|

बारपाक  :  यहाँका एक युवा केसीराम घलेले बारपाकमै बेकरी उद्योग सञ्चालन गरेर मासिक २ लाख रुपैयाभन्दा धेरै आम्दानी गर्ने गरेका छन्। भारतमा सिकेर केही समय काठमाडौंमा काम गरी बारपाकमा व्यवसाय सञ्चालन गरेका उनले बारपाकमा बेकरी उद्योग नै चलाएका छन्। दैनिक ८ देखि १० हजार रुपैयाँसम्म आम्दानी गरिरहेको उनी बताउँछन्।

बेकरीबाट रामै्र भएको छ’ उनी भन्छन्, ‘यहाँ साना ठूला गरेर दर्जनौं उद्योगहरु सञ्चालनमा छन्। तर, अरूले भन्दा केही फरक पनि गरौं भनेर बेकरी उद्योग चलाएको हुँ।  दिनमा ८ हजार त कहिल्यै घट्दैन। इन्डियामा कुकसम्बन्धी तालिम सिकें, बेकरीसम्बन्धी काम कसरी गर्ने भन्नेबारे पनि सिकें। उद्योग नै चलाए कस्तो होला भनेर पनि बुझेर आएर सञ्चालन गरेको राम्रो भएको छ।’

उनको बेकरीमा बनेको परिकारहरु बिक्रीका लागि उनी बारपाक गाउँ–गाउँ धाउनुपर्ने बाध्यता पनि छैन। बारपाकीहरु उनकै उद्योेगसम्मै किन्नको लागि पुग्ने गरेका छन्। भूकम्पपछि बारपाकमा आन्तरिक तथा बाह्य मानिसहरुको आउजाउ बढेकोले पाउरोटीहरुको माग बढेको उनी बताउँछन्। अझै पनि बारपाकमा सञ्चालनमा रहेका सबै होटलहरुले उनको बेकरीबाट परिकारहरु नल्याउने गरेको उनले गुनासो गरे।

‘यहाँका सबै होटलहरुले म कहाँबाट सामान लैजाँदैनन्’ घलेले भने ‘उनीहरुले बासी केहि दिन अघि बनेको तल गोरखा, छेपेटारबाट ल्याउँछन्। मैले बिहान बनाएर बिहानै उनीहरुले पाउने सुविधा दिँदा पनि केही व्यवस्थापन मिलिरहेको छैन। तर पनि आम्दानीको हिसाबले सन्तुष्ट छु।’

 घलेले उद्योगमा बनाउने सबै खाद्यान्न परिकारहरु विद्युतीय मेसिनबाट बनाउने गरेका छन्। उनको उद्योगमा पप, सुख्खा केन, वर्थ डे केक, दुनोट, पाउरोटी लगायतका परिकारहरु बन्ने गरेको सुनाए। भुकम्पले उद्योगमा पुर्‍याएको क्षति र करिब एक वर्ष बन्द हुँदा उनलाई केही घाटा लागेको उनले सुनाए। उनले स्थानीय बौद्ध सहरकारी संस्थाबाट सात लाख रुपैँया ऋण लिएर धनपूर्ण बेकरी उद्योग सञ्चालन गरेका हुन्। 

‘भूकम्पले गर्दा उद्योग रहेको घर भत्कियो। एक वर्षसम्म बनाउने सुरसारै आएन। अहिले  फेरि १० वर्षका लागि जग्गा भाडामा लिई उद्योग सुरु गरेको हुँ’ उनले भने। घलेले १० वर्षका लागि मासिक १२ सय रुपैँया तिर्ने गरी जग्गा भाडामा लिएर उद्योगलाई निरन्तरता दिएका हुन्। उनले ५ लाख ५० हजार रुपैयाँ लगानी गरी उद्योग सञ्चालनमा ल्याएका हुन्। उनको उद्योगमा उनीसँगै काम गर्ने एक कर्मचारी पनि छन्। उनलाई खाना बस्न दिएर मासिक ६ हजार तलबमा उनले राखेका हुन्।

उनले उद्योगमा बनेका सामानहरु बिक्रीका लागि गाउँले तथा  होटल व्यवसायीहरु उद्योगमै आउँछन्। यहाँ आउने पाहुनाका लागि गोरखा, छेपेटार लगायतका बजारबाट खाजाका लागि पाउरोटी, केकहरु ल्याउने गरेपछि उनले बारपाकमै ती सामानहरु उत्पादन गर्न थालेका हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.