|

बाँके : एसियाली विकास बैंक (एडिबी) ले जमुनहा–राँझा सडक खण्ड निर्माणको जिम्मा पाएको पप्पु कन्स्ट्रकसन जेभीलाई ५ करोडभन्दा बढी रुपैयाँ हर्जाना तिराएको छ। सम्झौता अनुसारको काम समयमा पूरा नगरेपछि एसियाली विकास बैंकले पप्पु कन्स्ट्रकसन जेभीलाई करिब ५ करोड ५० लाख रुपैयाँ हर्जाना तिराएको मध्यपश्चिम क्षेत्रीय सडक निर्देशनालय डिभिजन कार्यालय नेपालगन्जका डिभिजन प्रमुख अर्जुनकुमार बमले जानकारी दिए।

‘हर्जाना लगाउनु भनेको कारबाही नै हो, यसले अन्य योजनाको ठेक्कापट्टामा पनि असर पार्न सक्छ,’ उनले भने।  उनले पप्पु कन्स्ट्रक्सनको ठेक्का जुलाई, २०१६ सम्म मात्र भएकोले अब पप्पु र एसियाली विकास बैंकबीच कुनै सम्बन्ध नरहेको बताए।

पप्पुले ५७ करोड रुपैयाँमा राँझा–जमुनहा सडकखण्ड कालोपत्रे गर्ने ठेक्का लिएको थियो। मापदण्डअनुसार निर्माण नगरेको प्रमाणित भएपछि एसियाली विकास बैंकले उसलाई एक करोड रुपैयाँ मात्र दिने निर्णय गरेको थियो। 

हर्जानाबापतको रकम असुली

हर्जाना बापतको रकम एडिबीले असुली गरिसकेको छ। काम गरेबापत उसले पाउने रुपैयाँ हर्जानामा कटाइएको छ। सडक निर्माणका लागि ठेक्का लिने क्रममा जम्मा गरेको रकम पनि राजस्व कार्यालयमा पठाइएको सडक डिभिजन कार्यालय नेपालगन्जले जनाएको छ। बाँकी रकम पिभिसीलगायत पप्पुको बैंक खाताबाट असुली गरिएको डिभिजन प्रमुख बमले बताए।

उसले कालोपत्रे गरे पनि सम्झौताअनुसार गुणस्तरीय नभएको, फिनिसिङ नभएको र रेलिङ, डिभाइडर लगायतका कार्य सम्पन्न गर्न बाँकी छ। सम्झौता अनुसारको कार्य गर्न पटक–पटक सचेत गराउँदासमेत अँटेर गरेपछि हर्जानाका (कारवाही) लागि सिफारिस गरिएको डिभिजन प्रमख बमले बताए। ‘कन्सल्टेन्सीले निरीक्षण, परीक्षण गरेर रिपोर्ट सहित सिफारिसका लागि परिपत्र गरेपछि सडक डिभिजन कार्यालयले पनि हर्जानाका लागि सिफारिस गरिएको हो,’ उनले भने।

रेलिङ लगायतका संरचना निर्माण अधुरै

पप्पु कन्स्ट्रक्सनले गुणस्तरीय सडक निर्माण त गरेन नै डिभाइडर र रेलिङसमेत बनाएको छैन। गणेशमान चोकदेखि कारकाँदो चोकसम्मको दुवैतर्फ रेलिङ बनाउनुपर्नेमा अहिलेसम्म निर्माण पूरा भएको छैन। नेपालगन्जको अति व्यस्त हुने धम्बाझीमासमेत पप्पुले रेलिङ बनाउन बाँकी छ। ‘डिभाइडर पनि राख्न बाँकी छ, निर्माण कार्य सम्पन्न नहुँदै ठाउँ–ठाउँमा भत्किएको छ,’ डिभिजन प्रमुख बमले भने।

सडक डिभिजनको जिम्मामा नआउँदा मर्मत, सम्भारमा समस्या

पप्पु कन्स्ट्रक्सनले निर्माण गरेको राँझा–जमुनहा सडक खण्डको विभिन्न स्थानमा खाल्डाखुल्डी पर्नुका साथै कालोपत्रे उप्केको छ। जिल्ला शिक्षा कार्यालयनजिक रहेको पुलसमेत दबेको छ।

निर्माण सम्पन्न गरेको थप एक वर्षसम्म मर्मत गर्ने काम सम्बन्धित ठेकेदारको नै हुन्छ। तर, सडकमा परेका खाल्डाखुल्डीमा परी सवारी दुर्घटना हुँदासमेत पप्पु कन्स्ट्रक्सनले मर्मतमा चासो देखाउँदैन। पप्पुले चासो नदेखाउँदा नेपालगन्ज उपमहानगरपालिकाले समेत मर्मत गर्दै आएको छ।

सडक विभागको जिम्मामा आइनसकेकोले मर्मत गर्न नसकिएको डिभिजन प्रमुख बमले जानकारी दिए। उनले बैधानिक रुपमा मर्मत गर्न नसकिए पनि सर्वसाधारण र प्रशासनको आग्रहमा मर्मत गरिएको बताए। पप्पुले सम्भार गर्ने समय अझँै एक वर्ष बाँकी रहेको उनले बताए। ‘सडक डिभिजनको जिम्मामा नआउँदासम्म मर्मत र सम्भार गर्न सकिँदैन,’ उनले भने।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.