|

नेपाली कम्युनिष्ट आन्दोलनका अग्रणि, नेपालमा कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको आज ३९औँ स्मृति दिवश हो। नेपालमा कम्युनिष्ट आन्दोलानको सूत्रपात गर्ने पुष्पलाल समग्र नेपाली राजनीतिमै उच्च सम्मानका साथ लिइने नाम हो।

वि. सं. १९८१ असार १५ गते रामेछापमा बुबा भक्तलाल र आमा तुलसीकुमारीका माहिला छोराका रूपमा जन्मिएका हुन् पुष्पलाल। उनका दाजु गंगालाल श्रेष्ठ राणाविरोधी आन्दोलनमा लागेका कारण १९९७ मा अन्य तीनजनासँगै निरंकुश राणा शासकबाट मारिएका थिए। चार शहीदमध्येका एक गंगालालको सपना साकार पार्ने प्रणसहित पुष्पलाल पनि राजनीतिमा होमिए।

भनिन्छ, गंगालाललाई गोली हानी मार्नुअघि भद्रगोल जेलमा भेट्न जाँदा भाइ पुष्पलाललाई गंगालालले भनेका थिए रे, ‘माहिला, मैले प्रजातन्त्रका निमित्त बालेको दियोलाई तैँले प्रज्वलित गर्नेछस्।’ 

दाजु गंगालालको यही प्रेरक शब्दले नै पुष्पलाललाई नेपाली राजनीतिमा सक्रिय हुन प्रेरित गर्‍यो। र, पुष्पलाल नेपाली कम्युनिष्ट राजनीतिक इतिहासमा स्वर्णाक्षरले अंकित हुनपुगे।

दाजु गंगालाललाई निरंकुश राणाशाहीले मारेको एक वर्षपछि अर्थात् १९९८ सालमा पुष्पलाल श्रेष्ठकै अगुवाइमा प्रेमबादुर कंसाकार, शम्भुराम श्रेष्ठ, सूर्यबहादुर भारद्वाज, राजारामहरू सम्मिलित राजनीतिक संगठन नेपाली प्रजातान्त्रिक संघ गठन गरियो। संघको कार्य नै जहानियाँ राणा शासनबाट देश र जनतालाई मुक्ति दिलाउने कामका लागि विविध क्रियाकलाप र गतिविधि सञ्चालन गर्ने थियो।

यही क्रममा पुष्पलालको भेट नेपाल प्रजा परिषदका नेताहरूसँग हुन गयो। टंकप्रसाद आचार्यसहितका नेताहरूसँग भेट भएपछि राणाविरोधी आन्दोलनलाई तीब्रता दिन सजिलो भयो। 

यता, नेपाली राष्ट्रिय कांग्रेसले जनताको अधिकारका लागि आन्दोलन गरिरहेको थियो। यसै क्रममा पुष्पलाललगायतका नेताहरू पनि उक्त आन्दोलनमा जोडिन पुगे। यही आन्दोलनका कारण तत्कालीन श्री ३ पद्मशमशेरले देखावटी नै भए पनि जनताका अधिकारबारे सम्बोधन गर्न बाध्य भए। यसको फलस्वरूप नेपालको वैधानिक कानुन, २००४ जारी गर्न पद्मशमशेर बाध्य भए।

मार्क्स र लेनिनका विचारबाट प्रभावित पुष्पलालले यिनै विचारलाई आत्मसात् गर्दै २००६ सालमा भारतको कलकत्तामा नेपाल कम्युनिष्ट पार्टीको स्थापना गरे। तत्कालीन भारतीय कम्युनिष्ट नेताहरूसँगको भेट र संगत अनि उनीहरूका विचार र व्यवहारबाट प्रभावित पुष्पलालले भारत छोडो आन्दोलनलाई पनि राम्ररी नियालिरहेका थिए।

