|

  • गणेश खनाल-

अर्घाखाँची  : प्रसिद्ध धार्मिक स्थल सुपा देउरालीमा आउने धार्मिक पर्यटकको संख्यामा बृद्धि भएको छ। अघिल्लो वर्ष भन्दा यसवर्ष दर्शनार्थीहरुको सख्या दोब्बर बढेकफ मन्दिर संरक्षण समितिका अध्यक्ष प्रितम थापाले जानकारी दिए।

हिजोआज दैनिक एक हजारदेखि दुई हजारजनासम्मले दर्शन गर्ने उनले बताए। सन्धिखर्क नगरपालिका ७  खाँचीकोटमा रहेको मन्दिरमा भक्तजन बढेसँगै संकलन हुने भेटी पनि बढेको छ। यस मन्दिरमा गएको बर्ष ६० लाख रुपैयाँ आम्दानी भएको थियो । यस बर्ष बढेर ८० लाख पुग्ने मन्दिर सचिव यादव घिमिरेले बताए।

यसवर्ष बैशाख एक गते १२ हजार भन्दा बढीले मन्दरि दर्शन गरेका थिए। त्यस दिनमात्रै भेटीबाट एक लाख नौ हजार आठ सय रुपैयाँ संकलन भएको थियो। मन्दिरको दर्शन गर्न अर्घाखाँची, कपिलवस्तु, दाङ, प्युठान, गुल्मी,रुपन्देहीबाट दर्शनार्थीहरु आउँछन्। भारतको उत्तर प्रदेश र विहारबाट समेत धार्मिक पर्यटक सुपा देउरालीमा दर्शन गर्न आउने गरेका छन् ।

मन्दिरकै भेटीले विद्यालयमा शिक्षक

मन्दिरको भेटीबाट खाँचीकोटको आदर्श माविमा  ६ जना र शितापुरको शान्ति निमाविमा चार शिक्षक राखिएको छ। भेटीबाट संकलित रकममध्ये मासिकरुपमा आदर्श माविलाई र शान्ति निमाविलाई एक लाख २० हजार उपलव्ध गराइएको मन्दिर व्यवस्थापन समितिका सचिव घिमिरेले बताए। सन्धिखर्कमा रहेको पाणिनी वेद विद्याश्रमका लागि बार्षिक एक लाख २० हजार उपलब्ध गराउने उनले जानकारी दिए।

‘विद्यालयसँगै अन्य  विकास निर्माणका काममा पनि सहयोग गर्ने गरेका छौं’ उनले भने, 'खानेपानी लिफ्टिङ, मोटरबाटो निर्माण जस्ता विकास निर्माणका काम भएका छन्। जटिल खालका बिरामीको उपचार खर्चमा समेत सहयोग पुर्‍याउँदै आएका छौं ।’

मन्दिरको भेटीबाट प्राप्त रकमले शिक्षक राखेर  विद्यालय सञ्चालन गर्दा धेरै सहज भएको आदर्श माविका प्रधानाध्यापक डिल्लीराज थापाले बताए। ‘मन्दिरबाट सहयोग नमिलको भए यो विद्यालय प्रावि नै रहने थियो’ उनले भने, विद्यालयलाई यो अवस्था सम्म ल्याउन पाउँदा हामी निकै खुसी छौं।’

नेपालका अन्य ठूला मन्दिरका भेटी पनि यसैगरी सामाजिक काममा लगाउनु पर्ने संरक्षण समितिका उपाध्यक्ष गोबर्धन थापाले बताए। ‘मन्दिरको भेटी विद्यालय जस्तो सामाजिक संस्थालाई दिनु राम्रो कार्य हो’ उनले भने। 

सन्धिखर्क गोरुसिङ्गे सडक खण्डसँगै जोडिएकोले पनि यसको महत्व बढदो छ। सुपा मन्दिरको शिरमा जान सकिने केवुलकार र साहसिक पदमार्ग बनाउन सके  यहाँ पर्यटन व्यवसायबाट राम्रो आम्दानी लिन सकिने सहायक प्रमुख जिल्ला अधिकारी नारायण खत्रीले बताए। सुपाको पूर्व रहेको भैसी मेलामा मन्दिर बनाएर केवुलकार बनाउने, पश्चिमको सिद्ध मन्दिरमा आउने पुल बनाउने तथा साहसिक पदमार्गको निर्माण गर्न सके नेपालकै प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल बनाउन सकिने उनले बताए।

कडा चट्टानमा निर्माण भएको सडक र त्यही सडकको छेउमा मन्दिर छ। सुपा देउरालीको दर्शन गरेपछि मनले चिताएको पुग्ने धार्मिक विश्वास छ। कुनै अप्ठ्यारो समस्या आएको बेलामा सुपा देउरालीलाई भाकल गरे समस्या टर्ने विश्वास छ। यहाँ पाठी, बोका, भाकल गरी वली चढाइन्छ।

सुपा देउराली नजिकै मनोरम दृश्यले भरिपूर्ण नरपानीको डाँडाले पनि यस क्षेत्रमा पर्यटन विकासले फड्को मार्नेमा  विश्वास लिइएको छ। नरपानी डाँडा चिसो हावा र चिसो पानीले प्रशिद्ध छ। यहाँबाट धेरै हिमालको मनमोहक दृश्यहरु देखिने र मौसम पनि शितल रहेकाले गर्मीयाममा तराइबाट गर्मी छल्न यहाँ धेरै पर्यटक आउने गर्छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.