|

नेपाली राजनीति र साहित्यमा अमर नाम हो, विश्वेश्वरप्रसाद कोइराला। वि. सं. १९७१ भदौ २४ गते भारतमा जन्मिएका विश्वेश्वरप्रसाद कोइराला नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री तथा नेपाली, हिन्दी भाषाका साहित्यकारसमेत हुन्। 

कोइरालाले १०४ वर्ष लामो जहानियाँ राणाशासनको अन्त्य गर्नमा महत्त्वपूर्ण भूमिका खेले। कोतको हत्याकाण्डपछि जंगबहादुर राणाले लिएको देशको शासनको बागडोर जंगबहादुरकै भाइभारदार र सन्तान दरसन्तानमा केन्द्रित रह्यो। यसबीचमा नेपालले आर्थिक, सामाजिक, शैक्षिक विकासमा गति लिनसकेन। राजनीतिक चेतना बिस्तार र विकास हुन असंभव जस्तै बन्यो। 

एक (सुब्बा कृष्णलाल अधिकारीसहित) चार अन्य शहीदले देश र जनतको मुक्तिका खातिर बलिदानी दिए, तथापि जहानियाँ र निरंकुश राणा शासनको अन्त्य हुनसकेन।

यसैबीच वीपी कोइरालालगायतका तत्कालीन सचेत युवाहरूको नेतृत्वमा राणाविरोधी आन्दोलन सुरु भयो, संगठित रूपमै।

वि. सं. २००३ सालमा नेपाली कांग्रेसको औपचारिक रूपमा स्थापना भयो, जसको अगुवाइ वीपीले गरे। स्वदेशमा र विशेषगरी भारतमा रहेर राणाविरोधी आन्दोलनको माहोल सिर्जना गर्न थाल्यो कांग्रेसले। यसै क्रममा वीपी, सुवर्णशमशेर, मातृकाप्रसाद कोइरालालगायतका नेताहू सक्रियतापूर्वक उक्त आन्दोलनमा सहभागी बने।

दूरदर्शी नेताको कुशल नेतृत्व पाएर नै २००७ सालको क्रान्ति सफल बन्न सक्यो। ००७ सालको क्रान्तिपछि नेपालमा प्रजातन्त्रको स्थापना भई १०४ वर्षको अन्धकारपूर्ण राणा शासनबाट नेपाल र नेपाली मुक्त भए। यसबीचमा प्रजातन्त्र र मुक्तिका लागि लड्ने र सहादत प्राप्त गर्नेहरू अनेकौँ थिए, तथापि, आन्दोलनलाई सफल तुल्याउन सबल र सफल नेतृत्व वगर्नेमा वीपी कोइरालाको नाम अग्रपंक्तिमा आउँछ।

जीवनको लामो समय नेपाली कांग्रेसको नेतृत्व गरेका वीपी कोइराला ०१५ पछि बनेको जननिर्वाचित सरकारका प्रथम जननिर्वाचित प्रधानमन्त्री बने। 
विश्वेश्वरप्रसाद कोइरालाको राजनीतिक जीवन तत्कालीन समयमा भारतमा चलिरहेको स्वतन्त्रता आन्दोलनको सन्दर्भबाट सुरु भयो। त्यस समय वीपीको परिवार भारतमै रहेको हुँदा भारतीय स्वतन्त्रता आन्दोलनप्रति उनी प्रभावित बने।

त्यस आन्दोलनमा लागेकै कारण वीपी र उनका दाजु मातृकाप्रसाद कोइरालालाई सन् १९३० मा तीन महिना तत्कालीन बेलायत सरकारले भारतमै कैद गर्‍यो। यसपछि वीपी पूर्ण रूपमा राजनीतिक जीवनमा होमिए। 

