ट्रकका ट्रक ल्याप्टप नेपाल ल्याएर बाँड्ने इच्छा

|

विराटनगर : भनिन्छ, ‘इख नभएको मानिस र विष नभएको सर्पको काम छैन।’ जब मानिससँग इख हुन्छ, त्यो इखले उसलाई ठूलै सफलता हासिल गर्न प्रेरित गर्छ। हो, त्यस्तै इख भएका एक नेपाली विश्वविख्यात माइक्रोसफ्ट कम्पनीको सम्मानित पदमा कार्यरत छन्। उनी हुन्, मोरङ सिजुवाका ४२ वर्षीय समीर थापा। 'माइक्रोसफ्टका 'नेशनल कम्युनिकेसन टेक्नोलोजी स्पेस्लिस्ट' समीर आफू कम्पनीका १ लाख २० हजार कामदारमध्ये शीर्ष ३०० भित्र पर्ने बताउँछन्।

गत असार १० गते नेपाल आएका समीरले विराटनगरमा रहेको आमाको माया छात्रबासमा साउन २ गते २ वटा ल्याप्टप वितरण गरे। त्यसअघि असार २७ गते सुनसरीको इनरुवास्थित भगवती माविमा पनि थापाले ४ वटा ल्याप्टप बाँडेका थिए।

समीर मोरङ आएकाबेला हामी घरमै पुग्यौं र उनको चामत्कारिक सफलताको राज र जीवनका आरोहअवरोहबारे कुराकानी गर्‍यौं।  

कष्टकर बाल्यावस्था

अढाइ वर्षको उमेरमा आमा गुमाएका समीरका बुबा धर्मसिंह थापाले जतिबेला कान्छी श्रीमती भित्र्याए, त्यति नै बेलादेखि उनका दुःखका दिन सुरु भए। झन् कान्छी आमाबाट सन्तान भएपछि त समीर थप विभेद र बेवास्ताको सिकार बन्न थाले। सुरुमा उनलाई निजी स्कुलमा भर्ना गरिएको थियो। तर, त्यहाँबाट झिकेर कक्षा ४ देखि सरकारी स्कुलमा भर्ना गराइयो। जबकि कान्छीआमापट्टिका छोरा (भाइ) हरु निजी विद्यालयमै पढ्दथे।

सरकारी स्कुलमा भर्ना मात्र गरिएन, उनी घरमा बस्‍ने सहज वातावरणसमेत हुन छाड्यो। कहिले हजुरआमा त कहिले ठूलोबुबाकोमा राख्‍न थालियो उनलाई। तर, समीरले पढाइ छाडेनन्, आफूलाई बेवास्था गरिएको इखले उनलाई सधैँ प्रेरित गरिरह्यो, कहिल्यै दोस्रो भएनन्। विराटनगरस्थित सत्यनारायण स्कुलबाट एसएलसी उत्तीर्ण गरेका उनले दोस्रो श्रेणीमा पास गरे। ‘मलाई विज्ञान र गणित विषयप्रति औधी रुचि थियो,’ समीर भन्छन्, ‘नेपाली लगायतका विषयमा राम्रो नम्बर आउन सकेन।’

महेन्द्र मोरङ क्याम्पसमा आइएसम्मको अध्ययन गरे पनि उनले इञ्जिनियरिङ विषय नै अध्ययन गर्ने निधो गरे। भारतको बैंग्लोरमा गएर उनले इन्जिनियरिङ अध्ययनका लागि प्रि-टेस्ट दिए, पास पनि भए। अनि सुरु भयो उनको इञ्जिनियरिङ तर्फको यात्रा।

व्यावसायिक जीवन

२१ वर्षको उमेरमा भारतमा इञ्जिनियरिङ अध्ययन सकेर उनी २०५५ सालमा घर फर्किए। त्यतिबेला विराटनगरमा इन्टरनेट सेवा सञ्चालनमा आइसकेको थिएन। उनले इन्टरनेट भित्र्याउँदै 'विराट कम्प्युटर नेटवर्क' नामक इन्स्टिच्युट खोलेर व्यवसाय सुरु गरे। ‘त्यतिबेला मेरोमा मात्रै इमेल/इन्टरनेट थियो। यहाँका ठूला उद्योगी व्यवसायीदेखि सरकारी अधिकारीले समेत मेरो कम्पनीबाटै इमेल इन्टरनेट उपयोग गर्थे,’ समीर सम्झिन्छन्।

