|

पर्वत : शिक्षक नारायण पौडेलको मृत्युको विषयमा जिल्ला प्रहरी कार्यालय पर्वतले गर्दै आएको अनुसन्धान अब जिल्ला प्रहरी कार्यालय बागलुङले हेर्ने भएको छ। जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायव उपरीक्षक (डिएसपी) शेखर खानलका अनुसार पौडेलको मृत्युको विषयमा तयार पारिएको सक्कल मिसिल फाइल र पक्राउ परेका तीनजना प्रतिवादीहरुलाई बागलुङ प्रहरीमा पठाइएको छ। शिक्षक पौडेलको शव बागलुङको जैमुनी नगरपालिका अन्तर्गत बेलबगर भन्ने स्थानमा कालीगण्डकी नदी किनारमा भेटिएको थियो।

सोहीअनुसार सरकारी वकिलको कार्यालय पर्वतले वारदातस्थल पर्वत नभई बागलुङ भएकोले मुलुकी ऐन अदालती बन्दोबस्तीको २९ नं. को (२) अनुसार सोही इलाकाको अड्डाबाट हेर्नुपर्ने बताउँदै मिसिल र प्रतिवादीहरु विद्यालयका प्रिन्सिपल बिमल पौडेल, अभिभावक देउकुमार श्रेष्ठ र चन्द्रमान प्रधानलाई बागलुङ पठाउन भनी सुझाव दिएको थियो।

प्रहरीका अनुसार हालसम्म उक्त मृत्यु प्रकरणको विषयमा पर्वत प्रहरीले गर्दै आएकोमा अब भने पर्वत प्रहरीको सहयोगमा बागलुङ प्रहरीले अनुसन्धान अगाडि बढाउने छ । पोष्टमार्टम रिपोर्टमा पौडेलको मृत्यु घाँटीमा रहेको चोटको कारण भएको हुन सक्ने उल्लेख गरिएको छ।

पौडेलका आफन्त र स्थानीयबासीहरुले उनको हत्या गरिएको भन्दै छिटो सत्यतथ्य पत्ता लगाउन माग गरिरहेका छन्। कुश्मा नगरपालिका वडा नं. १ पाङ घर भई कुश्मा नगरपालिकाकै कुटवाचौपारीमा रहेको आइबल एकेडेमीमा अध्यापनरत २० वर्षीय पौडेलले विद्यार्थीलाई यातना दिएको भन्दै विद्यालय प्रशासनले छलफलका लागि उनलाई बोलाएको थियो। तर, उनी सोही समय जेठ २५ गतेबाट बेपत्ता रहेकोमा असार ७ गते मृत अवस्थामा भेटिएका थिए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.