सन् १९३२ मा बनारसबाट उच्चमाध्यमिक शिक्षा पूरा गरेका वीपीले बनारस हिन्दू विश्वविद्यालयबाट राजनीति तथा अर्थशास्त्र विषयमा स्नातक र कलकत्ता विश्वविद्यालयबाट कानुनमा स्नातकोत्तर गरे। दार्जिलिङमा रहेर लामो समय कानुनी पेसा गरेका वीपीलाई दोस्रो विश्वयुद्धको समयमा (१९४२ देखि १९४४) बेलायत सरकारले जबरजस्ती सैनिकमा भर्ना गर्‍यो। त्यसपछि वीपीले वि. सं. २००३ मा नेपाली राष्ट्रिय कांग्रेसको स्थापना गरे, जुन अहिले नेपालको प्रमुख राजनीतिक दलका रूपमा नेपाली कांग्रेसका नाम जीवित छ।

००३ मा मोरङको विराटनगर जुट मिलमा भएको मजदुर आन्दोलनको नेतृत्व गरेको अभियोगमा वीपी पक्राउ परे। एक वर्ष कैद भुक्तान गरेपछि उनी राणाविरोधी आन्दोलनलाई अब सशस्त्र बनाउनतिर लागे। राणा शासन अन्त्यका लागि सशस्त्र आन्दोलनलाई तीब्रता दिँदै गए।

२००७ साल फागुन ७ गते शताब्दी लामो जहानियाँ राणा शासनले घुँडा टेक्यो। दिल्लीमा भएको त्रिपक्षीय सम्झौतापछि बनेको मोहनशमशेर जबरा नेतृत्वको सरकारमा वीपी गृहमन्त्री बने।

वि. सं. २०१५ मा भएको आमनिर्वाचनमा नेपाली कांग्रेसले दुईतिहाई बहुमत प्राप्त गरेपछि वीपीकै नेतृत्वमा सरकार गठन भयो। नेपालकै इतिहासमा पहिलो जननिर्वाचित प्रधानमन्त्रीका रूपमा उनको नाम स्वर्ण अक्षरले लेखियो। तर जानकारहरूका अनुसार राजा महेन्द्र, डा. तुलसी गिरी र वीपीबीचको व्यक्तित्व टकरावका कारण २०१७ पुस १ गते झण्डै डेढ वर्षको अवधिमै राजा महेन्द्रले दुई तिहाई बहुमतबाट प्रधानमन्त्री बनेका वीपी कोइरालालाई अपदस्थ गरे र सम्पूर्ण शासन सत्ता आफ्नो हातमा लिए। 

झण्डै आठ वर्ष झूटा मुद्दामा जेल सजाय दिइयो वीपीलाई। त्यसपछि भारत निर्वासित गराइयो।

पुनः नेपाल राजनीतिक हिसाबले अन्धकारको युगमा प्रवेश गर्‍यो। ०१९ सालमा नयाँ पञ्चायती संविधान जारी गरेर राजा महेन्द्रले राजनीतिक दलहरू र राजनीतिक गतिविधिमाथि बन्देज लगाएपछि वीपी लामो समय भारत निर्वासित हुनपुगे।

सन् १९७६ मा नेपाल फर्किएका वीपीलाई तत्कालीन सरकारले पुनः देशद्रोहको मुद्दामा जेल हाल्यो। सन् १९७८ मा उनीविरुद्धका मुद्दा फिर्ता लिइए पनि २०३६ सालको आन्दोलनका समयमा वीपीलाई उनकै निवासमा नजरबन्द गरिएको थियो।

वीपी कोइरालाले नेपाली राजनीतिमा दिएको योगदानलाई कुनै पनि नेपालीले भुल्न सक्दैनन्। नेपाली राजनीतिक इतिहासले भुल्न सक्दैन। जहानियाँ राणा शासनको जगजगीको अन्त्य गरी मुलुक र मुलुकवासीलाई मुक्त गर्न ज्यानको बाजी थापेर होमिएका वीपी एक कुशल, दूरदर्शी र साहसी नेता भएको तथ्य निकट विगतका नेपाली राजनीतिक घटनाक्रमले पुष्टि गर्छन्।

राष्ट्र, राष्ट्रियता, लोकतन्त्र, जनहित, न्याय र समानताको पक्षमा सदैव निर्भीकतापूर्वक र सक्रिय रूपमा लागेका वीपी कोइरालाले नेपाली राजनीतिक इतिहासमा नेपाली माटो सुहाउँदो राजनीतिक विचारसमेत दिएर गएका छन्। प्रजातान्त्रिक समाजवादलाई नेपाली राजनीतिमा स्थापित गराउने श्रेय उनलाई नै गएको छ। 