उनको जीवनमा टर्निङ पोइन्ट त्यतिबेला आयो, जतिबेला कम्प्युटरको भविष्यलाई लिएर प्रश्न उठ्न थाल्यो। त्यतिबेला कम्प्युटरले २ अंकमा मात्र मिति देखाउँथ्यो। उदाहरणका लागि १९९८ साललाई ९८ देखाउने। १९९९ पछि कम्युटरमा मिति फेरि ०० बाट सुरु हुने हल्लाले व्यापकता पायो। विज्ञान तथा प्रविधि मन्त्रालयले समीरलाई यस विषयमा के भएको हो र के गर्दा समाधान हुन्छ भनेर सोधपुछका लागि खबर पठायो।

‘सरकारले विराटनगरमा आइटीसम्बन्धी विषयमा ठूलो सेमिनार गर्‍यो,’ उनले भने, ‘त्यहाँ देशलाई सम्बोधन गर्न पाएँ, मैले समस्याको समाधान छ भनें।’ सेमिनारमा भने पनि समीरसँग समाधानको उपाय थिएन, अब पर्‍यो अप्ठ्यारो। यसबारे बुझ्‍न अमेरिका नै जानुपर्ने आवश्यकता देखे उनले।

त्यसपछि समीरले अमेरिकाको भिसाका लागि सिफारिस गरिदिन विज्ञान तथा प्रविधि मन्त्रालयसँग प्रस्ताव राखे। मन्त्रालयले उनको प्रस्ताव स्वीकार्दै सिफारिस गरिदियो। भिसा पाएर उनी अमेरिका हानिए। समीर अमेरिका प्रस्थान गर्नुमा उनका ससुरा विराटनगर तीनटोलीयाका बलराम बरालको योगदान पनि महत्वपूर्ण रह्‍यो।

समीर जुन समस्याको समाधान खोज्‍न अमेरिका गएका थिए, त्यो समाधान उनले पत्ता लगाए। उनले समस्या समाधानको उपायसहितको प्रतिवेदन नेपाल पठाए तर, आफू भने उतै बसे। समीरले त्यहाँ पुगेर ३ साता वाइटुके (दुई अंक वर्ष) बारे बुझे, कक्षा लिए। ‘३ हप्ताको अवधिमा मैले बुझें कि समस्या समाधान हुन्छ, कम्प्युटर युगको अन्त्य हुँदैन,’ थापाले भने, ‘सरकारलाई त्यही प्रतिवेदन पठाएँ, म भने अवसर त्यहीं देखेर उतै बसें।’

अमेरिकाको बसाइ

टुरिस्‍ट भिसामा अमेरिका पुगेका थापाले तत्काल एउटा सानो कम्पनीमा काम सुरु गरे। इञ्जिनियरिङसम्बन्धी काम गर्ने उक्त कम्पनीको सिफारिसमा उनले टुरिस्‍ट भिसालाई एचवानबी (दक्ष प्राविधिकलाई दिइने भिसा) मा बदले। त्यसपछि उनलाई अमेरिकामा वैधानिक रुपमै बसेर काम गर्न सहज भयो।

समीरले ७ वर्षसम्म त्यही कम्पनीमा काम गरे, २००६ मा ग्रिन कार्ड पनि पाए। त्यसपछि उनी अमेरिकामा रहेको ब्रिटिस टेलिकम, इन्साइटजस्ता विभिन्न ग्लोबल कम्पनीमा काम गर्न थाले। उनले अन्तर्राष्ट्रिय ग्लोबल कम्पनीको नेटवर्किङ डिजाइन गरे। प्रोसम, ट्रेस-३ कम्पनीमा पनि डाइरेक्टर भएर काम गरे। यी सबै आइटीसम्बन्धी काम गर्ने कम्पनी हुन्। समीरले त्यसबीचमा निकै ठूलो ज्ञान र अनुभव हासिल गरिसकेका थिए। त्यसपछि उनको मनमा गोराहरु (अमेरिकी नागरिक) लाई कसरी पछि पार्ने भन्ने सोच आउन थाल्यो, र त्यसैलाई लक्ष्य बनाए।

