|

काठमाडौँ: चर्चित गायक अरुण थापाले जीवनको अन्तिमतिर दिएको अन्तर्वार्तामा आफूले गाएकामध्ये मनपर्ने दुईओटा गीतमा एउटा गीत थियो:

म रोए पनि तिमी हाँसिदिनू

यो झरी जाने जिन्दगीदेखि पन्छिदिनू

म रोए पनि तिमी हाँसिदिनू...

बिहीबार अपराह्न यही गीत भक्तपुरमा गुञ्जियो। यसले १८ वर्ष पहिले यो संसारबाट भौतिक रूपमा बिदाई लिएका अरुण थापालाई गीत संगीतमा यतै कतै रहेको आभाष दिलायो। सुरज कपालीले प्रस्तुत गरेको गीतमा बद्रीनारायण ताम्राकारले संयोजन गरेको संगीत मिसिएको थियो भने हलभरि उपस्थितका सम्झनामा अरुण थापा थिए।

अरुण थापाको १८औँ स्मृति दिवसका अवसरमा मोडर्न बोर्डिङ स्कुलमा द म्युजिकल जर्नी र विनिता संगीत कला केन्द्रले संयुक्त कार्यक्रम गरी थापालाई सांगीतिक श्रदाञ्जलि दिएको हो। श्रदाञ्जलि कार्यक्रममा अरुण थापाका कालजयी गीतहरू गुञ्जिए। तीमध्ये सर्वश्री कपालीले प्रस्तुत गरेको थापाको चर्चित गीत 'ऋतुहरूमा तिमी हरियाली वसन्त हौ...' ले उपस्थितका ओठओठ गुनगुनाउने बनायो।

थापाका 'आँखाको निद खोसी लाने', 'चोट के हो व्याथा के हो...', 'के छ र दिऊँ तिमीलाई...' लगायत दर्जन बढी चर्चित गीतहरू प्रस्तुत गरिएका थिए। यी गीत प्रस्तुत गर्नेमा दृष्टीविहीन गायिका अमला महर्जन र चिरिमाया महर्जन, बालगायक आयुष केसी, मिदिसा ताम्राकार, दिवाकर खड्का, ऋतु कँडेल थिए भने उनीहरूलाई संगीतमा तेजु श्रेष्ठ, सुरज कपाली, ओम प्रकाश, हरिगोविन्द कायस्थ, कैलाश भुषाल, निरञ्जन भण्डारीलगायतले साथ दिएका थिए।

अरुण थापाले गीत संगीतमार्फत आफ्नो नाम राखेको र अमर बनेको चलचित्रकर्मी/संस्कृतिकर्मी चेतन कार्कीले बताए। उनले भने, 'अरुण थापाको स्वरले गर्दा पनि उनी कहिल्यै स्वर्गीय हुँदैनन्, उनी हामीबीच छन् भन्ने लाग्छ।' थापाका गीतहरू तीन पुस्ताका ओठमा गुञ्जिइरहेको उनले बताए।

चलचित्रकर्मी प्रकाश सायमीले अरुण थापाका गीतहरू कालान्तरसम्म अजर अमर रहने बताए। उनले भने, 'अरुण थापाका गीतहरू हरेक युगमा हरेक समयमा गाउने पुस्ता तयार छ भन्ने यो प्रस्तुतिले दखायो।'

थापामा नारायणगोपालका गीतहरूको प्रभाव पाइने गरेको सायमीले बताए। थोरै गीत गाएर पनि चर्चित हुनेमा थापा पनि पर्ने सायमीको भनाइ थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.