यातायात कार्यालयका निमित्त प्रमुखसहित ७ जना निलम्बित

|

  • कर्ण कुँवर-

टीकापुर : अवैध चोरीका सवारी साधन अनियमित ढङ्गले दर्ता गरेको आरोपमा सरकारले यातायात व्यवस्था कार्यालय महाकालीका निमित्त प्रमुखसहित ७ जना लाई दुई महिनाका लागि निलम्बन गरेको छ। यातायात व्यवस्था विभागका अनुसार महाकालीमा सवारी दर्ता गर्ने क्रममा अनियमितता देखिएकोले बिहीबार सचिवस्तरको बैठकबाट निलम्बन गरिएको हो।

यातायात व्यवस्था विभागका प्रवक्ता टोकराज पाण्डेले छानबिन गर्ने  क्रममा नक्कली कागजात प्रयोग गरेर सवारी दर्ता गरेको फेला परेकाले निलम्बनका लागि मन्त्रालयमा सिफारिश गरेको जानकारी दिए।  ‘प्रारम्भिक अध्ययन सकियो,’ उनले भने ‘अब विस्तृत छानबिन थालिनेछ।’

निलम्बित हुनेमा निमित्त कार्यालय प्रमुख हेमन्तबहादुर सिंह, मेकानिकल इन्जिनियर दीपक थापा, नायव सुब्बा नरेन्द्रराज जोशी, तारादत्त भट्ट, महादेव भट्ट, खरिदार केशवदत्त बडु र श्यामराज ओझा छन्। सरकारी कागज किर्ते गरी प्रहरी र यातायात कार्यालयका कर्मचारीको मिलेमतोमा अवैध चोरीका सवारीसाधन खरिद गरेर ठगिएका ३५ जना न्यायको माग गर्दै कञ्चनपुर जिल्ला प्रहरी कार्यालय पुगेपछि चोरीका गाडीको प्रकरण सार्वजनिक भएको हो।

गत असार २९ गते प्रहरीले सरकारी कागजात किर्ते गरी सवारीसाधान यातायात कार्यालयमा दर्ता गरी किनबेच गर्दै आएका कैलालीको भजनी नगरपालिका ३ का ३७ वर्षीय गोकुलप्रसाद श्रेष्ठ र कञ्चनपुरको भीमदत्त नगरपालिका ४ का २५ वर्षीय हिमालय जोशीलाई प्रहरीले नियन्त्रणमा लिएपछि उनीहरूबाट सवारीसाधन खरिद गरेर ठगिएका ३५ जना विहीवारसम्म न्यायका लागि प्रहरीमा पुगेका हुन्।

कैलाली र कञ्चनपुरलगायत देशका विभिन्न भागमा श्रेष्ठले बिक्री गरेका जिप तथा मोटरसाइकलका धनी आफ्ना लाखौँ रुपैयाँ डुबेपछि न्यायका लागि प्रहरीमा आएका हुन्। श्रेष्ठविरुद्ध महाकाली अञ्चल यातायात कार्यालयले केही दिनअघि सरकारी कागजात किर्ते गरेर सवारीसाधन दर्ता गरेको भन्दै प्रहरीमा किर्ते जालसाजी मुद्दा दायर गरेको थियो।

प्रहरीले नियन्त्रणमा लिएकामध्ये अधिकांश सवारी साधन श्रेष्ठले बिक्री गरेको पाइएको छ। ‘साढे चार लाखको मोटरसाइकल सक्कली कागजात देखाउँदै डेढ लाखमा बिक्री गर्न ल्याएपछि किनिहालेँ’, श्रेष्ठबाट केही महिनाअघि बुलेट मोटरसाइकल खरिद गरेका धनगढीका एक युवकले भने, ‘निज श्रेष्ठ पक्राउ परेपछि मात्रै उनको अवैध धन्दा थाहा पायौँ।’ उनले बिक्री गरेका नौवटा जिप–कार र २५ वटा मोटरसाइकल खरिद गरेका अन्य स्थानीयवासी आफूहरू ठगिएको भन्दै उजुरी गर्न आएको इन्स्पेक्टर हिरेन्द्रबहादुर रोकायाले जानकारी दिएका छन्।

तीमध्ये ६ वटा कार जीप प्रहरीले पक्राउ गरेको र घटना सार्वजनिक भएपछि ३ जनाले प्रहरी समक्ष कार जीप बुझाएको इन्स्पेक्टर रोकायाले बताएका छन्। ‘केही व्यक्तिबाट ठगीको उजुरी आएको छ’, इन्स्पेक्टर रोकायाले भने ‘अहिले किर्तेमा अनुसन्धान हुँदैछ। त्यसपछि ठगीमा पनि हुन्छ। श्रेष्ठले ५० लाख पर्ने जिप २० लाखमा बिक्री गरेको अनुसन्धानमा देखिएको छ।'