देश र जनताको हितका लागि समाज, त्यस समाजका विविध संस्कृति र सभ्यता, आर्थिक, शैक्षिक परिवेश, सामाजिक न्याय प्रणालीका विषयमा उनको दृष्टिकोण अनुकरणीय रहेको छ। 

नेपालमा प्रजातन्त्र स्थापना गर्नका लागि कुशल राजनीतिक नेतृत्व प्रदान गरेका वीपी नेपाली साहित्यमा पनि उत्तिकै क्रियाशील रहे। उनले मनोवैज्ञानिक कथाहरूमा नयाँ प्रयोग गरेका छन्। विशेषगरी सूक्ष्म यौन मनोविज्ञानका कथालेखनमा वीपी नेपाली साहित्यमा अग्रपंक्तिमा उभिन्छन्। 

वीपीले आफ्ना साहित्यक कृतिहरूमा पनि समाज, सामाजिक पात्र र परिवेशको यथार्थ चित्रण गरेका छन्। मानवीय स्वभाव र मनोविज्ञानलाई सूक्ष्म रूपले अध्ययन गरेका वीपी आफ्ना साहित्यिक रचनामा त्यही मनोविज्ञानको पाटोबाट नेपाली समाजको र नेपालीको वास्तविकता प्रस्तुत गर्न खप्पिस देखिन्छन्।

वीपीले केही उपन्यासमा वैदिककालीन विषय रोजेका छन् भने केहीमा विश्व राजनीतिक घटनालाई विषय बनाएका छन्। मोदीआइन उपन्यास वीपीले महाभारतकालीन पात्र र परिवेशलाई लिएर लेखेका छन्। यसरी नै हिटलर र यहुदी उपन्यास दोस्रो विश्वयुद्धको सन्दर्भलाई लिएर रचना गरिएको छ।

वीपीका कतिपय सिर्जनामा यौन मनोविज्ञान र यौनिक चरित्रलाई केही अपाच्य रूपमा पनि प्रस्तुत गरिएको आलोचना हुने गरेको छ, तथापि, ती कृतिसमेत नेपाली पाठकका निम्ति पठनीय कृतिका रूपमा रहेका पाइन्छ।

साँस्कृतिक रूपान्तरण र सामाजिक न्यायका विषयमा पनि उनले केही कथा र उपन्यास लेखेका छन्। आफ्ना रचनामार्फत तत्कालीन समयको चित्रण गर्न र मानवीय चरित्रलाई सूक्ष्म ढंगले व्यंग्य गर्न वीपी सफल बनेका पाइन्छ।

वीपीले आफ्नो जीवनका भोगाइ, देखाइ र अनुभवलाई पनि आफ्नो कथा र जेल जर्नल दुई पुस्तकमार्फत् सार्वजनिक गरेका छन्। उनका यी कृति पढ्दा उनी अत्यन्तै दूरदर्शी, शालीन र संवेदनशील राजनीतिकर्मी हुन् भन्ने महसुस गर्न सकिन्छ। तात्कालीन समयको राजनीति बुझ्न यी पुस्तक अत्यन्तै सहयोगी हुनसक्छन्।

उनका प्रकाशित कृतिहरूमा उपन्यासतर्फ तीन घुम्ती (२०२५), नरेन्द्र दाइ (२०२६), सुम्निमा (२०२७), मोदिआइन (२०३६), हिटलर र यहुदी (२०४०), बाबु, आमा र छोरा (२०४५) रहेका छन्। 

कथातर्फ मेरो कथा (२०४०), दोषी चश्मा (२००६) र श्वेत भैरवी (२०३९) प्रकाशित छन् । आत्मकथामा जेल जर्नल र आफ्नो कथा प्रकाशित छन्। उनको चित्र अंकित पहिलो हुलाक टिकट २०४७ पुस १६ गते प्रकाशन भएको पाइन्छ।

छोटो जीवनकालमा नेपाली राजनीति र साहित्यमा निकै महत्वपूर्ण र गहन कार्य गर्ने वीपी कोइरालाको निधन वि. सं. २०३९ साउन ५ गते भएको थियो।

