|

गोरखा : देशैभरी परम्परागत मिल ढिकी, जाँतो, घट्टहरु लोप भइरहेको समयमा भूकम्पपछि गोरखामा पनि झन् लोप भएका छन्। भूकम्पले ढिकी, घट्टहरु रहेका घरहरु, भवनहरु भत्केपछि त्यस्ता संरचनाहरु पुननिर्माण हुन नसकेका हुन्।

प्रविधिको विकाससँगै गाउँघरमा रहेका तोरी पेल्ने कोल, धान कुट्ने ढिकी र ओखल, पीठो पिस्ने जाँतो लोप हुने अवस्थामा पुगेका छन्। प्रविधि सँगै लोपोन्मुख भएका परम्परागत यस्ता संरचनाहरु भुकम्पले थप समस्यामा पारेको छ। ग्रामीण क्षेत्रमा आधुनिक मिल र सुधारिएका घट्टको निर्माणसँगै कोल ढिकी जाँतो लोप हुने अवस्थामा पुगेका हुन्।

‘पहिले राङरुङ खोलाको घट्टमा राती तीन बजे उठेर गइन्थ्यो’ बारपाकी बुद्धमाया घलेले सम्झन्छिन् ‘घट्टमा गएर मकै, कोदो पिसेर ल्याइन्थ्यो। अहिले त गाउँमै मिल छ। केटाकेटीले त घट्ट नै नचिन्ने भइसक्यो। घट्टमा पिसेको पिठोको खान्की नै स्वादिलो हुन्थ्यो अहिलेको त काँ त्यस्तो हुन्छ र।’ गाउँघरमा तोरी पेल्ने कोल, दाल पिस्ने जाँतो, धान र मकै कुट्ने घट्ट, ढिकी लोप हुँदै गएपछि यहाँको मौलिकता हराउँदै गएको उनको भनाइ छ।

गाउँघरमा भएको भौतिक विकाससँगै र कोदो, गहुँ, मकै ढिकीजाँतोमा कुटानी पिसानी गर्ने स्थानीयहरू आधुनिक मिल र घट्टमा जान थालेका छन्। बारपाकमा विद्यूत विस्तार भएसँगै विद्युतीय मिल र त्यो भन्दा पहिले डिजेल मिल सञ्चालनमा आएका हुन्।

गाउँको घट्ट, ढिकीमा धेरै समय खर्च हुने र सस्तोमा बजारमा पोका तेल, थैलीका पिठो, चामल बजारमा आपूर्ति गर्न थालेपछि ढिकी जाँतो, तोरी पेल्ने कोल लोप हुने अवस्थामा पुगेको हो। गोरखाको प्राय सबै गाउँमा अहिले आधुनीक मिल, सुधारिएको घट्ट निर्माण भएका छन्। 

गाउँमा ढिकी जाँतोको प्रयोग गर्नेको संख्या निकै कम भएपछि खाद्यवस्तु कुटानी पिसानीका लागि मिलहरुमा भीड हुने गरेको स्थानीय बताउँछन्। ‘पहिले कुनै चाडपर्व, बिहे, अर्घु, छेवरको बेलामा वरीपरि घरका बुहारी मिलेर घट्टमा गइन्थ्यो’ बारपाककै ८७ वर्षिय ढिकुमारी गुरुङ भन्छिन् ‘प्राय सबैको घरमा ढिकी हुन्थ्यो अहिले त देख्न पनि मुस्किल भइसक्यो।’ गाउँघरमा तोरी पेल्ने काठे कोल, उखु पेल्ने कोल हराएपछि घरमा भएको २/४ पाथी तोरी, उखु पेल्न टाढाको मिल जानुपर्ने बाध्यता रहेका छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.