|

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीले पहिलो र दोस्रो चरणमा पार्टीले व्यहोर्नुपरेको हारको कारण पत्ता लगाउन समिति गठन गरेको छ। साउन ५ गतेदेखि काठमाडौंमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पार्टी महामन्त्री ध्रुवबहादुर प्रधानको संयोजकत्वमा समिति गठन गरेको हो। उक्त समितिलाई एक महिनाभित्र पहिलो प्रतिवेदन पेश गर्न र दोस्रो चरणको चुनाव सकिएपछि असोज १५ गतेभित्र अन्तिम प्रतिवेदन दिने कार्यादेश रहेको पार्टी अध्यक्ष कमल थापाले जानकारी दिए।

'निर्वाचनमा प्राप्त अनपेक्षित र अप्रत्याशित परिणाम एवं असफलताका कारणहरुबारे गहिरो अध्ययन अनुसन्धन गरी एक महिनाभित्र सुझावसहितको प्रतिवेदन पेश गर्न महामन्त्री ध्रुवबहादुर प्रधानको संयोजकत्वमा गठित समितिलाई बैठकले निर्देशन दिएको छ' राप्रपाको निर्णयमा भनिएको छ। राप्रपाले पहिलो चरणको स्थानीय तह निर्वाचनमा एउटा गाउँपालिकाको अध्यक्ष जितेको थियो भने दोस्रो चरणको निर्वाचनमा ४ स्थानीय तहमा प्रमुख/अध्यक्ष पद जितेको छ।

राप्रपाले प्रदेश सभा र प्रतिनिधि सभाको आउँदो चुनावमा पार्टीको अवस्था सुधार गर्न संगठन सुदृढिकरणमा जोड दिने निर्णय गरेको छ। देशका ७ सय ४४ स्थानीय तहको हरेक वडा र टोलमा इकाइ गठन गर्ने, हरेक पेशागत संगठनमा इकाइ गठन गर्ने निर्णय गरेको थापाले जानकारी दिए।

राप्रपाले हिन्धु धर्म तथा संस्कृतिको संरक्षणका लागि देशका ७४४ स्थानीय तहमा नै नेपाल धर्म तथा संस्कृति परिषद गठन गर्ने निर्णय पनि गरेको अध्यक्ष थापाले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए।

राप्रपाले प्रदेश नम्बर २ मा निर्वाचन परिचालन गर्न पार्टी उपाध्यक्ष वुद्धिमान तामाङको संयोजकत्वमा निर्वाचन परिचालन उच्च स्तरीय समिति गठन गरेको छ। जसको सदस्यमा उपाध्यक्षहरु राजीव पराजुली र रामचन्द्र राय, प्रदेश नम्बर २ का केन्द्रीय सदस्य र सांसदहरु रहेका छन्। राप्रपाले ६० वर्ष पार गरेका सबैलाई वृद्धभत्ता दिनुपर्ने, नेपालको नोटमा पृथ्वीनारायण शाहको फोटो राख्न पनि माग गरेको छ।  

पार्टीभित्र विवाद छैन, पूर्व अध्यक्ष विरामी भएकाले नआउनुभएको हो

राष्ट्रिय प्रजातन्त्र पार्टीभित्र विवादका कारण केन्द्रीय समिति बैठकमा पूर्व अध्यक्ष पशुपतिशम्शेर जबरा र केही नेताहरु सहभागी भएका छैनन्। शुक्रबार आयोजित पत्रकार सम्मेलनमा पार्टीका पदाधिकारी लहरै बसेको मञ्चमा पूर्व अध्यक्ष राणा थिएनन्। पार्टीका वरिष्ठ नेता नै बैठकमा नआएको विषयमा पत्रकारले सोधेको जिज्ञासामा अध्यक्ष थापाले मञ्चतिर देखाउँदै भने 'हाम्रो पार्टीको वरिष्ठ भनेकै यही त हो नि, कोही छुट्नुभएको छैन।'

उनले पशुपति शम्शेर जबराको विषय उठान गर्दै उनी विरामी भएकाले सहभागी हुन नसकेको स्पष्टीकरण दिए। 'तपाईले पूर्व अध्यक्ष पशुपतिशम्शेर जबरातर्फ संकेत गर्न खोज्नुभएको होला' थापाले भने 'उहाँसँग बैठक सुरु हुने दिन र आज पनि मेरो कुरा भएको छ। उहाँ अस्वस्थताको कारण अनुपस्थित हुनुभएको हो। अतिरञ्जित ढंगले नसोच्दा हुन्छ।' राणाको पार्टीमा धेरै लगानी रहेकाले आगामी दिनमा पनि उनी पार्टीमा सक्रिय हुने थापाले दावी गरे।

हेर्नुस् राप्रपा केन्द्रीय समितिको निर्णय

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.