पुष्पलाल सच्चा कम्युनिष्ट नेताः डा. मोदनाथ प्रश्रित
पुष्पलालसँग मेरो लामो संगत रह्यो। नेपाली कम्युनिष्ट आन्दोलनलाई सुरु गर्ने र एउटा उचाइमा पुर्‍याउने श्रेय उनैलाई जान्छ। स्पष्ट नीति र कार्यक्रमसहित कम्युनिष्ट पार्टीलाई दिशा दिनसक्ने पुष्पलाल नै नेपाली कम्युनिष्ट आन्दोलनका आदर्श व्यक्तित्व हुन्।
मैले आजसम्मको नेपाली कम्युनिष्ट पार्टीको इतिहासमा पुष्पलालजत्तिको संघर्षशील, निस्वार्थी र जिम्मेवार नेता देखेको छैन। उनी एक कुशल राजनीतिक संगठक र विचारकसमेत हुन्। नयाँ जनवादी क्रान्तिमार्फत मुलुकमा आमूल परिवर्तन संभव छ भन्ने उनको मान्यता थियो।  बीसको दशकपछि नेपाली कम्युनिष्ट आन्दोलनमा देखापरेको टुटफुटले आजसम्म निरन्तरता पाइरहँदा नेपाली कम्युनिष्ट आन्दोलन अप्ठेरोमा परेको यथार्थ छ।
त्यसयता नेपाली कम्युनिष्ट नेता मिलेर बसेका देखिएको छैन। कुनै न कुनै बहानामा विभाजित हुने क्रम बढ्दो छ। सानासाना संगठन बनाएर त्यसमै रमाउने प्रवृत्तिले नेपाली कम्युनिष्ट आन्दोलनलाई शिथिल बनाउने देखिन्छ। यद्यपि, पुष्पलालको सपना यो थिएन। नयाँ जनवादी क्रान्तिमार्फत् समग्र मुलुक र मुलुकवासीको उन्नति, प्रगति हुनसक्छ भन्ने मान्यता थियो उनको। यसका लागि कम्युनिष्टभित्र मात्र होइन, कांग्रेससँग पनि एकता र सहकार्य गर्नुपर्छ भन्ने धारणा उनमा थियो।
भारत निर्वासनकै समयमा इन्दिरा गान्धीले भारतमा संकटकाल लगाएपछि वीपी कोइराला अब भारतमा बस्न नसकिने हुँदा नेपाल फर्कौं भन्दै पुष्पलालकहाँ पुगेका थिए। तर पुष्पलालले भारतमै बसेर संघर्ष गर्ने अडान लिए। यसपछि वीपी स्वदेश फर्किए तर पुष्पलाल कलकत्तातिर लागे। उतै उनी बिरामी परे र मृत्यु भयो।
समग्रमा भन्दा पुष्पलाल नेपाली राजनीतिक इतिहासका एक अनुकरणीय नेता हुन्। सादा जीवन र उच्च विचारका धनी थिए पुष्पलाल। श्रमिक, उत्पीडित र किशानका हितमा सधैँ सोचिरहने पुष्पलाल सम्पूर्ण जीवन देश र देशवासीका नाममा समर्पण गर्दै यस लोकबाट बिदा भए। यस्ता सच्चा आदर्शवादी नेता नेपाली राजनीतिले फेरि पाउला या नपाउला, भन्न सकिन्न।


पुष्पलालले नेपालमा कम्युनिष्ट पार्टीको बिस्तारका लागि, नेपाली जनतालाई कम्युनिष्ट पार्टीका आदर्श र सिद्धान्तबारे सचेत गराउन र प्रशिक्षित तुल्याउनका लागि कम्युनिष्टहरूको गीता भनेर चिनिने कम्युनिष्ट मेनिफेस्टो (कम्युनिष्ट घोषणापत्र)लाई नेपालीमा अनुवाद गरे।

२०१५ सालमा भएको पहिलो आमचुनावमा देशका विभिन्न भेगमा गई पार्टी बिस्तारमा लागे पुष्पलाल। तर २०१७ पुस १ को घटनापछि भने पुष्पलाल अन्य नेताहरूसँगै भूमिगत र निर्वासित जीवन बिताउन बाध्य भए। यहीबीचमा उनले पार्टीको महाधिवेशन पनि गराए।

