|

डोटी : दिपायल सिलगढी नगरपालिकाको कार्यालयमा एक अधबैसे महिला भावुक रुपमा नव निर्वाचित नगर प्रमुख मञ्जु मलासीलाई आफ्नो कुरा राख्दै थिइन्। उनी भन्दै थिइन् “नौ वर्ष भयो डाक्टरले पित्त थैलीमा पत्थरी छ भनेको, उपचार गराउनका लागि मसंग पैसा छैन, पति पनि भारतमा बेपत्ता छन्। त्यसैले यहाँबाट केही सहयोग हुन्छ कि भनेर आएकी हुँ। हजुर मलाई बचाइदिनुपर्‍यो।’ 

दिपायल सिलगढी नगरपालिका–८ निवासी २९ वर्षीया जमुना नेपाली आफू मात्रै उपचारका लागि गुहार माग्दै थिइनन्। खाली खुट्टाले आएकी जमुनाले आसु झार्दै भनिन् ‘ मैले मर्नुको विकल्प देखेकी छैन, मेरो कुनै शक्तिले पनि भ्याउदैन मलाई मात्र पत्थरी होइन, मेरो सात वर्षकी छोरीलाई पनि पिसाब नलीमा पत्थरी छ।’

उनकी छोरी निर्मलालाई पिसाब पोल्ने ब्यथा बढ्दै गएपछि गएको फागुनमा जाँच गराउँदा पिसाबथैलीमा पत्थरी देखिएको थियो। जमुनाले भनिन् ‘अब छोरी पहिले मर्छ कि म पहिले त्यो पनि थाहा छैन।’ 

७ बर्षदेखि पति बेपत्ता 

जमुनाका पति ७ वर्षदेखि बेपत्ता छन्।  छोरी जन्मेको एक वर्ष नपुग्दै पति तारा नेपाली रोजगारीका लागि भारतको पञ्जाव गए। पतिले पैसा कमाउलान् र आफू पनि उतै गएर पत्थरीको उपचार गराउँला भन्ने सोंचेकी जमुना अहिलेसम्म पतिकै बाटो कुरिरहेकी छन्। तर उनका पति कहाँ छन्, के गर्दैछन् भन्ने बारेमा अनभिज्ञ छिन्।

अहिले भने जमुनाले वेपत्ता पति भेटिन्छन् भन्ने आशा पनि मारिसकेकी छन्। त्यसैले  एकल महिलाको भत्ता उपलब्ध गराइदिन नगरपालिकासंग धेरै पटक आग्रह गरिन्। उनी भन्छिन् ‘श्रीमानको मृत्यु दर्ता गरेर विधवा भत्ता त पाइन्छ कि भनेको नगरपालिकाले हुन्न भन्यो, कम्तीमा भत्ताको साहारा त हुन्थ्यो।’

बहिनीको आस

जमुनाले घरपरिवारबाट सहयोग नपाएको गुनासो गरिन्। सहयोग माग्दै केही रकम जुटेपछि भारततिरै जाने उनको योजना छ। भारत पञ्जावमा रहेकी बहिनीले सहयोग गर्ने हुन् कि हैनन् भन्ने पनि थाह छैन उनलाई। “बैनीका खुट्टा छुन्थे, उसैलाई आग्रह गर्थे’ पञ्जाव रहेकी बहिनीलाई सम्झदै उनी भन्छिन् ‘पञ्जाब पुर्‍याइदिने मान्छे पनि कोही छैन।’  दुई छोरी र एक छोराकी आमा जमुना पित्तथैलीमा पत्थरी हुँदाहुँदै पनि दैनिक मजदुरी गरेर छोराछोरी पाल्दै आइरहेकी छन्। उनी भन्छिन् ‘अब त सहनै नसक्ने भए, कसरी बाँचु?’

आमाको वृद्धभत्ता सहारा 

पत्थरीले थला परेकी जनुनाको साहारा आमाको वृद्धभत्ता बनेको छ। छोरीको दयनीय अवस्थाका कारण बृद्ध आमाले आफूले बुझ्ने गरेको सामाजिक सुरक्षाको रकम छोरीलाई दिँदै आएकी छन्। जमुनाले भनिन् ‘माइतीको पनि सहयोग गर्ने कुनै ठाउँ छैन, आमाले केही सीप  नलागेर भत्ता मलाई दिने गर्नुभएको छ।’

जमुनाको कुरा सुनेपछि नगर प्रमुख मलासीले उपचारका लागि सक्दो पहल गर्ने आश्वासन दिइन्। ‘उहाँको यो समस्याका विषयमा म कार्यकारी अधिकृत र जिल्ला अस्पताल डोटीसंग समन्वय गर्छु कहाँबाट कसरी सहयोग गर्न सकिन्छ  म पहल गर्छु' उनले भनिन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.