|

दमक : पछिल्लो समयमा झापाको पूर्वी नाका काँकडभिट्टालाई लागुऔषध प्रयोगकर्ता र कारोबारीले सेन्टर र सुरक्षित स्थान ठानेर कारोबार बढाउँदै लगेका छन्। लागुऔषध प्रयोग र कारोबार गर्नेको संख्या दैनिक बढ्दै गएपछि काँकडभिट्टा नाका उनीहरुका लागि सुरक्षित गन्तव्य बन्दै गएको हो। खुला सीमा, सीमावर्ती भारतीय बजारमा लागुऔषध सहज र सुलभ मूल्यमा उपलब्ध हुँदा यसमा संलग्नहरुले यो नाका रोजेको प्रहरीको अनुमान छ।

भारतसँग सीमा जोडिएका झापाका नाकाहरुबाट दैनिक १० देखि २५ जनासम्म लागुऔषध प्रयोगकर्ता र कारोबारमा संलग्नहरु लागुऔषध नियन्त्रण ब्युरो तथा प्रहरीको फन्दामा पर्ने गरेका छन्। पूर्वमा लागूऔषध कारोबार हुने मुख्य स्थान सीमावर्ती भारतीय बजार पानीट्यांकी भएकाले नेपालका विभिन्न स्थानबाट दैनिक चार दर्जनबढी सेवनकर्ता तथा कारोबारीहरु लागुऔषध प्रयोग तथा किनमेलका लागि त्यहाँ पुग्ने गरेको प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय काँकडभिट्टाका अनुसार पक्राउ परेकामध्ये मासिक कम्तीमा १५ जना ओसारपसार तथा कारोबारमा संलग्नहरुलाई मुद्दा चलाउने गरिएको छ। काँकडभिट्टास्थित मेचीपुललगायत अन्य ग्रामीण क्षेत्रका विभिन्न नाकामा लागुऔषध नियन्त्रण ब्युरोले प्रहरी तैनाथ पारे पनि कारोबारीहरुले कुनै न कुनै नाकाबाट विभिन्न तौरतरिका र माध्यमबाट लागुऔषध ल्याउने गरेको इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी नायब उपरीक्षक दुर्गाराज रेग्मीले बताए।

 उनले भने, ‘हामीले लागुऔषध नियन्त्रण ब्युरोसँग निरन्तर सहकार्य गरिरहेका छौं, पछिल्लो समय त धेरै पक्राउ पनि पर्दै छन् तर, अझै पनि कुनै न कुनै ठाउँबाट लागुऔषध भित्र्याइरहेका छन्, हामीले सुरक्षा व्यवस्था पनि कडा परेका छौं।’

सीमावर्ती पानी ट्यांकीमा गएर लागुऔषध प्रयोग गर्नेको पनि त्यतिकै भीड रहेको प्रहरी स्रोतको भनाइ छ। भारततर्फ सहज हुने भएकाले पनि प्रयोकर्ताहरु भारततर्फ गएको प्रहरीको भनाइ छ।

फेनारगन, लुपिजेसिक, डाइजिपाम, नाइट्रोजन, कोरेक्स, फेन्सिडल लगायतका औषधिजन्य लागुऔषध नेपाली बजारमा बेचबिखन गर्न प्रतिबन्ध भए पनि सीमावर्ती भारतीय बजारमा सहजरुपमै फाइदा नेपालमा पनि काराबारीहरुले भित्र्याउनु प्रयास गरिरहेको उनले बताए। यसैकारण नेपाली लागुऔषध प्रयोगकर्ता तथा त्यसमा संलग्न कारोबारीहरु भारतीय बजार धाउने अनि  ठूलो संख्यामा लागुऔषध नेपाल भित्र्याउने गरेको रेग्मीको दाबी छ।

यसरी भित्र्याइएका लागुऔषध पूर्वी पहाडी जिल्ला इलाम पाँचथर, ताप्लेजुङदेखि पूर्वकै बिर्तामोड, दमक, इटहरी धरानलगायत झापा जिल्लाकै गाउँ बस्तीमा समेत खपत हुने प्रहरीको दाबी छ।

खुला सीमा, सीमावर्ती भारतीय बजारमा लागुऔषध सहज र सुलभ मूल्यमा उपलब्ध हुनुले नै यो नाका यसमा संलग्नहरुले रोजेका हुन् सक्ने लागुऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाका  शाखा प्रमुख प्रहरी नायव निरीक्षक किशोर श्रेष्ठको अनुमान छ। यस नाकाबाट दैनिक १० देखि २५ जनासम्म यसमा संलग्नहरु प्रहरीको फन्दामा पर्ने गरेका उनले बताए।

मेचीपुललगायत ग्रामीण क्षेत्रका विभिन्न नाकामा ब्युरोले प्रहरी तैनाथ पारे पनि कारोबारीहरुले कुनै न कुनै नाकाबाट कहिले शरीरका विभिन्न स्थानमा कहिले रिक्साका सिट अनि कहिले ज्याकेटको भित्री गोजीमा लुकाएर लागुऔषध ल्याउने गरेको श्रेष्ठले बताए। उनले भने, ‘हामीले चेकिङमा कडाइ गरेका छौं, तर पनि कारोबारीले चलाखि गरेको देखिन्छ।’

उत्तरमा झापा जिल्लाको सिमाना इलामको जिर्मलेदेखि दक्षिणमा मोरङ जिल्लासम्मको १ सय १८ किलोमिटर खुला बोर्डरको फाइदा उठाउँदै कारोबार गरेपछि खुला सीमा नै लागुऔषध नियन्त्रणको प्रमुख समस्या रहेको उनी बताउँछन्। पूर्वमा लागुऔषध कारोबार हुने मुख्य स्थान सीमावर्ती भारतीय बजार पानीट्यांकी भएकाले नेपालका विभिन्न स्थानबाट दैनिक पाँच दर्जनबढी सेवनकर्ता तथा कारोबारीहरु लागुऔषध प्रयोग तथा किनमेलका लागि त्यहाँ पुग्ने गरेको ब्युरोले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.