|

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार र सत्ता साझेदार दललाई विकास र परिवर्तनका कुरा चाइनिज भाषा जस्तै नबुझ्ने खालको भएको टिप्पणी गरेका छन्।

विहीबार पार्टी निकट मजदुर संगठन अखिल नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) को राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषदको उद्घाटनमा ओलीले भने 'मलाई चाइनिज भाषामा कसैले केही भन्यो भने मैले के बुझ्ने?,केही बुझ्दिन, अहिलेको सरकार र सत्ता गठबन्धनलाई विकास र परिवर्तनको कुरा यस्तै हो।'

नेपाल संयुक्त राष्ट्र संघको दिगो विकासका रणनीति अनुसार अघि बढ्नुपर्ने भए पनि सत्तारुढ गठबन्धनलाई यस विषयमा चासो नै नहुने उनले बताए। 'संयुयक्त राष्ट्र संघको दिगो विकास रणनितीमा हामी सहित १९३ राष्ट्रले हस्ताक्षरगरेका छन्, हामीले पनि प्रतिवद्धता जनाएका छौँ, तर अहिलेको सरकार र सत्ता साझेदार गठबन्धनलाई यत्रो विघ्न कुरा बुझ्ने फुर्सद छैन र बुझ्न पनि बुझ्दैन।'

ओलीले एमाले नेतृत्वको सरकारलाई हटाउनको लागि अनुचित गठबन्धन बनाइए टिप्पणी पनि गरे। 'एमालेलाई सत्तमबाट हटाउनको लागि अनुचित गठबन्ध बनाइयो, अनेक प्रकारका सम्झौता गरियो , मिल्दै नमिल्ने अनौठो अनौठो प्रकारको गठबन्धन, कोही टाउकोको मूल्य तोक्ने कोही बम पडकाउदै हिँड्ने, सबै एक भए' ओलीले भने।

कम्मरसम्म आउनुपर्ने पार्टी कुम कुम आए

अध्यक्ष ओलीले  सत्तारुढ दलहरुले सत्ताको चरम दुरुपयोग गर्दा पनि एमालेले स्थानीय तहको निर्वाचनमा सम्मानजनक सिट ल्याएको बताएका छन्। तर अन्य दलहरुले पनि आश्चार्य लाग्ने गरी सिट ल्याएको टिप्पणी गरेका छन्। 'प्रशासन यन्त्रको दुरुपयोग गरियो, चुनावको पहिलो चरणमा पनि कार्यकर्ता मारिए, कुटिए, खाइते भए, गिरफ्तार गरियो, प्रहरी प्रशासन अरु विभिन्न निकाए एमालेका विरुद्ध दुरुपयोग गरियो। त्यसका बीच सम्मानजनक भोट एमालले ल्यायो' ओलीले भने 'अरुले पनि अचम्मसँग भोट ल्याएका छन्, कम्मर कम्मर आउनुपर्ने दल कुम कुम आए होला, तर एमाले माथिनै छ यो जनता सचेत भएको संकेत हो।'

सत्तारुढ दलहरुले मतगणनाको क्रममा पनि धाँधली गर्न खोजेको आरोप लगाए। 'कञ्चनपुरको पुनर्वासमा समस्या भयो, झापाको अर्जुनधारामा समस्या, धरानमा समस्या, जहाँजहाँ समस्या भयो, त्यहाँ एमाले अघि लागेको सहनै नसकेर विलम्व गरियो' ओलीले भने।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.