|

दमक : भारतसँग सीमा जोडिएका झापाका विभिन्न नाकामा सरकारले राजश्व संकलन गर्ने उद्देश्यले स्थापना गरेका छोटी भन्सारको कार्यालय लथालिङ भएका छन्। मेची भन्सार कार्यालय काँकडभिट्टा मातहतमा रहेका अधिकाशं छोटी भन्सार कार्यालयहरुको सेवा ठप्प हँुदा राजश्व संकलन प्रभावित भएको छ।

छोटी भन्सार कार्यालयको करोडौं मुल्य बराबरको भौतिक संरचनाको समेत जीर्ण बन्दै गएको छ। झापाका भारतीय सीमानाकामा केही वर्षअघिसम्म मेची भन्सार कार्यालयको मातहतमा रहेका १२ वटा छोटी भन्सार कार्यालयहरु थिए। तर, अहिले सञ्चालनमा रहेका ५ मध्ये एउटा भद्रपुर छोटी भन्सारले मात्रै नियमित र प्रभावकारी कार्य गरिरहेको छ।  

बाहुनडाँगी, नकलबन्दा, गौरीगञ्ज र झापाबजारमा रहेका छोटी भन्सारको अवस्था दयनीय छ। गाडागल्ली, सतिघट्टा, पाठामारी, घेराबारी, पन्थपाडा, केचना र महाभारामा रहेका छोटी भन्सारहरु यसअघि नै बन्द भइसकेका छन्।

झण्डै २० वर्ष अघिदेखि बन्द रहेका छोटी भन्सार कार्यालय सञ्चालनमा आउन नसक्दा कार्यालय भवन र भौतिक संरचना जीर्ण बनेका छन्। भारतको पश्चिम बंगाल र विहार राज्यका सिमावर्ती बजारहरुबाट आयातित सामग्रीहरु सोही नाका भएर नेपाल भित्रन्छन्।

त्यस्तै नेपालबाट पशु चौपाया पनि सोही नाका भएर भारत लैजाने गरिएको छ। स्थानीय तहको निर्वाचनबाट जनप्रतिनिधि निर्वाचित भए लगत्तै त्यस क्षेत्रका स्थानीयवासीले पुनःछोटी भन्सार कार्यालय स्थापनाको माग अघि सारेका छन्।

भन्सार स्थापना भए भारतबाट सामान आयातमा आफूहरुलाई सहज हुने र चोरीपैठारी समेत नियन्त्रण हुने बताउँछन्। भन्सार सञ्चालनमा नआउँदा स्थानीय प्रहरीले अवैध निकासी पैठारी गर्नेहरुसँग नजरआनाबापत रकम असुल्न सजिलो भएको माहाभाराका स्थानीय राजकुमार अधिकारी बताउँछन्।

उनले भने,‘यो नाकामा भन्सार नबस्दा तस्करलाई सजिलो भएको छ। प्रहरी नै कार्यालय अगाडी बसेर तस्करसँग सेटिङ्ग मिलाउँछन्।’ उनले अब जनप्रतिनिधिहरुले भन्सार कार्यालय सञ्चालन गर्नुपर्ने बताए। उनले भने,‘हामीले जनप्रतिनिधिबाट भन्सार सञ्चालनको आशा गरेका छौँ, यहाँको आर्थिक स्रोत पनि हुन्छ, त्यसैले भन्सार सञ्चालन गर्नु पर्छ।’

भन्सार सञ्चालन नहुँदा आफूहरुलाई धेरै समस्या भएको कचनकवलका स्थानीय परन राजवंशी बताउँछन्। उनी भन्छन्,‘ भन्सार नहुँदा हामीले धेरै समस्या भोग्नु परेको छ, प्रहरीले धेरै दुख दिन्छ, त्यसैले तत्काल भन्सार सञ्चालनमा आउनुपर्छ।’

स्थानीयका अनुसार सञ्चालनमा नै रहेका ५ वटा छोटी भन्सारमा पनि नियमित कर्मचारी नबस्दा कार्यालयको भवन देखि भौतिक संरचना समेत जीर्ण बन्दै गएको छ।

हालपूर्वी नाका काँकरभिट्टामा रहेको मेची भन्सार कार्यालय र भद्रपुरको छोटी भन्सार कार्यालयमा मात्र राजश्व सकंलन हुँदै आएको छ। अन्य नाकामा भन्सार नभएकै कारण अवैध धन्दा र चोरी निकासीले प्रोत्साहन पाइरहेको स्थानीयको गुनासो छ।

कारोबार न्यून हुने र भौतिक संरचना जीर्ण भएसँगै संरचना अभावका कारणले छोटी भन्सारबाट प्रभावकारी ढंगले काम गर्न नसकिएको मेची भन्सार कार्यालय काँकडभिट्टाका प्रमुख भीमप्रसाद अधिकारीले बताए। उनले भने,‘भौतिक संरचना त जीर्ण छदैँछ, अझै भद्रपुरको छोटी भन्सारबाहेक अन्य भन्सारले ५ हजारभन्दा माथि कारोबार नगर्ने कानुन भएकाले पनि समस्या भएको हो,’ उनले भने। 

उनले अरु छोटी भन्सार सञ्चालनमा आउन पनि कानुनको संशोधन आवश्यक रहेको बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.