|

  • विकास डाँगी

दाङ : आज गठे मंगल पर्व , राक्षसी स्वरूपको घन्टाकर्ण दहन गर्दै नेवार समुदायले देशभर यो पर्व मनाउने गरेका छन्। नेवार समुदायको बाक्लो बसोबास भएको स्थानमा विषेश महत्वका साथ यो पर्व मनाउने चलन छ। दाङको तुलसीपुरमा पनि शुक्रबार यो पर्व मनाइएको छ।

श्रावण कृष्ण चतुर्दशीका दिन मनाइने गठे मंगललाई घन्टाकर्ण चतुर्दशी पनि भनिन्छ। दुष्टात्मा र भूतप्रेत पन्छाउन घरमा सफा सुग्घर गरेर घन्टाकर्ण दहन गर्ने चलन छ। आजको दिन दिनभर ठड्याइएको नर्कटबाट निर्मित गठे मंगललाई घाम अस्ताएपछि ढालेर नदीमा लगेर विसर्जन गरिन्छ।

त्यसअघि, नेवार समुदायमा टोलवासीलाई छ्वालीको चिराग समात्न लगाई तीनपटक परिक्रमा गराउने परम्परा रहेको छ। कतिपय स्थानमा भने विभिन्न ठाउँमा भएका गठे मंगल एकत्रित गरेर जलाउने चलन पनि रहेको छ। ग्रह शान्तिका लागि फलामको औठी लगाउने चलन रहेको छ।

परापूर्वकालमा नास्तिक व्यक्तिले ‘भगवानको नाम सुन्न नपरोस्’ भनी कानमा घण्टा झुन्ड्याएको र उसको आतंकले धेरैलाई अफ्ठ्यारो परेकाले उसको आज दहन गरिएको कथन रहेको छ। ज्यापू समुदायमा धान रोप्ने बेला आमन्त्रण गरिएको शक्ति पन्छाउन यो पर्व मनाउने गरिन्छ।

तुलसीपुरमा मात्रै झण्डै १ सय ३५ घरधुरीका नेवार समुदायले परम्पराको जगेर्नासँगै आपसी भाइचारा र मित्रता बढाउने उद्देश्यका साथ यो पर्व मनाएका छन्।आजबाट सुरु भएको पर्व केही स्थानमा लाखेजात्र, रोपाई पर्व र गाईजात्रा मनाएर मात्रै सम्पन्‍न हुनेगर्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.