|

काठमाडौँ: नेकपा माओवादी केन्द्रको सचिवालयको बिस्तारित बैठक शनिबारसम्म लम्बिएको छ। सोमबारदेखि तीन दिनका लागि भनेर सुरु भएको बैठक शुक्रबार पाँचौँ दिन पनि टुंगिन सकेन।

बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेस गरेको मौखिक प्रतिवेदनमाथि नेताहरूले आफ्नो धारणा राखिरहेका छन्। शुक्रबारको बैठकमा नेताहरू नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा, गिरिराजमणि पोख्रेल, अमिक शेरचन, मणि थापा, टोपबहादुर रायमाझी र टंक राईले आफ्ना धारणा प्रस्तुत गरे। 

बैठकमा बोल्दै नेता श्रेष्ठले दोस्रो तहको नेताको रूपमा रहेर जति भूमिका निर्वाह गर्नुपर्ने थियो, त्यति भूमिका निर्वाह गर्न आफूले नसकेको भन्दै आत्मालोचना गरेका थिए। 

पार्टीमा तलैसम्म व्यवस्थित संगठन नभएको कारण चुनाव हारिएको भन्दै नेता श्रेष्ठले विचार संश्लेषणको आवश्यकता रहेको कुरामा जोड दिएको एक हेडक्वाटर सदस्यले थाहाखबरलाई बताए। श्रेष्ठको भनाइलाई उदृत गर्दै उनले भने, 'यो चुनावमा हामी कसरी लड्ने भन्नेमा पनि समस्या रह्यो। हामी हाम्रै तरिकाले चुनावमा जान सक्नुपर्थ्यो।'

नेता श्रेष्ठले नयाँ पार्टी बनाउनसक्ने आधार खडा भएको भन्दै एकताबद्ध भएर जान सबैलाई आग्रह गरे। जनयुद्ध र जनआन्दोलनको पृष्ठभूमिबाट आएका नेता कार्यकर्ताहरूको बीचमा केही अन्तर देखिएको हुँदा यस्तो अन्तर मेटाएर जान पनि उनले सुझाए। पार्टी एकता अझै ठूलो आन्दोलनका लागि गरिएको भन्दै नेता श्रेष्ठले हिजो को कहाँबाट आयो भन्ने कुरालाई धेरै ठूलो मुद्दा नबनाएर अब गर्नुपर्ने आन्दोलनको बारेमा सोच्न सबै नेता कार्यकर्तालाई आग्रह गरे। 

अर्का नेता कृष्णबहादुर महराले पैसालाई भन्दा जनतालाई बढी आधार बनाएर चुनाव लड्नुपर्नेमा पैसालाई महत्त्व दिएको हुँदा नै सोचेजति परिणाम हासिल गर्न नसकिएको टिप्पणी गरे। जनसम्बन्ध टुटेको कारण यसलाई जोड्नु नै अबको मुख्य कार्यभार भएको नेता महराको भनाइ थियो। 

गिरिराजमणि पोख्रेलले सरकारले गरेका राम्रा कामको जस लिन नसकिएको तर्क गरे। पार्टीले राम्रा कामको जस लिन नसकेका कारण चुनावमा राम्रो नतिजा नआएको हुनाले आउने दिनमा यो कुरालाई ध्यान दिन उनको सुझाव थियो।  

अर्का नेता टंक राईले पार्टीले चुनावी तालमेल गर्दा विचार पुर्‍याउनुपर्ने बताए। जो पायो उसैसँग तालमेल गरेकाले यो पटक थोरै सिटमा खुम्चिनुपरेको भन्दै उनले न्यूनतम रूपमा विचार र सिद्धान्त मिल्नेहरूसँग मात्र तालमेल हुनुपर्ने धारणा राखे।

नेता मणि थापाले जनयुद्ध, जनआन्दोलन र मधेस आन्दोलनलाई मिलाएर विचारको केन्द्रीकरण गर्नुपर्नेमा जोड दिए। विचारको केन्द्रीकरण नहुँदा नै पार्टीमा गुटबन्दी र अराजकता मौलाइरहेको उनले बताए। जनयुद्धबाट आएका नेता कार्यकर्ता सामाजिकीकरण हुन नसकेका कारण पनि चुनावमा असर परेको भन्दै नेता थापाले विचार संश्लेषण गरेर एकरूपताका साथ जानुपर्ने धारणा राखे। 

शनिबार बिहान ११ बजे बैठक पुनः बस्ने प्रवक्ता पम्फा भुसालले जानकारी दिइन्। शनिबार नेता रामबहादुर थापा बादल र अध्यक्ष प्रचण्ड बोल्ने कार्यक्रम रहेको छ। पाँच दिनसम्म सचिवालय सदस्य र जिल्ला इन्चार्जहरूले गरेको रिपोर्टिङको आधारमा शनिबार बस्ने बैठकमा अध्यक्ष प्रचण्डले लिखित निर्णय प्रस्तुत गर्ने प्रवक्ता भुसालले बताइन्।

याे पनि हेर्नुहाेस्:

माअाेवादीमा किन उठ्यो प्रचण्डपथ ब्युँताउने बहस, के हो प्रचण्डपथ?
माओवादी केन्द्रको बैठकमा 'प्रचण्डपथ' ब्युँत्याउने चर्चा
माअाेवादी बैठकको समीक्षा, 'हात्ती जत्रो संगठन भए पनि कमिलाले जति काम गर्न सकिएन'
माओवादी बैठकमा प्रदेश इन्चार्जहरूले के गरे रिपोर्टिङ?
चुनाव समीक्षाको रिपोर्ट बोकेर माओवादीका जिल्ला इन्चार्ज र सचिवालय सदस्यहरू काठमाडौंमा
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.