|

दमक : भर्खरै सम्पन्न स्थानीय तहको निर्वाचनमा झापाको कमल गाउँपालिका देशकै चर्चित बन्यो। यो गाउँपालिको अध्यक्ष पदमा गोलाप्रथाबाट अध्यक्ष चुनिएकाले चर्चामा आयो। कांग्रेसका हुकुमसिंह राई र एमालकी मेनुका काफ्लेको बराबर मत आएपछि गोला भएको थियो। यो गाउँपालिकाको अध्यक्ष पद मात्र चर्चामा आयो तर, अन्य पद भने चर्चामा आएन्।

यही गाउँपालिका उपाध्यक्ष बेणु प्रसाद सिवाकोटी जसले उपाध्यक्ष पदमा ह्याट्रिक गरे। यो स्थानीय तहको निर्वाचनमा वडा देखि गाउँ–नगरको प्रमुखसम्म अनि वडा सदस्यको रुपमा समेत सयौं व्यक्तिले सामाजिक रुपमा नेतृत्वको अवसर पाए। कति नयाँले मौका पाए भने कतिका लागि अवसर र जिम्मेवारी नौलो रहेन। त्यही पुरान जनप्रतिनिधि मध्येका एक हुन् सिवाकोटी। चुनावताका चर्चित यही गाउँपालिकामा उपाध्यक्षमा निर्वाचित शिवाकोटीको मतअन्तर भने करिब साढे चार हजारले फराकियो देखियो।

२०४९ र ५४ को निर्वाचनमा तत्कालीन लखनपुर गाविसको उपाध्यक्षमा निर्वाचित भएर उनले स्थानीय निकायको ‘सेकेण्ड मेन’ को रुपमा काम गरे। यसपटक पनि त्यहि ‘सेकेण्ड मेन’ कै रुपमा निर्वाचित भएपछि उनको ह्याट्रीक गर्न सफल भए।

एमालेको राजनीतिमा सिवाकोटी स्थापित र होलटायमर राजनीतिमा खेट्ने स्थानीय नेताका रुपमा उनी परिचित छन्। उनी तेस्रो पटकको यो जितले थप जिम्मेवारी बढेको महशुस गर्छन्। उनी भन्छन्, ‘पहिला देखिनै जनताकै काम गर्दै आएको छु, अहिलेका उपाध्यक्ष बनेको छु फेरि पनि जनताकै काम गर्छु।’ उनी एमाले पार्टीको विभिन्न तहमा बसेर समाज सेवा र राजनीति गर्दै आएका छन्। उनी अहिले एमाले झापाका सचिवालय सदस्य र अखिल नेपाल किसान महासंघका राष्ट्रिय समिति सदस्य पनि हुन्।

उम्मेदवारी टुंगो गर्दै गर्दा उनको नाम पनि प्रमुखमा आएको थियो। तर, व्यक्तिगत चाहनाभन्दा पार्टीको निर्णय प्रधान हुने उनले बताए। उनले भने, ‘उम्मेदवारी छनोटका बेलामा प्रमुखमा मेरो नाम नभएको होइन तर, पनि म पार्टीको एक इमानदार कार्यकर्ता त्यस कारण मैले इमानदारीसाथ पार्टीको निर्णय मानें।’

विगतको स्थानीय निकायभन्दा अहिलेको स्थानीय तह कार्यभार र अधिकारका दृष्टिकोणले पनि धेरै फरक रहेको उनी बताउँछन्। उनी भन्छन्, ‘पहिला सबै माथिबाट चल्नुपर्ने हुन्थ्यो अहिले सबै अधिकार यहीँ छ, त्यसैले गाउँको विकास सहज रुपमा गर्न सकिन्छ।’

उनले गाउँपालिकाको दक्षिणी क्षेत्रमा बसोबास गर्ने सन्थाल समुदायको उत्थानमा लाग्ने बताए। उनले भने, ‘सन्थाल समुदायहरु अहिले पनि सहज रुपमा शिक्षा रोजगार, स्वास्थ्य जस्ता क्षेत्रमा पहुँच पुर्याउन सकेका छैनन्, हामी उनीहरुको पक्षमा काम गर्नेछौं, उनीहरुको संस्कृतिको संरक्षणमा हामी लागिपर्नेछौं’।उनले पार्टीले विश्वास गरेर तीन पटकसम्म टिकट दिएको र जनताले मत दिएको बताउँदै कमल गाउँपालिकाको विकासमा आफू सधैं क्रियाशील हुने बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.