|

गोरखा : उमेरले ७० टेक्नै लागेका प्रेमकुमार लामा (करमान) समाज सेवाका तन्नेरी हुन्। अजिरकोट गाउँपालिका ४ सिरान्डाँडाका करमान नै गाउँको विकास निर्माणको नेता हुन्। गाउँलेले पनि करमानलाई राम्रै विश्वास गरेका छन्। गाउँलेको खुसी नै आफ्नो खुसी भनेर करमानले २०६८ सालदेखि गाउँमा विजुलीबत्ती लैजान पहल गरे। उनको पहलले नै अहिले गाउँ झिलिमिली भएको छ।

गाउँका सबै घरमा बिजुली बत्ती नबलेसम्म आफ्नो घरमा बत्ती नबाल्ने भनी बिजुली ल्याउन खटे करमान। सिरान्डाँडा, भच्चेक, मात्ले, फाल्पु लगायतका गाउँमा बत्ती बालेर मात्र आफ्नो घरमा बत्ती बाल्ने अठोटका साथ उनी लागेका थिए।

‘०६८ सालदेखि यो क्षेत्रमा बत्ती ल्याउन लडिरहें’ उनले भने ‘बल्ल सबैकोमा बत्ती बल्यो मेरोमा पनि बल्यो।’ त्यस क्षेत्रका करिब ४ सय घरधुरीमा बिजुली बत्ती बलेपछि गत मंसिर २० गते करमानले आफ्नो घरमा पहिलो पटक बिजुली बत्ती बाले। वाइरिङ भने गरेर राखेका थिए।  करमान अहिले चैनपुर भच्चेक सिरान्डाँडा विद्युत उपभोक्ता समितिका अध्यक्षसमेत हुन्।

देशमा संविधान जारी हुनुपर्ने भन्दै लामो समय दारी कपाल पालेका उनले संविधान जारी भएको दिन खुसी हुँदै दारी तथा कपाल खौरेका थिए। करमान खेती किसानी सँगै समाज सेवामा लागेका छन्। गाउँमा उनकै पहलले मात्र बिजुली बत्ती सम्भव भएको सिरान्डाँडाका कान्छा लामा बताउँछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.