|

काठमाडौं: बिहीबार एमाले अध्यक्ष केपी शर्मा ओली एमालेकै भातृ संगठन नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) को राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषदको उद्‍घाटन समारोहको प्रमुख अतिथि थिए। सामान्यतया तोकिएको समय भन्दा १/२ घण्टा ढिला पुग्‍ने ओली बिहीबार भने आफूले दिएको समय भन्दा मात्रै १० मिनेट ढिला पुगे।

जिफन्ट अध्यक्षको स्वागत मन्तव्यसहित ४ जनाको मन्तव्य ओलीभन्दा अघि राखिएको थियो। स्थानीय तहमा निर्वाचित जिफन्टको पृष्ठभूमिका नेतालाई सम्मानसहित अन्य आठ सूची अध्यक्ष ओलीको उपस्थितिमा गराउने कार्यतालिका थियो। समयको व्यस्तता भन्दै निर्वाचित केही प्रतिनिधिलाई सम्मान गरेर त्यो कार्यक्रम बीचमै स्थगित गर्न ओलीले आग्रह गरे। उनी बोल्नु भन्दाअघि जिफन्टका अध्यक्ष विष्णु रिमालले मात्रै बोले।

प्रमुख अतिथिको तर्फबाट मन्तव्य दिन माइक अगाडि पुगेका ओलीले धेरैलाई पदको हिसाबले मात्र सम्‍बोधन गरे। तर मञ्चमा रहेका ६० जनामध्ये दुई जनाको भने नाम नै लिए।

सबैको नाम लिँदा समय धेरै लाग्‍ने उनको भनाइ थियो। तर उनले सुरुमै दुई जनाको मात्रै नाम लिन खोजे। 'कार्यक्रमका अध्यक्ष ज्यू, लक्ष्मणजी' यति भनेपछि केही समय ओली अड्किए, लक्ष्मण बस्नेतको मुखमा केही समय हेरे। केही साथीको नाम भनौं भनेको आएन' ओलीले यति भन्दा कार्यक्रमस्थल हाँसोले गुञ्जयमान भयो।

उनले खोजेको नाम कसैले नबुझेपछि सम्‍बोधन अघि बढाए। 'पूर्व मन्त्रीज्यू, माननीयज्यूहरु, विभिन्न स्थानीय तहमा विजयी जनप्रतिनिधिहरु, कार्यक्रमका अध्यक्षज्यू, पदकोको हिसावले कार्यक्रममा उपस्थित सबैलाई सम्बोधन गरे। तर, विषयवस्तुमा प्रवेश गर्नु पूर्व नै ओलीले पहिले बिर्सेको नाम सम्झिए। अघि मैले बिर्सेको नाम 'खिलनाथ दाहालजी' सम्बोधन सक्नुपूर्व ओलीले खिलनाथको नाम लिए।

सम्बोधनको क्रममा लिएका दुई नाम ट्रेड युनियन कांग्रेसका नेताहरु हुन्। दाहाल ट्रेड युनियन कांग्रेसका वर्तमान अध्यक्ष हुन् भने बस्‍नेत पूर्व अध्यक्ष हुन्। 

ओलीले २००३ सालमा मनमोहन अधिकारी, गिरिजाप्रसाद कोइराला लगायतका नेताहरुले सुरु गरेको मजदुर आन्दोलनले अहिले सार्थक रुप लिइसकेको समेत बताए। 'अहिले धेरै साथीहरु स्थानीय तहको निर्वाचमा मजदुर व्याकग्राउण्डबाट विजयी हुनु भएको छ, जिफन्टबाट मात्रै २५० जना हुनुहुन्छ,  अन्य पार्टीबाट पनि होला, हिजो मनमोहन अधिकारी, गिरिजाप्रसाद कोइरालाले सुरु गरेको मजदुर आन्दोलनले सार्थक रुप लिएको देखिन्छ' ओलीले भने।

उनले मजदुरको हकहितको निमित्त सबै पाटीमा आस्था राख्ने मजदुरहरु एक भएको समेत बताए।  'ठीक छ वा छैन तर पार्टीको हिसाबले मजदुर भइकन हामी भिन्‍न भिन्‍न बहस गर्छौ, तर मजदुरका विषयमा सबै एक ठाउँ देखिनहुन्छ, विष्णुजी,खिलानाथजी, लक्ष्मणजी अर्को अर्को' उनले भने। उनले अहिले आठ घण्टा काम आठ घण्टा आरम भन्‍ने माग पनि हराउन थालेको र व्यवस्थापनमा श्रमिकको प्रतिनिधित्व सुरु भएको समेत बताए। मजदुर  एकता र राष्ट्र समग्र विकासको लागि सबै मजदुरहरु एक हुनुपर्ने ओलीको धारणा छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.