|

चितवन : मुग्लिन-नारायणगढ सडकका कतै पहिरो खसेको छ, कतै पहिरो खस्न ठिक्क परेको छ त कतै पहिरो खस्ने सम्भावनाका ठूला चट्टान छन्।

कतिपय पहाडका ढुंगाहरु पटपट फुटेका देखिन्छन्। माथि हेर्दै डरलाग्दो, तल छङगाछुर भिर, त्यसतल बाढीले उर्लेको त्रिशुली नदी। सडकमा ठुला ठुला खाल्डा, ढुंगा। गाडीको तल्लो भाग ठोक्किने समस्या उस्तै।

कतै गाडी विग्रेका कारण सडक एकतर्फी मात्रै बनेका छन्। कतै गाडी चिप्लिएर भित्तामा पल्टिएका छन्। गाडी चलाउँदा चलाउँदै कतिखेर ढुंगाले लाग्छ थाहा हुन्न चालकलाई। एकजना माइक्रो चालक सेनबहादुर गुरुङ भन्छन्, ‘ज्यान धरापमा पारेर गाडी चलाउनुपर्छ, ज्यानै जोखिम छ हजुर।’ 

हल्का पानी पर्दा खेत रोप्न बनाएको जमिन जस्तो दवदबे हिलो हुन्छ। एकछिन घाम लागे त्यो हिलो धुलाम्मे कुहिरोमा परिणत हुन्छ। धुलोले अगाडिको गाडी देखिंदैन। गाडी भित्र बसेका यात्रुहरु धुलोमैलो हुन्छन्।

मोटरसाइकल यात्रा गर्नेहरुको अनुहार चिनिंदैन। अधा घण्टाको मुग्लिन सडकको ३४ किलोमिटर बाटो कुनै समस्या नभए कम्तीमा २ देखि ३ घण्टामा पार गर्नुपर्ने जोखिम यात्रा। चितवनको नारायणगढ मुग्लिन सडकको वास्तविक अवस्था यस्तै छ।

 ग १ ख २७८७ का माइक्रो चालक सेनबहादुर गुरुङ असार ९ गते राति मुग्लिन सडकको कालिखोलामा प्रहरीको गाडी पहिरोमा पर्दा चौथो नम्बरमा उनको गाडी थियो। साइरन बजाउँदै आएको प्रहरीको गाडी र एउटा ट्रकलाई एक्कासी पहिरोले बगाएका देख्ने प्रत्यक्षदर्शी उनी छन्।

‘त्यस दिनदेखि मुटु ढुकढुक हुन्छ गाडी चलाउँन्, आफ्नै आँखाले देखेको घटना, फेरि गाडी नचलाएर पनि नहुने, खतरा मोलेर चलाउँछु गाडी,’ चालक गुरुङ थप्छन्।

उनको गाडी फोहर थियो। धुलाम्मे र हिलाम्मे थियो। यात्रु बस्ने सिटमा धुलै धुलो थियो। यो गाडी म अब सफा नि गर्दीन, बनाउँदा नी बनाउँदिन, मुग्लिन सडकको रिस पोख्दै चालक गुङ कड्किनुभयो । आज गाडी बनायो भोली उस्तै ।

उिनलाई मुग्लिन सडक नर्माणको ढिलासुस्तीले पिडा आक्रोस हुन्छ।  शुक्रबार भरतपुर विहान ९ बजे छुटेको उक्त माइक्रो राती ६ बजे काठमाडौ आइपुग्यो। यात्रुहरु मुग्लिन सडकको ३४ किलोमिटर क्षेत्रमा डराई डराई आए। ‘भगवान पानी नपरे हुन्थ्यो’, यात्रुहरु भन्दै थिए।

एकजना यात्रु प्रकाश शर्मालाई दासढुंगा कटेपछि ज्यान के हुने हो भनेर त्यसै डर लागेर आउँछ। त्यसैले धेरै यात्रु हवाइ मार्ग प्रयोग गर्छन । शर्माले भन्नुभयो,‘मुटु काम्छ यो यात्रामा।’

गरिब र कमजोर आर्थिक अबस्था भएकाहरु मात्रै अहिले मुग्लिन सडकको यात्रा गर्ने गरेको चालकहरु बताउँछन्। शुक्रबार मुग्लिन सडककोबीच २ ठाउँमा ट्रक बिग्रिएका कारण यात्रुले ठुलै सास्ती पाए।

एकठाउँमा सडकको भित्तामा गाडी पल्टिएको थियो । विभिन्न ठाउँको जामले गाडीहरु ताँती लगाएर हिडिरहेका देखिन्थे । कतै गाडीको उछिनापाछिनले पनि जाम बढाएको थियो ।

नारायणगढ मुग्लिन सकड आयोजनाका इन्जिनियर शिव खनाल पहिले भन्दा अहिले ट्राफिक समस्या निकै घटेको बताउँछन्। मुग्लिन सडक निर्माणको काम गएको बैशाखमा सकिनुपर्ने थियो।

नसकिएपछि आगामी पुस सम्मलाई म्याद थपिएकोमा अझै नसकिने भएकाले हालैमात्र फेरि ६३ दिनका लागि म्याद थपिएको उनको भनाइ छ। हालसम्म उक्त सडक निर्माणको काम जम्मा ५२ प्रतिशत मात्रै सम्पन्न भएको खनाल बताउँछन्।

ट्राफिक प्रहरी कार्यालय चितवनका प्रहरी निरिक्षक सन्तोष पन्त अहिले मुग्लिन सडक सहज पार्न विभिन्न क्षेत्रमा प्रहरी परिचालन गरिएको बताउँछन्। उनले मानवीय जोखिम बढेपछि सो क्षेत्रमा सवारीको चाप समेत घटेको बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.