अनुभव, योग्यता र क्षमताले खारिइसकेका थापालाई अझै माथि पुग्‍ने इच्छा जाग्यो। ‘अमेरिकामा कानुनतः गोरा, काला भन्ने विभेद छैन,’ थापा भन्छन्, ‘यद्यपि गोराहरुको लेभलमा पुग्‍न भने निकै गाह्रो कुरा थियो, मैले उनीहरुलाई उछिन्ने, नभए उनीहरुकै लेबलमा पुग्‍ने उपाय खोजी गरें।’

उनलाई एकजना साथीले सल्लाह दिए, 'अमेरिकाबाटै कम्प्युटर इन्फरमेसन म्यानेजमेन्टमा मास्टर्स गर्ने।' त्यसपछि उनले अमेरिकाको एरिजोन स्टेट युनिभर्सिटीमा नेपाली ४० लाख रुपैयाँ तिरेर मास्टर जोइन गरे, सफलतापूर्वक पास गर्दै सर्टिफिकेट पनि लिए। ‘अब मसँग गोराहरुसँग प्रतिस्पर्धा गर्न सबै कुरा भएजस्तो लाग्यो,’ उनी सम्झिन्छन्, ‘मसँग अनुभव थियो र सर्टिफिकेट पनि।’

माइक्रोसफ्टको जागिर

अध्ययन सकेलगत्तै माइक्रोसफ्ट कम्पनीमा जागिर खुल्यो, त्यो पनि राष्ट्रिय पदमा। समीरले आवेदन दिए। १ लाख २० हजार कामदार रहेको माइक्रोसफ्ट कम्पनीमा लामोसमय काम गरेका अनुभवी कर्मचारी र अन्य २ सयजनाले उक्त पदमा आवेदन दिएका थिए। पहिलो अन्तर्वार्ताबाट समीर २० जनामा परे। २ महिनासम्मको अन्तर्वार्ता र विभिन्न परीक्षाबाट पनि छानिएर उनी २ जनाभित्र पर्न सफल भए।

२ जनाभित्र परिसकेपछि उनको मुटुको धड्कन झनै बढ्न थाल्यो। दुईमध्ये एकजनामा छानिनु थियो। तर, उनका प्रतिस्पर्धी थिए त्यही कम्पनीको माथिल्लो तहमा काम गरेका अनुभवी कर्मचारी। ‘मलाई कम्पनीबाट भित्रकै मानिस राखिन्छ, दुःख नगर भन्नेसम्मका कुरा आयो,’ समीर भन्छन्, ‘तर, गोर्खालीको छोरो हो आए आउँछ, गए के बिग्रन्छ भन्दै छाडेर नभाग्ने र भिड्ने निधो गरें।’

आफूलाई समय बर्बाद हुन्छजस्तो लाग्छ भने अन्तरवार्ता दिनै नआइजसम्म भनेको उनी अहिले पनि सम्झन्छन्। ‘कम्पनीको प्राथमिकता पनि भित्रकै स्टाफ राख्‍ने देखिन्थ्यो, किनकि त्यहाँ त्यो पदमा जागिर खाए पनि नयाँलाई १ वर्ष ट्रेनिङ दिनैपर्थ्यो,’ समीरले भने, ‘त्यो खर्च मेरा लागि कम्पनीले किन गर्थ्यो जस्तो लाग्थ्यो।’

वादी/प्रतिवादीसँग जस्तो अन्तर्वार्ता

‘दुईजनाको अन्तरवार्ताको दिन अदालतमा वादी प्रतिवादी राखेर बहस गरेजस्तो भएको थियो। ३/३ जना जज र ५ वटा ग्रुपले घन्टौंसम्म पालैपालो अन्तरवार्ता लिए,’ उनले सुनाए, ‘जीवनमा कहिल्यै त्यस्तो अन्तरवार्ता दिएको थिइनँ।’ समीरको प्लस पोइन्ट के थियो भने, उनले माइक्रोसफ्ट कम्पनीको मात्रै होइन उसको प्रतिस्पर्धी कम्पनी सिस्कोको पनि आर्किटेक्ट लेबलको परीक्षा (उनकै शब्दमा भन्ने हो भने दुवै कम्पनीबारे पिएचडी) पास गरिसकेका थिए।

