|

काठमाडौं : पहिलो र दोश्रो चरणको स्थानीय तह निर्वाचन अपेक्षित परिणाम नआएपछि निर्वाचन केन्द्रित रणनीति बनाउन नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सुरु भएको छ। बैठकमा स्थानीय तहको निर्वाचन परिणामले उठाएका प्रश्न, सांगठनिक कमी कमजोरी औल्याउँदै आगामी निर्वाचनमा अवलम्बन गर्नुपर्ने रणनीतिबारे छलफल भइरहेको केन्द्रीय सदस्य महेश आचार्यले जानकारी दिए।

'निर्वाचनको परिणामले उठाएका थुप्रै प्रश्नहरू, कांग्रेसको सांगठनिक शक्तिको परिचालनमा देखिएका कमी कमजोरीहरू के हुन् यसको वृहत समीक्षा गरेर आगामी निर्वाचनमा पार्टीले अख्तियार गर्नुपर्ने रणनीतिमा छलफल केन्द्रित भएको छ', केन्द्रीय सदस्य आचार्यले भने, 'संगठनसँग सम्बन्धित तयारी, नेताहरूले सार्वजनिक रुपमा लैजाने एजेन्डा र राष्ट्रिय राजनीतिका महत्वपूर्ण एजेन्डाहरूमा कांग्रेस नेतृत्वले उठाउनुपर्ने विषयमा छलफल जारी छ।'

पहिलो र दोश्रो चरणको स्थानीय तहको निर्वाचनमा खटिएका केन्द्रीय सदस्यहरूबाट टिकट वितरण, संगठन परिचालन लगायत निर्वाचनमा भएका कमी कमजोरीको समीक्षा गर्दै भावी रणनीति तयार गर्न  बैठक केन्द्रित भएको अर्का केन्द्रीय सदस्य प्रदीप पौडेलले जानकारी दिए।

'कहाँ कहाँ कमजोरी गर्‍यौँ, के के कमजोरीका कारण यो समस्या आयो भन्नेमा छलफल केन्द्रित छ', पौडेलले भने, 'निर्वाचनमा खटिएका केन्द्रीय सदस्यले आफ्नो गाउँपालिका र नगरपालिकामा के कस्ता अनुभव गर्नुभयो, केन्द्रीय तह वा स्थानीय तहबाट उम्मेदवार छनोट गर्ने क्रममा अथवा संगठन परिचालनको सन्दर्भमा के कमजोरी भयो समीक्षा गर्ने क्रम चलिरहेको छ।' पहिलेका निर्वाचनको समीक्षा गरेर आउँदा निर्वाचनमा कमी कमजोरी हटाउँदै कांग्रेसलाई सशक्त र पहिलो पार्टी बनाउन के गर्नुपर्छ भन्नेमा छलफल चलिरहेको उनले बताए।

बैठकको सुरुवातमा पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले आफ्नो धारणा राखेका छन्। सबै केन्द्रीय सदस्यले आ–आफ्नो धारणा राख्ने भएकाले बैठक कम्तिमा तीन दिन चल्ने केन्द्रीय सदस्य पौडेलले जानकारी दिए।

स्थानीय तहको निर्वाचन परिणामको समीक्षाको अलावा मन्त्रिपरिषद विस्तार, संविधान संशोधन तथा प्रादेशिक र केन्द्रीय संसदको निर्वाचन लगायत विषयमा पनि बैठकमा छलफल भएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.