|

मनकामना (गोरखा) :  दुई वर्षअघि सुरु गरिएको गोरखाको प्रशिद्ध मनकामना मन्दिर जिर्णोद्दारको काम अन्तिम चरणमा पुगेको छ। मन्दिर जिर्णोद्दार ८० प्रतिशत सकिएको जिर्णोद्दार समितिका अध्यक्ष नरेन्द्रबाबु श्रेष्ठले जानकारी दिए। भूकम्पका कारण क्षतिग्रस्त भएको पुरानो मन्दिर भत्काएर जगैदेखि पुनर्निर्माण थालिएको थियो।

‘अहिले मन्दिरको ८० प्रतिशत काम सम्पन्न भइसकेको छ’ श्रेष्ठले भने ‘सबै भन्दा समस्या र धेरै समय लाग्ने गारोको काम हो। त्यो पनि अब एक हप्ताभित्र सकिन्छ। त्यसपछि छाना छाउने र गजुर हाल्ने काम मात्र बाँकी रहन्छ।’

मनकामना मन्दिरको छानामा तामाको पातामा सुनको जलप लगाउने तयारी छ। अब सुनको जलप लगाउने कामलाई धेरै समय खर्च हुनेछ। मन्दिरको सबै काम आगामी चैतसम्म सकिने श्रेष्ठले अनुमान गरे। अहिलेसम्म मन्दिरको तल्लो तलासम्मको काम सबै सकिएको र अब एक हप्तामा माथिल्लो तलाको काम सकेर अन्य काम गर्ने तयारी जिर्णोद्दार समितिको छ। 

मनकामना मन्दिर जिर्णोद्दारका लागि नेपाल सरकारले चार करोड र भक्तजनबाट करिब सात करोड रुपैयाँ संकलन भएको थियो। मन्दिरको लागि आवश्यक काठ चितवनबाट ल्याइएको छ। केहि काठ भने पूरानै समेत प्रयोग गरिएको छ। ‘मन्दिरको पुरानो स्वरुपमा केही मात्रामा पनि परिवर्तन नहोस् भनेर हामी निरन्तर लागि रहेका छौँ’ उनले भने।

पूरातात्विक, ऐतिहासिक, धार्मिक महत्व बोकेको मन्दिर भएकाले पूरातत्व विभागका इञ्जिनियर तथा प्राविधिक कर्मचारीको प्रत्यक्ष अवलोकन तथा अनुगमनमा मन्दिर पुनर्निर्माण अघि बढाइएको छ। २०७४ सालभित्रमा मन्दिरको पुनर्निर्माण सक्ने र धर्माबलम्बीलाई पूजा, अर्चनाका लागि खुल्ला गरिने लक्ष्यका साथ काम भइरहेको श्रेष्ठले बताए।

पुरानो मन्दिर भत्काएपछि मन्दिर अघि रहेको खुल्ला ठाउँमा मनकामनाको प्रतिमूर्ति स्थापना गरी भक्तजनले पूजाआजा गर्ने व्यवस्था जिर्णोद्दार समितिले मिलाएको छ। २०६८ मा पुरातत्व विभागले गरेको अध्ययन अनुसार मन्दिर पुनर्निर्माणमा आठ करोड रुपैयाँ लगानी गर्नुपर्ने अनुमान गरे पनि महंगी बढेकाले लागत खर्च पनि बढेको छ। मन्दिर निर्माण सक्न कम्तिमा १४ करोड रुपैंया आवश्यक पर्ने देखिएको श्रेष्ठको भनाइ छ। जिर्णोद्दारका लागि हिजोआज पनि दिनदिनै मन्दिर आउने भक्तजनहरुले स्वेच्छिक रुपमा रकम सहयोग गरिरहेका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.