१०४ वर्षे राणाशासनको अन्त्य गर्न नेतृत्वदायी भूमिका निर्वाह गरेका पुष्पलालको मान्यता थियो कि देश र जनताको मुक्तिका खातिर लड्दै आएका नेपाली कांग्रेस र कम्युनिष्टको संयुक्त प्रयासविना निर्दलीय पञ्चायती व्यवस्थाको पनि अन्त्य संभव छैन। उनी कांग्रेस र कम्युनिष्टबीचको संयुक्त प्रयासमा जोड दिँदै आएका थिए, निर्दलीय पञ्चायत ढाल्नका लागि, जुन पछि त्यसै कारण संभव पनि भयो।

पुष्पलाल कहिल्यै पनि जातपातको पक्षमा थिएनन्, जातपातले नेपालीको हित संभव छैन भन्ने कुरा उनलाई राम्ररी थाहा थियो। वर्गको संघर्षबाट जातमा झरेपछि न देश, न जनताको हित हुन्छ भन्ने धारणा उनको थियो। उनले यसै कारण हुन सक्छ, आफ्नो नामका पछाडि जात जनाउने थर राख्न चाहेनन्।

अनेक जात, भाषा, धर्म, संस्कृति र परम्परा रहेका नेपालीबीच भाइचारा र सद्भावपूर्ण सम्बन्धले नै देश र जनताको उन्नति देख्ने पुष्पलाल सदैव सामाजिक सद्भाव, समन्याय र सहअस्तित्वको पक्षमा थिए।

तात्कालीन नेपाली समाजलाई विविध कोणबाट हेर्ने र त्यसको सही विश्लेषण गरी समाजलाई समृद्धिको मार्गमा लैजानका लागि वैज्ञानिक विचारधाराको अनुसरण गर्न प्रेरित गर्ने पुष्पलालका विचार र मान्यताबाटै आजको नेपाली कम्युनिष्ट आन्दोलन अभिप्रेरित छ। 

तत्कालीन नेपाललाई अर्धसामन्ती र अर्धऔपनिवेसिक भनेर विश्लेषण गर्ने पुष्पलाल कति दूरदर्शी थिए भन्ने कुरा सोही बेलाको उनको निचोड आजसम्म देखिनुले पुष्टि गर्छ। आज पनि नेपाल अर्धसामन्ती र अर्धऔपनिवेसिक अवस्थाबाट मुक्त हुनसकेको छैन। आजका प्रायः कम्युनिष्ट पार्टीको नेपालको वर्तमान परिवेशको विश्लेषण लगभग पुष्पलालकै धारणासँग मिल्न गएको छ। नेकपा माओवादी केन्द्रले पनि नेपाललाई पाँच दशकअघि पुष्पलालले देखेको अवस्थामै देखेको उल्लेख गरेको छ, अर्थात् अर्धसामन्ती र अर्धऔपनिवेसिक मुलुकका रूपमै नेपाललाई हेरेको छ माओवादीले पनि।

नयाँ जनवादी क्रान्तिको वकालत गर्ने पुष्पलाल नेपाली कम्युनिष्टहरूको लक्ष्य वैज्ञानिक समाजवाद हो भन्थे। जनअधिकारको रक्षार्थ सम्पूर्ण राजनीतिक शक्तिमा एकता र सहकार्य आवश्यक भएको कुरामा उनी प्रष्ट थिए। राजनीतिक शक्तिहरूको उद्देश्य नै देश र जनताको कल्याण भएकाले यस कार्यका लागि कतिपय कुरामा सम्झौता र सहकार्य फरक विचार राख्नेहरूसँग पनि गर्नसक्नुपर्ने उनको तर्क थियो।