अन्ततः उनै समीरले २ सय बढी अमेरिकी गोराहरुलाई पछि पार्दै माइक्रोसफ्ट कम्पनीको नेशनल कम्युनिकेसन टेक्नोलोजी स्पेस्लिस्ट पदमा नाम निकाले। ‘अहिले मेरो लेभलमा काम गर्ने त्यो कम्पनीमा ५०/६० जना होलान्,’ गर्व गर्दै उनी भन्छन्, ‘त्यसमा भारतका २/३ जना छन्, नेपालबाट म मात्रै हो, अन्य गोराहरु नै छन्।’ समीरले माइक्रोसफ्टको ‘सुपेरियर टेक्निकल अवार्ड’ पनि पाइसकेका छन्।

८ कक्षामा अध्ययनरत छोरा आर्किटेक्ट इञ्जिनियर!

आफूले सानोमा पाएको दुःख सम्झेर समीरले छोरालाई नियमित अध्ययनसँगै इञ्जिनियरिङको अतिरिक्त कक्षामा भर्ना गराए। ८ कक्षामा अध्ययनरत १३ वर्षीय संस्कार थापाले माइक्रोसफ्टको आर्किटेक्ट परीक्षा पास गरिसकेका छन्। अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामाबाट ६ वर्षको उमेरमै संस्कारले सम्मान थापेको समीर बताउँछन्। ८ कक्षामा पढ्दै गरेका उनले प्रत्येक आइतबार १ घण्टाका दरले १ वर्ष नियमित ट्रेनिङ गरे र परीक्षामा पास पनि भए।

‘छोरा संस्कारलाई अहिले पनि वार्षिक १ लाख डलर तलबको अफर गर्नेहरु थुप्रै आएका छन्,’ छोरालाई देखाउँदै उनले भने, ‘नेपालमा माइक्रोसफ्ट कम्पनीमा आर्किटेक गरेका सायदै होलान्।’ आफ्ना छोराले १३ वर्षमै आर्किटेक पास गरेको देखेर माइक्रोसफ्ट कम्पनीले सम्मानसमेत गरेको समीरले बताए।

'वातावरण बनाइयोस्, नेपाल फर्किएर सेवा दिन्छु'

काम गर्ने वातावरण भए नेपाल फर्किन इच्छुक छन् समीर। नेपालमा रहेर प्रविधिमार्फत कालोधनलाई रोक्न र नेपालको सीमा सुरक्षामा नै प्रविधिको प्रयोग गर्न सकिने उनको भनाइ छ। ‘यहाँ बोर्डरमा पिल्लर सारियो भनेर लडाइँ हुन्छ,’ समीर भन्छन्, ‘नेपाल र भारतका प्राविधिक बसेर डिजिटल सीमा कोरे भइहाल्छ नि! अक्षांश कति? देशान्तर कति? त्यो सब मिलाउन सकिन्छ। त्यसपछि पिल्लर जति सारे पनि डिजिटल प्रमाण हुन्छ, प्रविधिले नियन्त्रण गर्ने हो अब पनि पिल्लर सारेर किला ठोकेर हुन्छ र?’ भ्रष्टाचार नियन्त्रणमा पनि प्रविधिको प्रयोग गर्न सकिने समीर बताउँछन्।

प्रत्येक नेपालीको व्यक्तिगत काम तथा गतिविधि नियन्त्रण प्रविधिले गर्न सक्छ। एउटा नेपालीको विगत र वर्तमान कस्तो हो भन्ने कुरा कम्प्युटरबाट थाहा हुन्छ। सिस्टमबाट कालोधन नियन्त्रण, प्रशासनलाई सक्षम बनाउने, जनतालाई अनलाइन सेवा मिलाउने, मालपोत, सवारी पास, कर अफिस, बिजुलीको बिल तथा टेलिफोन, भन्सारलगायतका कर चुहावट रोक्ने, निर्माण कार्यलाई समयमै सक्ने गरी सिस्टमले बाँध्ने उनको योजना छ।

यति मात्र होइन पफर्मेन्सका आधारमा बढुवा तथा सरुवाको सिस्टमबाट रिपोर्ट लिने र सबै सरकारले नै लेखाजोखा गर्ने गरी कम्प्युटर नेटवर्क सिस्टममा बाँध्न सक्ने उनको दाबी छ। ‘पैसाको कुरा छोडिदियौं, धेरै खर्च पनि हुँदैन मलाई सरकारले काम गर्ने वातावरण दिने हो भने १० वर्षमा पूरै सिस्टम बसाइदिन सक्छु,’ थापाले भने, ‘वातावरण बनाए पुग्छ, अमेरिका छाडेर नेपाल आउन चाहन्छु।’

