|
फाइल फोटो

भक्तपुर : नेवार समुदायले शुक्रबार गठेमंगल अर्थात् घण्टाकर्ण पर्व मनाउँदै छ। श्रावण कृष्ण चतुर्दशीका दिन यो पर्व मनाउने चलन छ। सूर्योदय त्रयोदशीमा भए पनि दिउँसो चतुर्दशी तिथि सुरु हुने कारण शुक्रबार नै घण्टाकर्ण मनाउन लागिएको हो।  

'खराब तत्त्वले छुन नसकोस्' भन्ने उद्देश्यले काँचो माटोको कतारोमा कर्कलो, मकै, आरुको बोटको हाँगा, भुसको ढुटो, जाँडको कट राखेर दोबाटो वा चौबाटोमा लगेर राखिन्छ। यसलाई बौ वाय् ज्या (भूत मन्छाउने काम) भनिन्छ।

यसै दिन घरको मूल ढोका र मुख्य निदालमा पंचरंगी मयूरको प्वांख र तीन खुट्टै फलामको किला ठोक्ने चलन छ। यसो गरे घरमा भूतप्रेतले दुःख दिँदैनन् भन्ने विश्वास छ। घरका साना केटाकेटीहरुलाई फलाम वा तामाको औंठी लगाइदिने चलन पनि रहेको छ। वयस्क युवतीले विशेषगरी खुट्टामा विभिन्न प्रकारका कला खोपाउने गर्छन्।

टोलबासीले आजको दिन नर्कट र छ्वालीद्वारा राक्षसको प्रतिक बनाई चोक–चोकमा ठ्ड्याएर राख्छन्। सँगसँगै एक व्यक्तिलाई राक्षसको प्रतीक बनाई जगात अर्थात् पैसा उठाउन लगाइन्छ । साँझपख सो राक्षसको प्रतीकस्वरुपको नर्कट र छ्वालीको मानवाकृतिलाई नजिकको खोलामा लगेर जलाइन्छ। त्यसपछि घरघरबाट छ्वालीको चिराग बालेर दोबाटो वा चौबाटोमा लगेर सेलाइन्छ।

परापूर्वकालमा टोलमा दुःख दिने राक्षसलाई समातेर सर्वसाधारणले दिनभरि चोकमा उभ्याएर साँझपख खोलामा लगेर फालेको सम्झनामा घण्टाकर्ण पर्व मनाउँदै आएको संस्कृतिकर्मी ओमप्रकाश धौभडेलले बताए। लिच्छवीकालमा सुरु भएको यो चाडलाई नेवार समुदायले वर्षको पहिलो चाडको रूपमा मनाउँछ। महादेवको परमभक्त राक्षस घण्टाकर्णलाई नदीनालामा सेलाएपछि घरपरिवारलाई भूतप्रेत आदि दुष्ट तत्त्वबाट जोगाउन सकिने विश्वासको आधारमा यो चाड मनाउने परम्परा रहेको धौभडेले बताए।

नेवार समुदायमा रोपाइँ सकिएपछि घर सफा गर्ने, हिलो पखाल्ने पर्वका रूपमा ‘सिनाज्या ब्यंकेगु’ पर्व मनाइने चलन छ। रोपाइँ सकेर  अन्य दिन सिनाज्या ब्यंकेगु मनाउन नभ्याएका परिवारले घण्टाकर्ण पर्वकै दिन मनाउने गर्दछ। 

घण्टाकर्ण पर्वकै दिनदेखि नेवार समुदायमा परम्परागत नाच तथा बाजागाजा सिकाउन सुरु गरिन्छ। नेवारी समुदायमा सिठी नखःलाई वर्षको अन्तिम पर्वको रुपमा लिने गरिन्छ। त्यो दिनदेखि घण्टाकर्णसम्म रोपाइँ सक्नुपर्ने भएकाले कुनै पनि धार्मिक महत्त्वको कार्य नगर्ने परम्परा छ।

गाईजात्राका बेला प्रदर्शन गरिने विभिन्न भैरव नाच, व्यंग्यले भरिपूर्ण नाटकको प्रशिक्षण समेत घण्टाकर्ण पर्वपछि शुरु गरिन्छ। भक्तपुरको प्रसिद्ध नवदुर्गा नाचको लागि यही  दिनदेखि मुकुण्डो बनाउन थालिन्छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.