|

काठमाडौं : यू-१९ विश्वकप क्रिकेट छनोट प्रतियोगितामा नेपालले तेस्रो जित दर्ता गरेको छ। सिंगापुरमा शुक्रबार भएको खेलमा नेपालले घरेलु टोलीलाई २२ रनले पराजित गर्‍यो। 

नेपालले प्रस्तुत गरेको १६९ रनको लक्ष्य पछ्याएको सिंगापुर ४६ ओभर ५ बलमा १४६ रन जोड्दा अलआउट भयो। उसलाई लक्ष्यसम्म पुग्न नदिनेक्रममा कप्तान सन्दीप लामिछानेले ४, पवन शर्राफ र किशोर महतोले समान २ तथा दीपेन्द्रसिंह ऐरीले १ विकेट लिए। सिंगापुरका हंसुल दीपले सर्वाधिक ३२ रन जोडे।

यसअघि पहिले ब्याटिङ गरेको नेपाल ४६ ओभर ५ बलमै १६८ रन जोड्दा अलआउट भएको थियो। नेपालको पारीमा दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ५४, सन्दीप सुनारले २६ तथा प्रकाश केसीले २३ रनको योगदान गरे। अन्य ब्याट्सम्यानले भने दोहोरो अंकमा रन जोड्न सकेनन्।

सिंगापुरका विक्रम वीर विश्वारेले सर्वाधिक ३ विकेट लिए।

यसअघि खेलेका ३ खेलमध्ये नेपाल २ मा विजयी र १ मा पराजित भएको थियो। अंकतालिकाको शीर्ष स्थानमा अपराजित टोली अफगानिस्तान छ। नेपाल दोस्रो, सिंगापुर तेस्रो र मलेसिया अन्तिम स्थानमा छन्।

राउण्ड रोविन लिगका आधारमा खेलाइएको प्रतियोगितामा चारवटै टोलीले एक/अर्कासँग दुई-दुई खेल खेलिसक्दा अंक तालिकाको शीर्ष स्थानमा रहने टिम सन २०१८ को जनवरीमा न्यूजिल्याण्डमा हुने यू-१९ विश्वकपका लागि छनोट हुनेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.