|

सोलुखुम्बु : लाभग्राहीको सूचीमा परेका भुकम्प पीडितलाई निजि आवास पुनःनिर्माणका लागि पहिलो किस्ता बापतको अनुदान रकम साउनको दोस्रो सातादेखि वितरण सुरु हुने भएको छ। लाभग्राहीको सूचीमा परेका जिल्लाका १० हजार ७९४ घरधुरीमध्ये ८ हजार ९५ लाभग्राहीले अनुदान सम्झौता गरिसकेका छन्।

साबिक गाविसहरु नाम्चे, चौँरीखर्क र खुम्जुङ बाहेकका गाविसका पिडितलाई पहिलो किस्ता वितरणको तयारी भइरहेको छ। यसका लागि संघिय मामिला तथा स्थानीय बिकास मन्त्रालय अन्तर्गतको केन्द्रिय आयोजना कार्यन्वयन इकाइबाट सोलुखुम्बुका लागि ३७ करोड ७७ लाख ९० हजार रुपैयाँ रकम निकासा भइसकेको जिल्ला समन्वय समितिका भूकम्प सम्पर्क व्यक्ति भोजनारण राजभण्डारीले जानकारी दिए।

जिल्लाको साबिक एक नगरपालिकासहित २७ गाविसमा माघ, फागुन र चैत्र महिनामा लगत संकलन गरिएको थियो भने सगरमाथाको काखमा रहेका तीन गाविस नाम्चे, खुम्जुङ र चौरीखर्कमा भने मौसम प्रतिकुलताको कारण वैशाखमा मात्र तथ्याङ्क संकलन गरिएको थियो।

तथ्याङक संकलनको काम नै ढिलाई भएका साबिक तीन गाविसको तथ्याङ्क जिल्ला समन्वय समितिको कार्यालयमा प्राप्त नभएको पनि सम्पर्क व्यक्ति राजभण्डारीले बताए।

अनुदान पाउन योग्य घरधुरीलाई जिल्लाको दुईवटा बैँकबाट रकम वितरणको तयारी गरिएको छ। राष्ट्रिय बाणिज्य बैँक शाखा कार्यालय सल्लेरीबाट साबिक १७ गाविस र कृषि बिकास बैँक शाखा कार्यालयबाट १२ गाविसका लाभग्राहीलाई रकम वितरणको व्यवस्था मिलाइएको छ।

विनाशकारी भूकम्प गएको २७ महिना बितिसकेपछि निजी आवास पुनर्निर्माणका लागि अनुदान स्वरुप पहिलो किस्ताको रकम पाउनलाग्दा सोलुखुम्बुका प्रभावितहरु  हर्षित छन्।  उनीहरुले पहिलो किस्ता बापत  ५० हजार रुपैयाँ प्राप्त गर्नेछन्।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.