राजनीतिभन्दा साहित्यमा बढी योगदान: डा. नारायण चालिसे
वीपी कोइरालाको साहित्यिक र राजनीतिक जीवन सँगसँगै जस्तो सुरु भएको पाइन्छ। त्यसो त उनले स्कुल जीवनमै हिन्दी भाषामा केही कथा र कविता लेखेका थिए पनि भनिन्छ। तर प्रकाशनलाई नै आधार मान्दा चाहिँ चन्द्रवदन कथाबाट उनको साहित्यिक यात्रालाई हेर्ने गरिएको छ।
भारत छोडो आन्दोलनकै समयमा वीपी राजनीतिमा सक्रिय भएका हुन्। सोही कारण तत्कालीन बेलायती शासकद्वारा केही महिना उनी जेल पनि परे। आफू राजनीतिक व्यक्ति भएको र साहित्यचाहिँ फुर्सदको काम भएको उनको भनाइ रहे पनि वास्तवमा वीपी राजनीतिभन्दा साहित्यमा बढी सफल र महत्त्वपूर्ण व्यक्तित्व हुन् भन्ने लाग्छ।
वीपीलाई राजनीतिमा प्रजातान्त्रिक समाजवादका प्रणेताका रूपमा सम्मान गरिएजस्तै साहित्यमा पनि दुईवटा धारको प्रणेताका रूपमा लिने गरिन्छ। वास्तवमा उनले नै चन्द्रवदन कथामार्फत् नेपाली साहित्यमा मनोविश्लेषणात्मक आख्यान लेखनको सुरुवात गरेका हुन्। त्यसपछि मात्र नेपाली आख्यानमा मनोविश्लेषणात्मक लेखन बढेको हो।
यसरी नै वैचारिक आख्यान लेखनको श्रीगणेश पनि वीपीबाटै भएको विश्लेषण हुनथालेको छ। २०२० को दशक आसपास विजय मल्लको अनुराधा र पारिजातको शिरीषको फूलमा केही वैचारिक लेखनको झल्को आउने बताइए पनि २०२४ सालमा प्रकाशित वीपीको तीन घुम्ती उपन्यासले भने प्रष्ट रूपमा नेपाली आख्यानमा वैचारिक आख्यानको प्रवेश गराएको हो।
वीपीका रचना पढ्दा अनौठो लाग्छ कि उनले कुनै पनि पक्षलाई आफ्ना लेखनबाट बाहिर राखेका छैनन्। जस्तोः उनका रचनामा पूर्वीय दर्शन र पाश्चात्य दर्शनको समन्वय छ। यस्तै, वर्गगत, सामाजिक, सांस्कृतिक समन्वयात्मक विचार उनका रचनामा पाइन्छ। साहित्यमा राजनीतिको सन्दर्भमा भने वीपीको फरक धारणा थियो।
उनी ढुंगा र कलाको उदाहरण दिँदै सामान्य ढुंगा जब असल मूर्तिकारले कुँद्छ, तब त्यो पुजिन्छ, त्यसरी नै राजनीति पनि कलात्मक रूपले साहित्यमा आउन सक्ने तर राजनीतिलाई कोरा नारा वा भाषणका रूपमा साहित्यमा स्थान दिइनुहुँदैन भन्ने उनको मान्यता थियो। उनका साहित्य रचनामा पनि राजनीति अवश्य छ, तर त्यो समाज, सँस्कृति र मानवीय जीवनका अन्य पाटासँग जोडिएर कलात्मक र सूक्ष्म रूपमा आएको छ उनका रचनामा।
समग्रमा भन्दा वीपी राजनीति सचेत, मनोविश्लेषणात्मक, वैचारिक साहित्यकार हुन् भन्न सकिन्छ। वीपीको नेपाली साहित्यमा राजनीतिभन्दा बढी योगदान छ भन्ने लाग्छ।
(नेपाल संस्कृत विश्वविद्यालयमा प्राध्यापन चालिसेले 'विश्वेश्वरप्रसाद कोइरालाको उपन्यासमा पूर्वीय दर्शनको प्रभाव' विषयमा विद्यावारिधि गरेका छन्।)

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.