उन्मुक्ति दिने प्रहरीलाई विभागीय कारबाही

|

रुपन्देही : रुपन्देहीको मर्चवार क्षेत्रमा पर्ने सम्मरीमाई गाउँपालिकामा युवतीलाई निर्घात कुटपिट गर्नेविरुद्ध प्रहरीले ज्यान मार्ने उद्योगमा मुद्दा चलाएको छ। प्रेम गरेको भन्दै युवतीमाथि निर्घात कुटपिट गरेको भिडियोसहितको समाचार सार्वजनिक भएपछि घटनामा संलग्न पाँच जनाविरुद्ध ज्यान मार्ने उद्योगको मुद्दा दर्ता गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख रविन्द्र घानुकले बताए।

घटनामा संलग्न भएको आरोपमा युवतीका बुवा सम्मरीमाई गाउँपालिका ६ का ४६ वर्षीय इन्नर यादव, १८ वर्षीय दिनेश यादव, ५५ वर्षीय लालमोहन अहिर यादव, उनकी श्रीमती र स्थानीय २५ वर्षका पशुपति कोइरीविरुद्ध जिल्ला अदालत रुपन्देहीमा मुद्दा दर्ता भएको छ। 

घानुकका अनुसार घटनालाई कमजोर बनाएर पीडकलाई छुटकारा दिने इलाका प्रहरी कार्यालय मर्चवारका प्रमुख इन्स्पेक्टर उदयसिंह सिजापतिलाई बिभागीय कारबाही अघि बढेको छ। 

सिंजापतिले कानुनअनुसार कारबाही अघि बढाउनुपर्नेमा लापरबाही गरेको भन्दै स्पष्टीकरण सोधेको र जिल्ला प्रहरी कार्यालयमा तानेर विभागीय कारबाही अघि बढाएको घानुकले बताए। 

असार १९ गते ‘तल्लो जात’को युवासँग प्रेम गरेको भन्दै सम्मरीमाई गाउँपालिका ६ डिहुलीकी एक यादव थरकी युवतीलाई उनका बाबु र परिवारका अरु सदस्यले निर्घात कुटपिट गरेका हुन्। 

बालविवाह पछि घरमा बस्दै आएकी उनले स्थानीय २० वर्षका दिनेश लोधसँग प्रेम गरेको भन्दै गाउँको चौराहामा निर्घात कुटपिट गरेको भिडियो नै सार्वजनिक भएको थियो। असार १९ गतेको घटना भएपनि स्थानीयले मोबाइलमा खिचेको भिडियो बिहीबार मात्रै बाहिर ल्याएका हुन्।  

कसरी भयो घटना? 

असार १९ गते सबिरा यादव (नाम परिवर्तन) र दिनेश लोधबीच भेटघाट हुने युवतीका परिवारले चाल पाए। सबिराको सानैमा अर्कै युवकसँग बिहे भइसकेको थियो तर उनी युवकको घर गएकी थिइनन्। परम्पराअनुसार गौना भएको थिएन। युवतीका परिवारले आफ्नी छोरीसँग प्रेम गरेको भन्दै दिनेशलाई नियन्त्रणमा लिए। दिनेशलाई सबिराले बचाउने प्रयास गरिन्। युवकलाई बचाउन खोज्दा युवतीलाई उनका परिवारले निर्घात कुटपिट गरे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.