छिटो निर्णयको प्रतीक्षामा मतदाता

|

चितवन : चितवनको भरतपुर महानगरपालिको वडा नम्बर १९ मा मतगणना कि मतदान भन्ने विषयको मुद्दा सर्वोच्च अदालतमा लामो समयदेखि विचाराधीन हुँदा अहिले यहाँको चहलपहल सुनसान भएको छ। सर्वोच्चबाट समयमै फैसला नआएका कारण चितवनको भरतपुर महानगरपालिकाको वडा नम्बर १९ मा गतविधिहरु शून्यप्रायः भएको छ। यसअघि, निर्वाचन आयोगले पुनः मतदानको निर्णय गरेसँगै सर्वोच्चमा मुद्दा परे पनि त्यसको एक महिना चहलपहल बाक्लो थियो।

‘मुद्दा चल्दै गर्दा पनि यहाँ काँग्रेस माओवादी र एमालेका उम्मेदवारसहित नेता कार्यकर्ताले चुनावी प्रचार तीव्र पारेका थिए, अहिले फैसला नआउँदा सुनसान छ, स्थानीय राजुभक्त दुलाल भन्छन्। फाट्टफुट्ट केही नेता देखिन्छन्। तर, जमात बनेर चुनावी प्रचारमा कुनै दल हिँडेका छैनन्।

बरु दलका नेताहरु अहिले निर्वाचन आयोगले सुरु गरेको मतदाता नामावली संकलनमा सक्रिय हुन थालेका छन्। दलका नेता कार्यकर्ताहरु आफ्नो मत संरक्षण गर्न मतदाताहरुलाई भरतपुर ल्याउने नामावली लेखाउँदै फर्कने गरेको देखिएको लम्साल बताउँछन्। अर्का मतदाता उदयराज पराजुली भरतपुर १९ मा पहिलेको जस्तो उत्साह नभएको बताउँछन्। दलका निर्वाचन कार्यालयहरु सुनसान रहेको उनले सुनाए।

‘म्याद सरेको सरै सरेको सरै, के होला भन्ने छ, त्यसैले सुनसान नै छ अहिले’ पराजुलीले भने। केही मतदाता खेत रोप्ने काममा व्यस्त छन्। कतिले राम्ररी पानी नपरेकाले अझै खेत रोप्न पाएका छैनन्। फाट्टटफुट्ट रोपाइँ भइरहेको पराजुली बताउँछन्।

‘छिटो निर्णय भइदिए हुन्थ्यो, सर्वोच्चको कुरा के जानम् र,’ उनले भने। सबै मतदाताहरु छिटो निर्णयको अपेक्षामा छन्। अदालतमा मुद्दा हाल्ने एमालेका वडा सदस्यका उम्मेदवार गुञ्जमान विक पनि सर्वोच्चको ढिलाइले खुसी देखिँदैनन्।

४०÷५० हजार चुनावमा सकिहाल्यो, हामी गरिबलाई त गाह्रो छ, उनले दुःखेसो गर्दै भने, ‘राजनीतिमा हामी दलितलाई कि राम्रो कमाइ हुनुपर्यो नत्र समस्या छ।’ अदालतले निर्णय ढिलो गर्दा आपूmलाई पनि निराश पारेको उनीको गुनासो छ।

अर्का कांग्रेसबाट वडा सदस्यकी उम्मेदवारसमेत रहेकी साधना पराजुली पनि निराश नै छन्। अनिर्णयको बन्दी हुँदा उनी पनि खुसी छैनन्। दिन तोक्ने मात्रै काम भइरहेको छ, अब त मतदाताको अगाडि के भनेर जाने, तैपनि अलिअलि भेटघाट भैरा छ।’ उनले भने। भरतपुर १९ को माहोल नै नतातेको उनको भनाइ छ।

गएको जेठ १४ गते पौने १२ बजे राति भरतपुर १९ को मतगणनाकै क्रममा ९० मतपत्र च्यातिएको थियो।  निर्वाचन आयोगले भरतपुर वडा नम्बर १९ मा पुनः मतदानको निर्णय गरेको थियो।

आयोगको निर्णयविरुद्ध एमालेले पुनः मतगणनाको माग गर्दै सर्वोच्चमा मुद्दा हालेको छ। एमाले भरतपुर १९ का सदस्यका उम्मेदवार गुञ्जमान विक र अधिवक्ता तुलसीराम पाण्डेले मुद्दा दर्ता गरेपछि सर्वोच्च अदालतले मतदान अघि नबढाउन आदेश दिएको उक्त मुद्दा झन्डै २ महिनादेखि विचाराधीन छ। पछिल्लो सुनुवाइ साउन ८ मा तोकिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.