|
फाइल फोटोः hamrokatha.com

काठमाडौं : नेपाली कांग्रेसका नेता चक्रप्रसाद बास्तोलाको स्वास्थ्यमा सुधार आएको छ। छातीमा समस्या देखिएपछि गत बिहीबार परिवारले उनलाई बाँसबारीस्थित न्यूरो अस्पतालमा उपचारका लागि भर्ना गरेका थिए।

उपचारमा संलग्न चिकित्सक न्यूरोसर्जन डा. प्रत्युष श्रेष्ठले उनलाई अस्पताल आएको दुई दिनपछि स्वास्थ्यमा गम्भीर समस्या देखिएकाले सघन कक्षमा भेन्टिलेटरमा राखी उपचार गरिएको जानकारी दिए।

शनिबार उनको छातीको एक्सरे, रगतमा अक्सिजन, कार्बनडाइक्साइडको मात्रा राम्रो आएको भएपनि अझै केही दिन उनलाई सघन कक्ष (आइसीयु) मा नै राखी निगारानी गर्नुपर्ने अस्पतालले जनाएको छ। 

विराटनगरमा भएको एक कार्यक्रममा सहभागी भइरहँदा २०६९ साल पुस १४ गते मस्तिष्कघात भएपछि नेता बास्तोला अहिलेसम्म अचेत अवस्थामा छन्।

उनकी श्रीमती कुसुम बास्तोलाले यसअघि गत चैतमा समस्या भएर अस्पताल ल्याई १५ दिन राखी उपचार गरी घर लगिएको बताए। उनलाई सबै खाना पाइपबाटै खुवाउनुपर्छ। सबै खालका लिक्युइड (तरल) बनाएर मात्र खुवाउने गरिएको छ। अहिलेकै अवस्थामा सुधार आइरहेमा सघन कक्षबाट वार्डमा राखी उपचार गर्न सकिने भए पनि प्रत्येक दिन चूनौतिपूर्ण भएकाले अहिले नै केही भन्न हतार हुने डा. श्रेष्ठले बताए।

उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिन शनिबार बिहान नेपाली कांग्रेसका महामन्त्री डा. शशाङ्क कोइराला पनि अस्पताल पुगेको उनका निजी सहयोगी राधाकृष्ण काफ्ले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.