सरकारी कागजात किर्तेको अभियोगमा प्रहरी हिरासतमा रहेका श्रेष्ठ र जोशीलाई अनुसन्धानका लागि असार ३० गते ५ दिनको र साउन ३ गते १० दिनको गरी १५ दिनको जिल्ला अदालत कञ्चनपुरबाट म्याद थप भइ अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ। ‘श्रेष्ठले कति वटा सवारीसाधन किनबेच गरेको रहेछ भन्ने थाहा भइसकेको छ’, इन्स्पेक्टर रोकायाले भने, ‘हामीले सबै सवारीधनीलाई सवारीसाधनसहित कार्यालयमा आउन भनिसकेका छौँ।’

प्रहरीको आग्रहपछि अझै धनगढी र महेन्द्रनगरका ठगिएका व्यक्ति धमाधम प्रहरीको सम्पर्कमा आउन थालेका छन्। उनीहरूबाट सवारीसाधन खरिद गर्नेमा प्रहरीका अधिकारी, यातायात कर्मचारी, अन्य सरकारी कर्मचारी र व्यापारी छन्। किर्ते कागजात गरी यातायात कर्मचारीसित मिलेमतो गरी किनबेच गर्दै आएका श्रेष्ठ र जोशीले अवैध काममा अन्य व्यक्ति समेत संलग्न रहेको प्रहरीसमक्ष बयान दिएसँगै प्रहरीले उनीहरूको पनि खोजी गरिरहेको छ।

अभियुक्तद्वयले विगत ६ महिनायता बर्दियाको गुलरिया छोटी भन्सार कार्यालयबाट सवारीसाधन लिलाम गरेका कागजात यातायात कार्यालयमा दर्ता गर्ने क्रममा पेश गरी उक्त अवैध धन्दा गर्दै आएका थिए।

प्रहरीले श्रेष्ठ र जोशीको साथबाट १ लाख रूपैयाँ नगद, दुई थान ल्यापटप, एक दर्जन गाडीका ब्लु बुक, बैंकमा राजश्व दाखिला गरेको भौचर लगायतका सामाग्रीसमेत बरामद गरेको छ। सवारीसाधन दर्ता गरी सक्कली बनाएर किनबेच गर्ने उक्त कार्यमा सेती र महाकाली अञ्चल यातायात व्यवस्था कार्यालयका केही कर्मचारी पनि संलग्न देखिएको अनुसन्धानमा संलग्न प्रहरीले दावी गरेका छ।

चोरीका सवारी साधन भारतबाट आयात गरी किर्ते गरेको घटना सार्वजनिक भएपछि यहाँको नेपाल–भारत सीमावर्ती भारतीय सुरक्षाकर्मीले पनि यस विषयमा चासो लिएको छ। चोरीको गाडी किन्नेमा टीकापुरस्थित एक प्रहरीको नाम समेत मुछिएपछि उनका पछाडि को–को संलग्न छन् भन्ने विषयमा छानविन शुरू हुने भएपछि लहरो तान्दा पहरो गर्जन सक्ने सम्भावना बढेर गएको छ।

चोरीको से १ च १८१० नम्बरको होण्डा क्रेटा जिप इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी हवल्दार तारा ठकुल्लाका नाममा सेती अञ्चल यातायात कार्यालयबाट नामसारी गरिएको छ। त्यस्तै टीकापुर नगरपालिका १ का विनोद शर्माको पनि होण्डाको सिटी जिप समातिएको छ र एक अर्को से १ च १८०९ नम्बरको जिप समेत टीकापुरकै एक अर्का व्यक्तिका नाममा पास गरिएको छ।

प्रहरी हवल्दार ठकुल्लाले थाहा खबरसँग भने आफूले श्रेष्ठलाई उक्त गाडी १० लाख रूपैयाँ नगद र बाँकी पछि दिने शर्तमा किनेको बताएका छन्। ठकुल्लाले किनेको उक्त जिप इलाका प्रहरी कार्यालय टीकापुरमा केही दिनसम्म जतनका साथ राखिएको थियो।

समाचार श्रोत दावी गर्छ ठकुल्लाका नाममा किनिएको उक्त जिप नाम ठकुल्लाको काम काम इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख एवं डीएसपी सुदीपराज पाठकको हो। उक्त गाडी काण्डका बारे डीएसपी पाठकसँग सम्पर्क गर्दा उनले भने ‘मुद्दा अदालतसम्म पुगिसकेपछि यस विषयमा धेरै बोल्न आवश्यक हुन्न, अनुसन्धानका क्रममा जो जो आउँछन् ती सबै दोषका आधारमा कारवाहीको भागी बन्नुपर्छ।'

को हुन् तारा ठकुल्ला?

