|
फोटो : रासस

काठमाडौं : पूर्वराष्ट्रपति डा. रामबरण यादवले मुलुकलाई जोड्न आफूले तराई, पहाड र हिमालको एकताको कुरा गर्दा ‘पहाडेको दलाल’ भनेर आरोप खेप्नुपरेको गुनासो गरेका छन्।

पूर्वसांसद एवम् लेखक पुरुषोत्तम बस्नेतद्वारा लिखित ‘नेपाली कांग्रेसको इतिहासको प्रारुप’ (भाग –२) पुस्तकको शुक्रबार राजधानीमा विमोचन गर्दै पूर्वराष्ट्रपति डा. यादवले भने ‘म राष्ट्रपति हुँदा वा नहुँदा सँधै मुलुकलाई जोड्ने काममा थिएँ तर मलाई पहाडेको दलाल भनियो, यथार्थमा म राष्ट्रको दलाल  हुँ।’

नेपाली कांग्रेसका संस्थापक नेता बीपी कोइरालाको ३५ औं स्मृतिका अवसरमा कांग्रेसकै बारेमा लेखिएको पुस्तक बिमोचन गर्न आफू जान मिल्ने कि नमिल्ने भन्ने द्विविधामा परेको जनाउँदै उनले मुलुकवासीलाई जोड्न खोज्दा दलालको आरोप खेप्नुपरेको दावी गरे।

‘मैले संविधान जारी हुनुअघि नैं तत्कालिन प्रधानमन्त्री डा. बाबुराम भट्टराई, माओवादी अध्यक्ष पुष्पकमल दाहाल, कांग्रेस सभापति सुशील कोइराला र एमाले अध्यक्ष केपी ओलीलाई २० सांसद लिएर तराई डुल्नुहोस भन्दा टेरेनन्’, यादवले भने ‘तर उहाँहरुले मेरो कुरा नसुनी राजधानीमा बस्नुभयो, जसले गर्दा आज मधेसलाई जोड्ने हिम्मत कसैमा छैन।’

उनले प्रमुख राजनीतिक दलतर्फ संकेत गर्दै भने ‘हेक्का राख्नुहोला तराई पनि यो मुलुक भित्रकै भूगोल हो।’ आफूले तराईका २० जना नेतालाई पहाड र पहाडका २० नेतालाई तराईमा उम्मेदवार बनाएर देखाउँ, त्यसले एकताको सन्देश जान्छ भन्दा नटेरेको दुखेसो समेत गरे।

तीन प्रमुख दल एकै ठाउँमा आउ

कार्यक्रममा गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा. यादवले हतार गरेर संविधान जारी गर्ने प्रमुख तीन दल मिलेर मुलुकमा राजनीतिक स्थिरता ल्याउनुपर्ने बताए। उनले भने ‘कांग्रेस, एमाले र माओवादी मिलेर तीन वटै निर्वाचन गर्नु पर्छ नत्र यहाँ भूतहरुले समस्या सिर्जना गर्नेछन्।’

आफूले दुई नम्बर प्रदेशमा सिन्धुली, दोलखा रामेछाप, सिन्धुली, खोटाङ र ओखलढुंगा जस्ता पहाडी जिल्लालाई राख्न गरेको आग्रह प्रमुख तीन दलले नैं नमान्दा मुलुक जोड्न नसकिएको बताए। उनले भने ‘यी सवै जिल्लाको पायक पर्ने ठाउँ जनकपुर नैं हो।’ अहिले पनि मुलुकमा हिन्दुवादी र पूर्वराजावादीको भूत चुनौतीको रुपमा राष्ट्रसामू खडा भएको उनले बताए। ‘मैले उठाएका यस्ता प्रश्नहरुको प्रमुख तीन दलका कुनै पनि नेताले जवाफ दिएनन्’,पूर्वराष्ट्रपति यादवले भने। 

समानुपातिक चयन सबै यस्तो.....को खेल हो

प्रथम राष्ट्रपति यादवले राजनीतिक अस्थिरता र विकृतिको कारण समानुापतिक प्रतिनिधित्व पनि भएको जनाएका छन्। ‘समानुपातिक भनेर कांग्रेसले कस्तो मान्छे ल्याउँछ त भन्दा सबै यस्तो ....(दाहिने हातको बुढी र चोरी औंलाले नगद गनेको नक्कल गर्दै) मान्छे।’

उनले कांग्रेसले समानुपातिक सांसद छनौट गर्ने कार्यमा ढंग नपुर्‍याएको भन्दै कांग्रेसका नेता कार्यकर्ता अल्छे भएको र पढ्न छाडेको बताए। समानुपातिक सांसदको चयन गर्ने बिषयमा अन्य दलले पनि कमजोरी देखाएको पनि उनले बताए।

