|

डडेल्धुरा :  गत आर्थिक वर्ष ०७३÷०७४ का लागि आएको कुल वार्षिक बजेटमध्ये ५९ करोड ९६ लाख ४२ हजार ७ सय ५८ रुपैयाँ फ्रिज गएको छ। विभिन्न सरकारी कार्यालयमार्फत खर्च हुने गरी आर्थिक वर्ष ०७३÷०७४ का लागि आएको वार्षिक बजेटमध्ये १५ दशमलव ३ प्रतिशत बजेट फ्रिज गएको कोष तथा लेखा नियन्त्रक कार्यालय डडेल्धुराले जनाएको छ।

जिल्लाका लागि चालु र पुँजीगत गरी कुल वार्षिक बजेट ३ अर्व ९१ करोड ८४ लाख ३६ हजार ४५ रुपैयाँ प्राप्त भएकोमा ३ अर्ब ३१ करोड ८७ लाख ९३ हजार अर्थात् ८४ दशमलव ७ प्रतिशत बजेट खर्च भएको छ भने ५९ करोड ९६ लाख ४२ हजार ७ सय ५८ रुपैयाँ फ्रिज गएको कोष तथा लेखा नियन्त्रक कार्यालय डडेल्धुराका प्रमुख कोष नियन्त्रक लक्ष्मीप्रसाद जोशीले बताएका छन्।

चालु बजेटतर्फ जिल्लाका १३ वटा कार्यालयले सबै बजेट खर्च गरेका छन्। शतप्रतिशत बजेट खर्च गर्ने कार्यालयहरुमा निर्वाचन अधिकृतको कार्यालय परशुराम, निर्वाचन अधिकृतको कार्यालय आलिताल, निर्वाचन अधिकृतको कार्यालय नवदुर्गा, गरुड दल गण दह, अमरगढी नगरपालिका रहेका छन्।

यस्तै, जिल्ला प्रविधिक कार्यालय, परशुराम नगरपालिका जोगबुडा,  आलिताल गाउँपलिका, भागेश्वर गाउँपालिका, नगदुर्गा गाउँपालिका, अजयमेरु गाउँपालिका, गन्यापधुरा गाउँपालिका र परशुराम नगर कार्यपालिकाको कार्यालय रहेको कोष तथा लेखा नियन्त्रक कार्यालयले जनाएको छ।

चालु बजेटतर्फ जिल्लामा सबैभन्दा बढी साविकको जिल्ला विकास समितिको कार्यालयको बजेट फ्रिज गएको छ। हालको जिल्ला समन्वय समितिको ३३ दशमलव ६७ प्रतिशत बजेट फ्रिज गएको जनाइएको छ।

गत आर्थिक वर्षमा निर्वाचनका कार्यालय थपिएकाले बढी बजेट खर्च भएको कोष तथा लेखा नियन्त्रक कार्यालय डडेल्धुराका प्रमुख कोष नियन्त्रक जोशीले बताए। समयमै अख्तियारी नआउनु र असारमा बजेट आउनुले बढी बजेट फ्रिज गएको उनले बताएका छन्।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.