|

विराटनगर : उपप्रधानमन्त्री एवं संघीय मामिला तथा स्थानीय विकासमन्त्री विजयकुमार गच्छदारले तेस्रो चरणको स्थानीय तहको निर्वाचनमा राष्ट्रिय जनता पार्टीलाई सहभागी गराउन सरकारले प्रयास गरिरहेको बताएका छन्।

विराटनगर विमानस्थलमा शुक्रबार पत्रकारसँग कुरा गर्दै नेपाल लोकतान्त्रिक फोरमका अध्यक्षसमेत रहेका गच्छदारले राजपाका पूरा गर्न सकिने मागको विषयमा छलफल भइरहेको बताए।

‘राजपाको सबै माग सम्बोधन गर्न नसके पनि पूरा गर्न सकिने मागका विषयमा सरकार हदैसम्म लचकता अपाउन तयार छ,’ गच्छदारले भने, ‘सरकारको सदासयतालाई पनि राजपाले बुझ्नुपर्छ।’ असोज २ गतेको निर्वाचन गर्न सरकार लागि परेकोले कुनै पनि बाहनामा अब निर्वाचन नरोकिने उनको भनाइ छ।

संविधान कार्यान्वयनको पहिलो खुड्किलो नै निर्वाचन भएकाले रोक्न नमिल्ने बताउँदै उपप्रधानमन्त्री गच्छदारले पहिलो र दोस्रो चरणको निर्वाचन सफल भएसँगै दुई नम्बर प्रदेशका जनता पनि निर्वाचनमा सहभागी हुन आतुर रहेको दाबी गरे।

गच्छदारले भर्खरै गठन भएको निर्वाचन क्षेत्र निर्धारण आयोग स्वतन्त्र आयोग भएकाले यसले काम गर्दा भूगोल र जनसंख्याको आधारमा जातीय पहिचानमा असर नपर्ने गरी निष्पक्ष भएर क्षेत्र निर्धारण गर्नुपर्नेमा जोड दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.