|

काठमाडौं : चुनावी समिक्षा र भावी रणनीति बनाउन सोमबारबाट बसेको माओवादी केन्द्र सचिवालयको बिस्तारित बैठक शनिबार टुंगिएको छ। बैठक समापनको दिन अध्यक्ष प्रचण्डले १२ बुँदामा आफ्ना लिखित निर्णय प्रस्तुत गरेका छन्।

बैठकमा अध्यक्ष प्रचण्डले जनताले माओवादीलाई छोडेको नभइ माओवादी पार्टीले नै जनतालाई छोडेको बताए। चुनावमा अन्तर्घात गर्ने र पैसा खाएर पार्टीका उम्मेदवारलाई हराउन भूमिका खेल्नेलाई कारबाही गरिने उनले बताए। प्रचण्डले ६ वटै प्रदेशमा ३ सदस्यीय कार्यदल बनाएर अन्तर्घातको छानबिन गरिने बताए।

उनले पार्टीमा दुई अतिवादी सोच हाबी भएको बताए। एकथरीले संसदवाद नै सबैथोक हो भनेर रमाइरहेको र अर्काथरी संसद्, निर्वाचन, संविधान लगायतका उपलब्धिलाई उपलब्धि नै मान्न तयार नभएको अवस्था पार्टीका लागि चुनौतीपूर्ण रहेको उनले बताए। उनले जनयुद्धको जगमा प्राप्त उपलब्धिहरुको रक्षा गर्दै अगाडि बढ्नुपर्ने बताए। 

अहिलेको प्रमुख समस्या अराजकतावाद भएकाले राजनैतिक वैचारिक रुपमा अष्पष्टता र संगठनात्मक रुपमा अस्तव्यस्तता हावी भएको स्वीकार गरे। यस्तो अवस्थामा स्थानीय तह निर्वाचनबाट ठूलो खालको परिणामको आशा गर्नु नै मनोगतवाद भएको प्रचण्डको भनाइ छ। उनले जनयुद्ध र जनआन्दोलनको बलमा प्राप्त उपलब्धी कुनै पनि बेला खोसिन सक्ने भएकोले चनाखो रहन पार्टी नेता र कार्यकर्तालाई निर्देशन दिए।

यस्ता भए निर्णय

पार्टी छोडेर गएका मोहन वैद्य, विप्लव र अन्य माओवादी घटकसँग एकताको ढोका खुला राख्ने, बाबुराम भट्टराईलाई पार्टीमा फर्किनको लागि वातावरण बनाउने, प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रप्रमुखको विषयलाई लिएर संसददेखि सबैतिर सहमति जुटाउन पहल गर्ने, स्थानीय तह निर्वाचनमा निर्वाचित जनप्रतिनिधि र हारेका उम्मेदवारहरुलाई फरक-फरक मितिमा प्रशिक्षण कार्यक्रम आयोजना गर्ने लगायतका निर्णय बैठकले गरेको छ।

बैठकमा असाध्यै आलोचना भएको र मजाकको विषय समेत बनेको भारीभरकम संगठनलाई चुस्त दुरुस्त गराउनका लागि दुइ अंकको महाधिवेशन आयोजक समिती गठन गर्ने प्रस्ताव प्रचण्डले निर्णयार्थ बैठकमा राखेका छन्। यो प्रस्ताव प्रदेश कमिटीका बैठकबाट अनुमोदन गराएपछि मात्र लागु हुने बैठकमा सहभागी एक जिल्ला इन्चार्जले बताए।

बैठकले नारायणकाजी श्रेष्ठको नेतृत्वमा प्रदेश इन्चार्जहरु र थप केही सदस्य रहने गरी घोषणापत्र तयारी समिती र रामबहादुर थापा बादलको नेतृत्वमा सबै प्रदेशका इन्चार्ज, संयोजकहरु र अरु केही सदस्य पछि थप्ने गरी उम्मेदवार सिफारिस समिती गठन गरेको छ।
संगठन चुस्तदुरुस्त र व्यवस्थित गर्ने,भेला बैठक, प्रशिक्षण र स्कुलिङहरु चलाउने तथा संगठन निर्माण र परिचालनमा जोड दिने लगायतका निर्णयहरु बैठकले गरेको प्रवक्ता पम्फा भुसालले जानकारी दिइन्।

सचिवालय बैठकबाट पार्टी बन्ने दिशामा गएको अनुभुति भएको भन्दै सहभागी नेता कार्यकर्ताले खुशी व्यक्त गरेका छन्। थाहाखबरसँग कुरा गर्दै नेता रमेश मल्लले भने,'‘लामो समयदेखि भद्रगोल अवस्थामा रहेको पार्टी अव जनतातिर फर्किने भएको छ। ट्रयाक बाहिर जाने अवस्थामा पुगेको पार्टीले अब सही ट्रयाक समातेको छ।’

औपचारिक रुपमा बैठकका निर्णय सार्वजनिक गर्नका लागि माओवादी केन्द्रले आइतवार दिउँसो २ बजे पेरिसडाँडामा पत्रकार सम्मेलन आयोजना गर्दैछ। पत्रकार सम्मेलनलाई अध्यक्ष प्रचण्डले सम्बोधन गर्नेछन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

कमेन्ट

  • आदरणिय सम्पुर्ण कम्रेड हरूमा लाल सलाम, मेरो बिचार यो छकि माओबादि पार्टी पछाडि पर्नु को कारण ये छकि सात दलिय सहमतिमा बाह्रबुदे सहमति र सान्ति सम्झौता गलत थियो त्यसपछि पार्टि भित्र गुटबीद र फुटबाद अराजकताबाद अहमताबाद ले गर्दा पार्टि बिग्रन गयको छ l