|

चितवन : संरक्षित वन्यजन्तुको आवतजावत हुने क्षेत्र टिकौलीस्थित जैविकमार्गको सुरक्षा प्रभावकारी भएको छ। ‘अस्थायी सुरक्षा चौकी’ स्थापना गरेपछि यहाँबाट आवतजावत गर्ने सवारीसाधनका चालकहरूले लापरबाही गर्न छोडेका छन्। 

‘अहिले यो क्षेत्रमा सवारी रोक्ने क्रम पूर्ण रूपमा नियन्त्रणमा आएको छ’, चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलले भने, ‘संवेदनशील क्षेत्रको सुरक्षामा कडाइ गर्न थालेका छौं।’

सवारी साधन तीव्र गतिमा चलाउने र जथाभावी रोक्ने कारण वन्यजन्तुको ज्यान जोखिममा परेपछि यहाँ यस्तो अभियान थालिएको हो। साउन १ गतेबाट सञ्चालनमा आएको अस्थायी सुरक्षा चौकीमा सेना, जिल्ला वन कार्यालय र सशस्त्र वन रक्षकले निगरानी गर्ने गरेको छ।

चितवन राष्ट्रिय निकुञ्ज, जिल्ला वन कार्यालयको सहकार्यमा सुरु गरिएको अभियानअन्तर्गत यो क्षेत्रमा जथाभावी फोहोर फाल्नेविरुद्ध समेत कारवाही गरिन्छ। 

चितवन निकुञ्जका सहायक संरक्षण अधिकृत अभिनय पाठकले यो क्षेत्रमा गाडी रोक्ने मोटरसाइकललाई १००, साना सवारी साधनलाई ५०० र ठूला गाडीलाई १ हजार जरिवाना लिने गरेको जानकारी दिए। 

साउन १ देखि ५ गतेसम्मको पाँच दिनको अवधिमा एक सयभन्दा बढी सवारी कारवाहीबाट झण्डै एक लाख रुपैयाँ राजस्व संकलन भएको निकुञ्जले जनाएको छ। सवारी साधनको गति नियन्त्रण भने हुने सकेको छैन। 

चितवन निकुञ्ज र महाभारत पर्वत जोड्ने मुख्य जैविक मार्ग(कोरिडोर) चितवनको टिकौली जंगल हो। पूर्व–पश्चिम राजमार्गमा पर्ने करिब पाँच किलोमिटर क्षेत्र अति संवेदनशील छ। दिउँसै पनि यहाँ वन्यजन्तु आवतजावत गरिरहेका देखिन्छन्।  
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.