कम्युनिष्ट नेताहरूबीच नै वैचारिक विभेद सुरु भयो, दोस्रो महाधिवेशन, २०२२ पश्चात्। कम्युनिष्ट पार्टीका दुई प्रभावशाली नेताहरू केशरजङ रायमाझी र तुलसीलाल श्रेष्ठसँग पुष्पलालका विचार बाझे। यहीँबाट नेपाली कम्युनिष्ट आन्दोलनमा फुटको सुरुवात भयो। यो क्रम तीसको दशकयता उसरी बढेर गयो कि नेपाली कम्युनिष्टहरू अनेकौँ टुक्रामा विभक्त बने। बरमझियाका पेडा पसले जस्ता अनेक नामका कम्युनिष्ट पार्टी खुले, तर मार्क्सवाद, लेनिनवाद, माओवादचाहिँ उनीहरूका सिद्धान्तमा रही रहे, बाजेको पेडा पसल जस्तो।

वास्तवमा नेपालको वर्तमानको कम्युनिष्ट आन्दोलन दिशाहीन जस्तै बनेको छ। पुष्पलालका आदर्श र विचारलाई कागजमा सीमित गरेर अहिलेको नेपाली कम्युनिष्ट आन्दोलन व्यक्तिकेन्द्री, सत्ताकेन्द्री बन्न पुगेको छ। यदि पुष्पलाल आज जीवित थिए भने पक्कै उनी नेपाली कम्युनिष्ट आन्दोलनको वर्तमानलाई देखेर विक्षिप्त बन्ने थिए। उनको सपना, उनका मान्यता, उनका आदर्श वर्तमानका नेपाली कम्युनिष्ट पार्टीले पोलेर खाएजस्तो लाग्छ। 

वि. सं. २०३५ साउन ७ गते नयाँ दिल्लीको एक अस्पतालमा उपचार गराउँदै गर्दा नेपाली कम्युनिष्ट राजनीतिका शीर्ष पुरुष, राणाविरोधी आन्दोलनका कुशल नेता, पञ्चायतविरोधी अभियानका जिम्मेवार व्यक्तित्व पुष्पलाल श्रेष्ठको निधन भयो।

आज पनि पुष्पलाल नेपाली राजनीतिको शिरमै रहेका छन्। उनले नेपाल र नेपाली जनताको मुक्तिका निम्ति गरेको संघर्ष र दिएको योगदानको नेपाली राजनीतिक इतिहासले उच्चमूल्यांकन र सम्मान गरिरहेको छ, गरिरहनेछ।

व्यावहारिक नेता हुन् पुष्पलाल: लोककृष्ण भट्टराई
नेपाली कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल नेपाली कम्युनिष्ट आन्दोलनका वैचारिक नेता हुन्। सर्वहारा, किशान र मजदुरका खास नेता हुन् उनी। देश र जनताका समस्यालाई राम्ररी बुझेका नेता हुन् पुष्पलाल। 
मुलुकमा गणतन्त्रको वकालत गर्ने नेता हुन् पुष्पलाल। अत्यन्तै शालीन, व्यावहारिक र जिम्मेवार नेता हुन उनी। उनको स्वभाव कस्तो थियो भने उनी आफूलाई भेट्न आउनेहरुलाई आफैँ खाना बनाएर खुवाउँथे, भाँडा आफैँ माझ्थे। उनलाई भेट्न आउनेलाई घुम्न पठाउँथे र आफू खाना बनाउन थाल्थे। 
उनी बुर्जुवा कम्युनिष्ट थिएनन्, सच्चा कम्युनिष्ट थिए। कम्युनिष्ट घोषणापत्र अनुवाद गरेका उनले नेपाली माटोमा कम्युनिष्ट आदर्शको गजल बसालेका हुन्। विश्वमै उन्नत र नेतृत्वदायी मुलुक निर्माणको उनको सपना आजसम्म साकार हुनसकेको छैन। अहिलेका कम्युनिष्ट नेताहरुले उनका आदर्शलाई उच्च सम्मान गरेको बताउँदै आए पनि सोअनुसार व्यवहार गरेको देखिँदैन। 
पुष्पलालको सपनालाई साकार तुल्याउन फेरि अर्को क्रान्ति आवश्यक देख्छु म। मुखले बोलेर र कागजमा लेखेर पुष्पलालका सपना साकार हुनसक्दैनन्, व्यवहारमा लागू गरे मात्र यो संभव छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.