|

काठमाडौं : नेपाली कांग्रेसका शीर्ष नेताहरूले आउँदो असोज २ गते प्रदेश नम्बर २ मा हुने स्थानीय तह निर्वाचनमा कांग्रेसलाई पहिलो पार्टी बनाउने घोषणा गरेका छन्।

पहिलो र दोस्रो चरणमा निर्वाचन भएका ६ वटा प्रदेशमा प्रमुख प्रतिपक्षी एमालेभन्दा ५० सिट पछि रहेको कांग्रेसले बिहीबारदेखि काठमाडौंको एक पार्टी प्यालेसमा आयोजना गरेको प्रदेश नम्बर २ का केन्द्रीय सदस्य, सांसद, जिल्ला सभापति र क्षेत्रीय सभापतिकोे भेलामा शीर्ष नेताहरूले प्रदेश नम्बर २ मा कांग्रेसले धेरै तहमा विजय हासिल गर्ने दावी गरे।

कांग्रेस सभापाति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले प्रदेश नम्बर २ को निर्वाचन पार्टीका लागि 'जीवन मरणको प्रश्न' भएको बताए। ‘अब प्रदेश नम्बर २ को चुनावमा कांग्रेसले सफलता पाउनै पर्छ’, सभापति देउवाले भने ‘अब यो प्रदेशको चुनावमा हामी एक नम्बरको पार्टी बन्नै पर्छ।’

देउवाले स्थानीय तहको निर्वाचनमा उम्मेदवारका आकांक्षी धेरै हुने तर एक जनाले मात्र टिकट पाउने हुँदा कोही पनि निरास हुन नहुने बताए। आफूले टिकट पाए मात्र चुनाव जित्ने अरुले नजित्ने कुरा नगर्न उनले कार्यकर्ताहरूलाई आग्रह गरे।

‘जनजाति, आदिवासी, महिला, दलित, मधेसी समुदायका हरेक व्यक्तिलाई कांग्रेसले समेट्दै आएको छ’, देउवाले भने ‘कांग्रेस जस्तो समावेशी पार्टी अरु कुनै पनि छैन, बीपी कोइराला पार्टी नेतृत्व वा सरकारमा हुँदा रामनारायण मिश्र, परशुनारायण चौधरी, धनमानसिंह परियार, जेवी याक्थुम्वा लगायतलाई समेटेको इतिहास छ।’

कांग्रेस नेता रामचन्द्र पौडेलले प्रदेश नम्बर २ का स्थानीय तहमा साउन भित्रै उम्मेदवार चयन गर्नु पर्ने भन्दै पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध जोसुकै लागे पनि उसले पछि त्यही नियति भोग्नु पर्ने बताए। नेतासँग नजिक भन्दा पनि इमान्दारिता र लोकप्रियताको आधारमा टिकट वितरण गर्न पौडेलले सभापतिसँग माग गरे।

विगतमा स्थानीय तहमै सहमति भएर उम्मेदवार चयन गरेको ठाउँमा सफलता पाएको तर केन्द्रले उम्मेदवार चयन गर्दा असफलता पाएको पौडेलले बताए। उनले मधेसका विषयमा फैलाइएको अतिरञ्जित भ्रमलाई कांग्रेसका मधेसी नेताले चिर्नुपर्ने बताए। 

महामन्त्री डा. शशांक कोइरालाले स्थानीय निर्वाचनमा अन्तरघात गर्नेलाई केन्द्रीय प्रतिनिधि पठाएर छानबिन गरी कारबाही गरिने बताए। प्रदेश नम्बर २ को निर्वाचनमा कांग्रेस असफल भए प्रदेश र संघीय संसदको निर्वाचनमा समेत नकारात्मक परिणाम आउने भन्दै महामन्त्री कोइरालाले जित्नैपर्नेमा जोड दिए।

पार्टी कोषाध्यक्ष सीतादेवी यादवले कांग्रेसको दुश्मन र शत्रु कांग्रेस भित्रै खोज्नु पर्ने भन्दै पार्टी भित्रको विवाद मिलाएर प्रदेश नम्बर २ मा कांग्रेसलाई जिताएर एक नम्बरको पार्टी बनाउनु पर्ने बताइन्।

कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले तराई मधेसका समुदायको माग सम्बोधन गर्न कांग्रेस तयार हरेको भन्दै संसदमा विचाराधीन संविधान संशोधन विधेयक पास वा फेल जे भएपनि अघि बढाउनु पर्नेमा जोड दिए। कांग्रेस र माओवादीले इमान्दारिताका साथ विधेयक पारित गर्न भूमिका खेल्दा पनि विधेयक फेल भए त्यसलाई राष्ट्रिय जनता पार्टी नेपालले स्वीकार गर्नु पर्ने उनले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.