इलाका प्रहरी कार्यालय टीकापुरमा कार्यरत ठकुल्ला घुमुवा प्रहरी हवल्दार हुन्। विभिन्न सूचना सङ्कलनका लागि भन्सारदेखि टीकापुर क्षेत्रमा खटिने ठकुल्लालाई विलासी गाडीको आवश्यकता किन पर्‍यो भन्ने थाहाखबरको जिज्ञासामा उनी मौन रहे।

१० लाख रूपैयाँ बुझाएर होण्डाको क्रेटा जिप किनेको दावी गर्ने ठकुल्लाले उक्त गाडी किन्न कहाँबाट ल्याए त्यत्रो पैसा? स्रोत खुलाउन पर्ने अवस्था आए पहरो गर्जन सक्ने स्रोत बताउँछ।      स्रोत दावी गर्छ - डीएसपी पाठकको इप्रका परिसरभित्रै रहेको गाडी दिएर साट्ने योजना अनुसार उक्त जिप किनिएको र आफ्ना नाममा दर्ता गरिए प्रश्न उब्जिन सक्ने भएका कारण स्थानीय ठकुल्लाका नाममा चोरीको जिप दर्ता गरिएको हो।

हाकिमको अर्डर नमाने अतिरिक्त आम्दानीको स्रोत मानिने घुमुवा क्षेत्र कटौतीमा पर्न सक्ने जोखिमबाट बच्न ठकुल्ला आफ्ना नाममा जिप नामसारी गराउन सहमत भएको स्रोत बताउँछ। उता कञ्चनपुर जिल्ला प्रहरी कार्यालयका प्रवक्ता समेत रहेका इन्स्पेक्टर हिरेन्द्रबहादुर रोकायाले अनुसन्धानमा प्रत्यक्ष प्रभाव पर्न सक्ने भएकाले पीडित सबैको विस्तृत जानकारी दिन नसकिने र टीकापुरबाट मात्रै कार खरिदमा ठगिएको भन्दै तीन जनाको निवेदन प्रहरी मार्फत आएको जानकारी दिएका छन्।

तर इलाका प्रहरी कार्यालय टीकापुरका डीएसपी सुदीपराज पाठकले इलाका प्रहरीमार्फत कोही कञ्चनपुर प्रहरीको सम्पर्कमा नगएको तर, शर्मालाई आफूहरूले अनौपचारिक सल्लाह दिएको बताएका छन्।

तर समाचार स्रोतका अनुसार सेती अञ्चल यातायात कार्यालयमा पत्राचार गर्नेदेखि गाडीका सम्पुर्ण कागजात जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको टामेलीलाई बुझाउने कार्य इलाका प्रहरी कार्यालयबाटै हवल्दार ठकुल्ला मार्फत भएको हो।

असार २९ गते जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी भीमबहादुर दाहाल, प्रवक्ता एवं इन्स्पेक्टर रोकायासहित १ जना सई, ३ जना असई सहित करिव १०/१२ जनाको प्रहरी टोलीले ठकुल्लाका नाममा दर्ता भएको से १ च १८१० को होण्डा क्रेटा जिप टीकापुरबाट नियन्त्रणमा लिएको थियो।

चोरीको गाडी प्रकरण एक कान दुई कान मैदान भएपछि ठकुल्लाका नाममा दर्ता भएको जिप सुनियोजित ढङ्गले इलाका प्रहरी कार्यालय नजिकै सडकमा वेवारिसे अवस्थामा राखिएको थियो।

ठकुल्लालाई कञ्चनपुर प्रहरीको ताकेता

प्रवक्ता एवं इन्स्पेक्टर रोकायाले जिप काण्डमा जोडिएका इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी हवल्दार तारा ठकुल्लालाई उपस्थित भइ अनुसन्धानमा सघाउन बुधवार पत्राचार गरिए पनि बिहीबारसम्म सम्पर्कमा नआएकाले पुनः ताकेता गरिएको छ।

तर प्रहरी हवल्दार ठकुल्लाले आफूलाई वोलावट भएको औपचारिक जानकारी नभएको बताउँदै 'कतिखेर खबर आउला र जाउँला भनेर दिनभर तयार थिएँ तर अहिलेसम्म खबर नआएपछि आज गइनँ भोलि विहानै जान्छु भनेका छन्।          

अवैध गाडी दर्ता काण्डमा यातायात कार्यालयका सात कर्मचारी निलम्बनमा परेपछि अझै केही सरकारी कर्मचारी निलम्बनमा पर्न सक्ने मात्रै होइन केहीको जागिरसमेत धरापमा पर्न सक्ने खतरा बढेर गएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.