|

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले अब छिट्टै प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको मिति घोषणा हुने बताएका छन्। प्रधानमन्त्री देउवाले प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएपछि मात्रै मुलुक स्थायी रुपमा संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गर्ने पनि स्पष्ट पारे।

नेपालको पहिलो जननिर्वाचित प्रधानमन्त्री एवं नेपाली कांग्रेसका संस्थापक बिपी कोइरालाको ३५औं स्मृति दिवसको अवसरमा शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनलाई समयमै सम्पन्न गर्न सरकारले निर्वाचन क्षेत्र निर्धारण आयोग गठन गरिसकेको पनि जानकारी दिए।

कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले स्थानीय तहको दुई चरणको निर्वाचनमा पार्टीलाई केही क्षति भएको उल्लेख गर्दै त्यसको पूर्ति हुने गरी तेस्रो चरणको निर्वाचनका लागि आवश्यक रणनीति तय गरिएको पनि स्पष्ट पारे। उनले सिंगै मुलुकलाई प्रजातान्त्रीकरण गर्न पनि कांग्रेस विजयी हुनुको विकल्प नरहेको बताए।

कार्यक्रममा प्रधानमन्त्री देउवाले गिरिजाप्रसाद कोइरालाको विशेषांक ‘चिन्तन’ को पनि विमोचन गरेका थिए। प्रजातान्त्रिक विचार समाजले प्रकाशन गरेको विशेषांकमा गिरिजाप्रसाद कोइरालाले नेपालको लोकतान्त्रिक आन्दोलनमा पुर्‍याएको योगदानलाई समेट्ने प्रयास गरिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.