'ट्रकमा ल्याप्टप ल्याएर नेपालमा बाँड्न सकिन्छ'

अमेरिकाको करिब ६ हजार कम्पनी हेरेर बसेको बताउने थापा नेपाल सरकारले वातावरण बनाएर अमेरिकामा फ्याँकिने तर, नेपालमा उपयोगी हुने खालका हजारौं ल्याप्टप नेपाल ल्याउन सकिने समीर बताउँछन्। उनका अनुसार त्यहाँ उत्पादित ल्याप्टप कम्पनीहरुले कर्मचारीका लागि किन्ने र ३ वर्षपछि त्यसलाई पैसा तिरेर व्यवस्थापन गराई फेरि नयाँ किन्ने गरेका छन्।

त्यसखालका हजारौं ल्याप्टप नेपाल ल्याएर बाँड्न सकिने उनको भनाइ छ। ‘त्यहाँ कम्पनीहरुले पैसा तिरेर ल्याप्टप तह लगाउनुपर्ने बाध्यता छ,’ उनी भन्छन्, ‘हामीलाई त्यो ल्याप्टप भए उपयोगी हुन्छ, नेपालका विद्यालयमा बाँड्न सके विद्यार्थीहरुले ल्याप्टप प्रयोग गर्न पाउने थिए।’

अमेरिकाका केही कम्पनीसँग आफूले कुरा गरिसकेको र सरकारले भन्सार लगायतका कुरामा छुट गर्न सके हजारौं ल्याप्टप ल्याउने उनले बताए । ‘हजारौं कम्पनीले प्रत्येक वर्ष ५० देखि ६० प्रतिशतको हाराहारीमा ल्याप्टप फाल्छन्,’ थापाले भने। यसरी ल्याउने ल्याप्टप नेपालभरका सरकारी विद्यालयलाई ५ देखि १० वटासम्मका दरले बाँड्न सकिने उनको भनाइ छ। ट्रायलको रुपमा अहिले समीरले मोरङका विभिन्न स्कुल तथा छात्राबासमा ल्याप्टप वितरण गरेका छन्।

अन्त्यमा सुझाव

इम्फर्मेसन टेक्नोलोजीको अर्थ नेपालमा राम्रोसँग नबुझिएको उनको जिकिर छ। ‘कम्प्युटर साइन्स विषय पढ्नेले सबै पढेकोजस्तो गरेका छन्,’ उनले भने, ‘आइटी पढेको भनेको छ, आइटीमा कतिवटा विधा हुन्छन्, कति अध्ययन गरेपछि त्यो पूरा हुन्छ भन्ने कुराको ज्ञान त हुनुपर्‍यो नि!’ जुनसुकै विधामा अध्ययन गरेको भए पनि कम्प्युटर इन्जिनियरिङका लागि पर्याप्त व्यावहारिक शिक्षा हुनु आवश्यक रहेको उनको बुझाइ छ। ‘हरेक विषय अध्ययन गर्दा टार्गेट बनाउनु आवश्यक छ। हामी सबैले दक्षताका लागि जोड दिने हो, सर्टिफिकेट चाहिन्छ, महत्वपूर्ण पनि हो तर, काम गर्ने भनेको प्राक्टिसले हो, प्राक्टिसमा जोड दिनु आवश्यक छ,’ थापाले भने।

अभिभावकहरुलाई पनि उनको सुझाव छ। भन्छन्, 'छोराछोरीलाई जबरजस्ती पढाउने होइन, उनीहरुको इच्छा के छ त्यो अनुसार छाडिदिनुपर्छ।’  नेपाल ठूला-ठूला भनिएका कलेजहरुले कम्प्युटरमा फलानो विद्यार्थीले फस्ट डिभिजन, फलानोले विशिष्ट श्रेणी ल्याएको भनेर प्रचार गर्दा उनलाई अचम्म लाग्छ। निजी विद्यालयहरुको यस्तो प्रचारको पछाडि अभिभावकहरु दौडनु नहुने उनको सुझाव छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.