|

एजेन्सी : उनी पछिल्लो समय खुसी महसुस गर्न थालेको बताउँथे। युरोप टुरपछि विश्व टुर गर्ने उनको सांगीतिक समूह लिंकिन पार्कको योजना थियो। तर विश्वचर्चित गायक चेस्टर बेनिङटनले मृत्युको बाटो रोजे। ‘म अहिले निकै खुसी छु,’ पछिल्लो पटक उनले अन्तरवार्ताका क्रममा भनेका थिए। 

अहिले संगीत जगत उनको आत्महत्याको खबरले स्तब्ध छ। घरमै झुन्डिएको अवस्थामा उनको शव फेला परेको थियो। उत्तर अमेरिकी यात्रामा रहेको उनको ब्यान्ड लिंकिन पार्कले यात्रा स्थगित गरेको छ।

४१ वर्षका बेनिङ्टनले बिहीबार आफ्नो घरमा झुन्डेर आत्महत्या गरेपछि लिंकिन पार्कका सदस्य तथा शुभचिन्तकहरु स्तब्ध छन्। ‘स्तब्ध र हृदय विदारक। तर यो साँचो हो,’ लिंकिन पार्कका अर्का  लिड भोकलिस्ट माइक सिनोडाले बेनिङटनको मृत्युपछि ट्विटरमा लेखेका छन्। 

कुनै समय अल्कोहल तथा ड्रग्सका नियमित सेवनकर्ता बेनिङ्टन डिप्रेशनको शिकार थिए। उनले पछिल्ला ६ वर्षदेखि अल्कोहल सेवन नगरेको बताउँदै आएका थिए। तर बेनिङ्टन डिप्रेसनबाट पूर्ण रुपमा मुक्त भइसकेका भने थिएनन्। एकपटक उनले 'संसारप्रति आफूलाई घृणा' लाग्ने गरेको बताएका थिए।

ड्रग्सका अम्मली 

बेनिङटनको सफलता जति लोभलाग्दो छ। उनको निजी जीवन त्यति नै पीडादायक छ।  ११ वर्षको छँदै उनका बाबु–आमाले डिर्भोस गरेका थिए।

त्यसपछि बाल्यकालमा आफ्नै परिवारका सदस्यबाट यौन दुराचार सहनुपरेको समेत उनले बताएका थिए। बेनिङ्टन लामो समय मदिरा तथा ड्रग्सको कुलतमा फसे।

पछिल्लो समय भने उनी सुधारको बाटोमा थिए। गत मे महिनामा लिंकिन पार्कको पछिल्लो एल्बम ‘वान मोर लाइन’ को सफलतापछि निकै उत्साहित भएको प्रतिक्रिया उनले दिएका थिए।

बेनिङ्टनले ग्रन्ज ब्यान्ड ग्रे डेजमार्फत आफ्नो सांगीतिक यात्रा सुरु गरेका थिए। तर सन् १९९६ मा लिंकिन पार्कमा आबद्ध भएपछि उनी रक संगीतमा उदाए। यस ब्यान्डले सन् २००० को दशकमा हाइब्रिड थ्योरी, मेटेओराजस्ता दुई विश्वचर्चित एल्बम निकाल्यो।

त्यसयता यस ब्यान्डले विश्व संगीतको सबैभन्दा प्रतिष्ठित ग्रेमी अवार्ड २ पटक जित्यो। हाइब्रिड थ्योरी एल्बम ७ करोडभन्दा धेरैप्रति बिकेको थियो।
बेनिङ्टनका  नुम्ब, इन द इन्ड, न्यु डिभाइड लगायतका गीत निकै चर्चामा छन्।

गत मेमा बेनिङ्टनले अर्का गायक क्रिस कर्नेलको अन्त्यष्टिका दौरान सांगीतिक प्रस्तुति दिएका थिए। कोर्नेलले पनि बेनिङ्टनले झैं आत्महत्याको बाटो रोजेका थिए।

‘म विश्वमा तिमी नभएको कल्पना समेत गर्न सक्दिँन। प्रार्थना गर्छु तिमीले अर्को जीवनमा शान्ति पाउनेछौं। तिम्री श्रीमती, छोराछोरी, घरपरिवार र साथीभाइलाई मेरो माया छ,’ कर्नेलको आत्महत्यापछि बेनिङटनले लेखेका थिए। बेनिङ्टनले कोर्लेनका एक सन्तानलाई धर्मपुत्रका रुपमा समेत पालेका थिए। 

दुर्भाग्य, कोर्नेलका शुभचिन्तकलाई शोकका बेला हरेश नखान सुझाव दिने बेनिङ्टन आफै यो संसारमा रहेनन्। 

बेनिङ्टन र उनको स‌ांगीतिक समूह लिंकिन पार्क युरोप र अमेरिकामा जति चर्चित छ, त्योभन्दा धेरै दक्षिण–पूर्वी एसियामा चर्चित छ। यस ब्यान्डले  मलेसिया, सिंगापुर, फिलिपिन्स र इन्डोनेशियामा गरेका कन्सर्टहरूमा दर्शकहरूको उल्लेख्य सहभागिता थियो। आगामी नोभेम्बरमा जापानमा कन्सर्ट गर्ने यस ब्यान्डको योजना पनि बेनिङ्टनको आत्महत्यासँगै अधुरो रहने भएको छ। 

दुईपटक विवाह गरेका बेनिङटनका ६ छोराछोरी छन्। उनी संगीतसँगै समाजिक कार्यमा समेत सहभागी थिए। लिंकिन पार्कले यसअघि नेपालको चितवन जिल्लामा सहयोग गर्नका लागि अमेरिकाको लस एन्जलसमा कन्सर्ट आयोजना गरेको थियो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.