पहिले ढेला पनि कांग्रेस थियो, तराईमा

‘२०४६ सालको जनआन्दोलनपछि तराईमा कांग्रेसको वर्चश्व त के ढेला (माटो डल्ला) पनि कांग्रेस थियो’, डा. यादवले भने ‘अहिले हेर्नुस् त तराईबाट कांग्रेसलाई जिताउन पर्‍यो भनेर राजधानीमा अहिले बैठक गर्नुपर्ने अवस्था आएछ।’

कार्यक्रममा उनले तराईमा वोधप्रसाद उपाध्याय, महेन्द्रनारायण निधि, सरोजप्रसाद कोइराला जस्ता व्यक्तिले तराईमा संगठन विस्तार गरी कांग्रेसलाई मजबुत बनाएको बताए।

लोकतन्त्र कमजोर  हुँदैछ

सत्तारुढ नेपाली कांग्रेस र माओवादी केन्द्रकै गतिविधिप्रति असन्तुष्ट बनेका पूर्वराष्ट्रपति डा. यादवले लोकतन्त्रलाई कमजोर बनाउने काम सत्ता पक्षबाटै भएको बताए। ‘कांग्रेस संस्थापक बीपी कोइराला अदालतमा निवेदन हालेर बहस गर्थे। उनले प्रधानन्यायालय स्थापना गरी हरिप्रसाद प्रधानलाई प्रधानन्याधीश बनाएका थिए’, यादवले भने ‘बीपीले चाहेको भए आफूले रोजेर न्यायाधीश सिफारिस गर्न सक्थे तर गरेनन्।’ उनले वीपीले अदालतप्रति देखाएको श्रद्धा र सम्मान अहिलेका नेतामा नरहेको दावी गरे।

‘आज हेर्नुस त विश्वविद्यालयमा, राजदूतमा पार्टीका मान्छे खोजेर भर्ना गरिन्छ’, यादवले प्रश्न गरे ‘यस्ता प्रवृत्तिले के लोकतन्त्र र लोकतान्त्रिक प्रणालीले काम गर्न सक्छ र?’

दुई नम्बर प्रदेशमा कांग्रेसले बहुमत ल्याउँछ : शशांक कोइराला

कार्यक्रममा बीपी पुत्र तथा कांग्रेस महामन्त्री डा. शशांक कोइरालाले स्थानीय तहको तेश्रो चरणमा दुई नम्बर प्रदेशमा हुने स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसले बहुमत ल्याउने दाबी गरे। 

महामन्त्री कोइरालाले भने ‘इतिहासको कालखण्डमा कांग्रेसले धेरै चुनौती बेहोरेको छ तर हेर्दै जानुस तराई/मधेशमा हुर्किएको कांग्रेस दुई नम्वर प्रदेशमा बहुमत ल्याउँछ।’ उनले जीवनभर संघर्ष र चुनौती बेहोरेका बीपीले गणेशमान सिंह जस्तो मित्र पाएकोले सफल भएको बताए।

कांग्रेसको नेतृत्व कमजोर

कार्यक्रममा पूर्वसभामुख दमननाथ ढुंगानाले बीपी जस्तो नीति निर्माता र कार्यान्वयनकर्ताका अनुयायी भन्ने कांग्रेसका नेताहरुले संविधानको स्वीकार्यतालाई बढाउन भूमिका खेल्न नसकेको बताए। उनले भने ‘मधेसको समस्या मधेसी समुदाय, राजपा वा कुनै भूगोलको मात्र होइन, राष्ट्रियतको सवाल पनि हो।’

अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बीपीले सोचेको जस्तो आर्थिक समाजवादी नीति कार्यान्वयन गर्न डरलाग्दो तरिवाले बढेदै गएको ब्यापारा घाटा कम गर्नु पर्नेमा जोड दिए।

बीपी अपदस्त नभएको भए भारत चीन युद्ध रोकिन्थ्यो

पुस्तक बिमोचन कार्यक्रममा पुस्तकका लेखक पुरुषोत्तम बस्नेतले बीपी कोइराला २०१७ सालमा प्रधानमन्त्रीबाट अपदस्त नभएको भए भारत र चीनको युद्ध रोक्न सकिने दावी गरे। बीपी नेपालको प्रधानमन्त्री भएको भए भारत र चीन दुबैलाई युद्ध नगर भनेर कन्भिन्स गर्ने उनले बताए। उनले पुस्तकमा २०११ देखि २०१७ सालसम्मको नेपालको राजनीतिक इतिहासलाई समेटिएको बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.