|

ताप्लेजुङ : चीनको सीमाना टिप्ताला भञ्ज्याङ हुँदै ल्याइएको मोटरबाटो ताप्लेजुङको विकट भेग ओलाङचुङगोलासम्म जोडिएको छ। ओलाङचुङगोलामा सीमा प्रहरी चौकीछेउसम्म ट्र्याक खुलेपछि शुक्रबार चीनबाट दुईवटा एक्साभेटर, एउटा लोडर र तेल बोक्ने ट्याङ्कर आइपुगेका छन्। निर्माण थालेको सात महिनामै चिनियाँले नेपाली पहाड छिचोलेर ओलाङचुङगोलाको बस्तीसम्म २१ किमी सडक बनाइदिएका छन्। 

सडक निर्माणमा दुई तिहाइ बढी लगानी यहीँ जन्मेर बाहिर बस्दै आएकाले गरेका छन्। ३ करोड हाराहारी खर्च भएको सडकका लागि २ करोड ५० लाख रुपैयाँ वालुङ समाजले जुटाएको हो। त्यसका साथै गाविस र सांसद विकास कोषका तर्फबाट ५३ लाख खर्च भएको उपभोक्ता समिति अध्यक्ष छेतेन वालुङले बताए। यसअघि उत्तर दक्षिण लोकमार्ग आयोजनाले ८ लाख रुपैयाँ खर्चिएको थियो। 

गाउँलाई सुगम बनाउन र बसाइसराइ रोक्न वालुङवासीले लगानी गरेको समाजका ताम्ला उक्यावले बताए। यसलाई बाह्रै महिना मोटर चल्ने बनाउन भित्तामा नाली काट्ने, आवश्यक ठाउँमा ढल बनाउने र सडकमा पानी बग्न नदिने योजना उपभोक्ता समितिको छ। ट्रयाक खोलेर ल्याएका यीनै मेसिन अब फेरि सडक मजवुत बनाउँदै फर्किने र त्यसपछि लोडर लगाएर पेल्ने छेतेनले बताए।

उपभोक्ता समितिले निर्माणको जिम्मा चिनियाँ ठेकेदार कम्पनीलाई दिएको हो। कामको नियमित अनुगमन पनि चिनियाँ प्रशासनले गरिरहेको छेतेनले बताए। कहीँ नराम्रो बनाएर र गुणस्तरहीन भए उनीहरुले (तिब्बती प्रशासनले) नै सुधार गर्न लगाउँछन् हामीले गुनासो गरे पुग्छ' उनले भने। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.