लक्ष्य पछ्याएको नेपाल २६ ओभरमा ४९ रन जोड्दा अलआउट भयो। नेपालका लागि पवन शर्राफले २६ रन जोड्नुबाहेक अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन्।

अफगानिस्तानका कप्तान नविन उलहकले नेपालविरुद्ध ह्याट्रिक लिए। नवौं ओभरको चौंथो, पाँचौं र छैटौं बलमा उनले लगातार दीपेन्द्रसिंह ऐरी, प्रनित थापा मगर र अनिल साहलाई पेबेलियन फर्काए।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको अफगानिस्तान निर्धारित ५० ओभरभन्दा २ बलअघि १९० रनका अलआउट भएको थियो। उसका लागि इब्राहिम जद्रानले ४३, नभिद ओवाइदले ३३, तारिक स्टानिकजाइले २७ तथा कप्तान नविन उलहकले २० रनको योगदान गरे।

नेपालका सहाव आलमले ३, सन्दीप लामिछाने र पवन सर्राफले समान २ तथा दीपेन्द्र ऐरी र किशोर महतोले १/१ विकेट लिए। अफगानिस्तान लगातार तीन जितसहित अंक तालिकाको शीर्ष स्थानमा कायम छ। दोस्रो स्थानमा रहेको नेपालले २ जित हात पारेको छ।

राउण्ड रोविन लिगका आधारमा खेलाइएको प्रतियोगितामा चारवटै टोलीले एक/अर्कासँग दुई-दुई खेल खेलिसक्दा अंक तालिकाको शीर्ष स्थानमा रहने टिम सन २०१८ को जनवरीमा न्यूजिल्याण्डमा हुने यू-१९ विश्वकपका लागि छनोट हुनेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.